सीमामा भारतीय तस्कर मारिएपछि दुई देशका उच्च अधिकारीबीच छलफल

धनगढी- कञ्चनपुरको सीमा क्षेत्र बेलौरी नगरपालिका ७ टेडियामा विहीवार प्रहरी र भारतीय तस्करबीच भएको भिडन्तमा एक भारतीय तस्करको घटना स्थलमै मृत्यु भएको विषय लिएर शुक्रवार दुइ देशका उच्च अधिकारीबीच छलफल भएको छ।

भारतीय पक्षबाट आएका उच्च सुरक्षा अधिकारी र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीबीच बेलौरीको सीमा क्षेत्रममा अनौपचारीक छलफल भएको हो।

छलफलमा नेपालका तर्फबाट कञ्चनपुर प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदी, कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख विरेन्द्र ऐर, र भारतीय पक्षबाट पिलिभित जिल्ला प्रहरी प्रमुख जय प्रकाश, प्रहरी महानिरीक्षक अभिनास चन्द, डीएम पुलकित खरे लगायतका उच्च पदाधिकारी रहेका थिए।

उक्त घटनाको सन्दर्भमा सामूहिक समीक्षा गर्दै सीमा क्षेत्रमा यस्ता घटना नदोहोरिन नदिन दुबै देशका तर्फबाट सीमा सुरक्षा र सतर्कता बढाउने सहमति भएको जनाईएको छ।

खुला सिमानामा हुने गैरकानुनी कार्यको दुवै देशका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रबाट निगरानी गर्दै लुकिछिपी गैरकानूनी कार्य गर्ने जो सुकैलाई पनि कानूनी दायरामा ल्याउने छलफल गरिएको कञ्चनपुर प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए।

बिहीबार साँझ बेलौरी नगरपालिका-७ टेडियामा भारतीय तस्कर र प्रहरीबीच दोहोरो गोली हानाहानमा भारतको पिलिभित जिल्ला थाना हजारा ४ बुदान बस्ने २६ बर्षीय तस्कर गोविन्द सिंहको घटना स्थलमै मृत्यु भएको थियो।

जवाफी कारवाहीमा परि मृत्यु भएका सिंहलाई शुक्रबार आफन्तको जिम्मा लगाउदै पोष्ट मार्टमका लागि सेती अस्पताल धनगढी पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ। अर्का एक फरार घाइते तस्करको भारतको लखनउमा उपचार भइरहेको छ।

घटना स्थलबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिन एक थान, त्यसमा प्रयोग हुने कागज, कटर, सलाई, सेलोटेप, रुलर, पाउडर र ठूलो मात्रामा लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पद्धार्थ फेला पारेको थियो।

फाल्गुन २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्