छाडेर काम सारा एक काम रोजिरहेछु…

‘ठ्याक्कै थाहा छैन यो गीत मैले कहिले लेखेँ’, उनले झोलाबाट आइप्याड निकाले र मधुरो धुन बजाएर काखमा राखे । नाकको डाँडीमा अडिएको चस्मा मिलाए । कोल्टे परेको ढाका टोपी र गलबन्दी पनि।

‘तिथि–मिति खासै याद हुँदैन । शायद दश वर्षजति भयो होला।’

‘छाडेर काम सारा एक काम रोजिरहेछु
यो देशमा म एउटा मानिस खोजिरहेछु ।
भेटे कहीँ बताए, हे राष्ट्रका बटोही
रक्षार्थ जन्मिएका छन् कि सपूत कोही ।’

‘कहाँ भेट्नु ?’ मुस्कुराउँदै उनले भने, ‘मैले खोजेको जस्तो मान्छे ।’ यो उनको मात्र खोजी होइन शायद धेरै नेपालीको हो, जो राजनीतिदेखि दिक्क छन् ।

१९ को २० भयो होला, तर विश्वनाथ बरालले दश वर्षअघि यो गीत लेख्दाको देशको अवस्था र अहिलेको अवस्था उस्तै छ । परिवर्तनको नाममा एक थान संविधान छ ।

‘यो देशले गतिलो मान्छे कहिल्यै पाउने भएन’, हरेक चोक र चिया पसलमा राजनीति बुझेका वा नबुझेकाहरुले बोल्छन् यो लाइन ।

धेरै पटक सत्ता परिवर्तन भए । ‘म यो गर्छु’ भन्दै धेरै प्रधानमन्त्री भए । तर हात लाग्यो शून्य। बराल भन्छन्, ‘यहाँको नेतृत्व र सत्ताप्रति मेरो तीव्र असन्तुष्टि थियो । यहाँ त मान्छे नखोजी नहुने भयो । खोज्ने सुरुवातको रुपमा मैले यो गीत लेखेँ ।’

सिंहदरबारको सरकारी जागिर । कामको सिलसिलामा बाहिर हिँडिरहनु पर्थ्यो । देशको अवस्था उनले नजिकबाट नियाले । आध्यात्ममा रुचि राख्ने उनले शब्दमा ती कुरा उतारे । कस्तो व्यक्ति देशलाई चाहिएको छ उनले गीत मार्फत बताए । हरेक नेपालीलाई खोज्न सुझाए ।

देशको रक्षाका लागि जन्मिएका सपूत कोही छन् कि ? बटुवालाई सोधे–भेटिए भने भनिदिनू। यो मुर्छित मातृभूमिका लागि विष पिउने वीर उनले खोजे । त्यस्ताको लागि मार्ग कोर्ने प्रयास गरे । शक्ति र सत्तामा पुगेर कुकर्म नगर्ने इमानदार मान्छे उनले खोजे । आशा र उन्नतिको दृष्टि दिन सक्ने मान्छेको आश उनले गरे ।

आमा अर्थात देश नै नरहे हामीले कस्को माया पाउने, कस्को काखमा खेल्ने उनले चिन्ता व्यक्त गरे । यो देश नै नरहे हामी कहाँ जाने ? उनले नेतृत्वलाई प्रश्न गरे । उनी आशावादी छन्। भन्छन्- ‘फुटेर होइन साथै जाने कुनै बाटो त होला ?

सिन्धुलीमा जन्मिएका बराल चालिस सालतिर काठमाडौँ बसाईँ सरे । भन्छन्, ‘सानैदेखि मलाई अध्यात्ममा रुचि थियो । देश प्रेमी पनि थिएँ ।’ उनका सबै गीत राष्ट्रभक्तिका छन् ।

उनी इतिहास सम्झन्छन्, ‘यो देशले बुद्ध तयार गर्न सकेन, यो देशले बहादुर शाह, अमरसिंह जस्ता व्यक्ति तयार गर्न सकेन ।’

‘हामी सबैको गल्ती छ’, निरास मनमा नाक खुम्चाएर उनले भने, ‘हामी चिन्ता गर्छौँ तर चिन्तन गर्दैनौँ । हामीले गलत गरिरहेका छौँ भन्ने मनन् गर्दैनौँ ।’

घुमिफिरी असन्तुष्टि नेतृत्वमाथि नै आउँछ । उनको एउटा पंक्ति छः

नेता दुष्ट भए सारै जनतालाई रुवाउँछ
असक्षम भ्रष्ट नेताले देशैलाई डुबाउँछ ।

मुखमा हालेको ल्वाङ चपाउँदै उनले भने, ‘डुबाइरहेका छन् । भएको नै त्यही हो । जनता त सुखी छैनन् । जनता सन्तुष्ट छैनन् । हामी सबै आशा त गर्छौँ तर जो पनि उस्तै निस्कन्छन् । जनताका लागि होइन आफू र आफ्नाका लागि मात्र गर्ने नेतृत्वमा पुग्छन् ।

त्यसैले उनी भन्छन्,

हाम्रा व्यबस्था र दृष्टी सुधारौँ, यो राष्ट्रलाई सु–समृद्ध पारौँ
नैराश्यका भाव छाडी विषादी, अनेकौँ असम्वाद छाडी विषादी
बनौँ है सब एक नेपालवादी, विवेक सम्पन्न नेपालवादी ।

उनी चोर औला ठड्याउँदै भन्छन्, ‘सबै नीतिमा प्रमुख राजनीति रहेछ । यो देशलाई कता लाने ? कस्तो बनाउने ? राजनीति वा नेतृत्वलाई नै यो प्रश्न गरेको हो ।’

एकछिन रोकिँदै उनले भने, ‘जब नेतृत्व ठीक हुन्छ, राजनीति ठीक हुन्छ तब सबै कुरा बेस हुन्छ ।’

चिन्तित हुँदै उनले भने ‘अहिलेको राजनीतिक लडाईँ जनताका लागि होइन । कुर्सी र सुविधा प्राप्तिका लागि हो । आफ्ना मान्छे पोस्नका लागि हो ।’

बोल्दै गरेका उनी रोकिए । ‘मेरो यो जीवनकालमा त यो देश भनेको जस्तो होला जस्तो छैन । मैले गीतमा भनेको जस्तो मान्छे पाइएला जस्तो छैन । आशा गर्न सक्ने अवस्था पनि छैन ।’

उनी आफैसँग प्रश्न गर्छन् ‘यो देशमा कहिले त्यस्तो मान्छे तयार गरिसक्नु? कहिले उसले यो देश हाँक्नु र हामीले खाजेको जस्तो देश बनाउनु?’

भिडियो हेर्नुहोस्:

फाल्गुन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्