हुम्लाको सर्केगार्ड गाउँपालिकाकी वडा सदस्यको निधन

सिमकोट– सर्केगार्ड गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य पुनी सार्कीको निधन भएको छ। शनिबार बिहान २ वजे वडा सदस्य सार्कीको आफ्नै निवास निधन भएको हो।

लामो समयदेखि दम तथा जिउ सुनिने समस्याबाट पीडित वडा सदस्य सार्कीको घरमै उपचार गर्ने क्रममा मृत्यु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रुद्र शाहीले जानकारी दिए। ५८ वर्षको उमेरमा उनको निधन भएको हो।

आर्थिक अवस्था न्यून भएका कारण उनी थप उपचारका लागि जिल्ला अस्पताल तथा बाहिर जान सकेकी थिइनन्। उनको हिन्दु परम्परा अनुसार आजै अन्तिम संस्कार गरिएको छ।

सार्की २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसको टिकटबाट विजयी भएकी थिइन्। उनी दलित महिला कोटाबाट वडा सदस्यमा निर्वाचित भएकी थिइन्।

फाल्गुन २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्