बटौलीको दुई शताब्दी पुरानो घरमा चियावाला

बुटवल – पूरानो बुटवलको उत्तरी भाग। निमचोकको रातो र सेतो रंग लगाएको घरले ध्यान तान्छ। पूरानो शैलीको यो घरको चमकधमक अर्कै छ।

यो पूरानो हैन, धेरै पूरानो घर हो। करीब २ सय वर्ष पूरानो। यो घर मणिराज मास्के परिवारको हो।

फौज्दार मणिराज मास्के सन् १८७१ मा नेपाल र अंग्रेज युद्धताका सहयोग गर्नेमध्येका एकजना हुन्। मणिराजले पूरानो बुटवलमा सेनालाई रासनपानीको व्यवस्था गर्न यो घर बनाएका थिए।

त्यही घरबाट रासनपानी जीतगढी किल्ला र त्यसआसपासका सेनालाई पुर्‍याइन्थ्यो। २ सय वर्षअघि बनेको त्यो घर पूर्वी बुटवलमा मास्के परिवार सरेपछि अलपत्रजस्तै थियो। ६२ वर्षअघि घरको पुनर्निर्माण भयो। पुनर्निर्माण भएपनि घर अलपत्रजस्तै भयो।

अलपत्र परेको घर फिल्मी दुनियाँको रंगमा खेल्ने जाँगरिला र फुर्तिला निर्देशक गणेशदेव पाण्डेको नजरमा पर्‍यो। यी फुर्तिला निर्देशकले काठमाडौँको बागमती करिडोरमा चियावाला नामको क्याफे खोलेर चियासँगको आफ्नो पारिवारिक बिरासतलाई निरन्तरता दिएका थिए। बुटवलमा पनि मणिराजका छोरा सञ्जीव र गणेशको कुरा मिल्यो। सञ्जीवले गणेशलाई घर भाडामा दिए।

अनि सुनसान बनेको बटौलीमा अलपत्रजस्तै बनेको घर र चियासंस्कृति चम्काउन बटौलीमै जन्मेहुर्केका फिल्मकर्मी पाण्डेले ‘चियावाला’ नामको क्याफे खोले। योसँगै काठमाडौंमा चर्चा कमाइसकेको ‘चियावाला’ बटौलीका कथा सम्झाउन बुटवल आइपुगेको छ।

गणेशको चिया बिरासत


गणेशका बाबु घनश्याम बुटवल अमरपथमा चिया पसल गर्थे। त्यसअघि घनश्यामका बाबु यज्ञप्रसादले स्याङ्जाको कारिकोटमा चिया पसल चलाएका थिए। कारिकोटमा यज्ञप्रसादले पकाउने चिया चर्चित थियो। त्यसको लिगेशी घनश्यामले बुटवल ल्याए। बुटवल अमरपथमा काठको ट्याङ्कीमा उनले चियापसल चलाए। बाबुले चलाएको चियापसलसँगै हुर्केका हुन् गणेश।

बुटवलकै कान्ति स्कुल पढेका उनी पढाइमा खासै जाँगर गर्दैनथे। पढाइभन्दा अरुअरु काममा चासो थियो। नयाँ काम गर्न चाहन्थे। नयाँ नयाँसिर्जनाको भोक थियो। तरपनि सिटीइभिटीबाट फुड एण्ड बेभरेजमा डिप्लोमा गरे।

त्यसपछि पनि नयाँ गर्ने भोक मरेको थिएन। त्यही भोकले उनलाई फिल्मी दुनियाँमा तानेर लग्यो। अनि भारतमा फिल्म सिक्न गए।

फिल्मी दुनियाँको सपनाले तानेर विदेश पुगेका गणेश फिल्म बनाउने सीपसँगै जीवनजगत बुझ्ने, बुझाउने, जीवनका रंगहरु बुझेर ५ वर्षपछि स्वदेश फर्किए। अरु धेरै उत्साह, उमंगका कोपिला बोकेर आए। कति फक्रिए, कति फक्रिएन्, कति फक्रिदैछन् होला।

‘भारतबाट फर्केर आउँदा म केही गर्छु भन्ने शक्ति बोकेर फर्किएको थिएँ, उनी भन्छन्-त्यो फिल्ममा उपयोग गरेँ, अरु धेरै कुरा जीवनमा लागू गरेँ।’

गणेशले ‘मालतीको भट्टी’, ‘मञ्जरी’ र ‘गाजाँबाजा’ फिल्म बनाए। उनी फिल्म करिअरसँगै अरु पनि केही गर्न चाहन्थे। उनको सिर्जनाको हुटहुटीले अब के गर्ने भनेर खोजी गरिरहेको थियो। यही खोजका क्रममा उनले पुन:स्मरण गरे आफ्नै हजुरबुवा र बुवाको चियापसलका पलपलका कहानी। हजुरबुवा अन्जानैमा चिया पसल चलाए, बाबुले बाध्यतावश चिया पसल खोले।

उनको मानसपटलमा बाबुको बाध्यता र चिया गहिरो छाप बनेर बसेको थियो। उनी यसमा कहिले हिनताबोध गरे त कहिले बाध्यता सम्झिए। जे होस्, गणेशको दिमागको कतै कुनामा त्यससमयको हिनताबोध र बाध्यताका कथा बाल्यकालदेखि युवावयसम्मै सबैभन्दा धेरै प्रश्न गरिरहने घटनाका रुपमा बसेका थिए।

बुझ्दै गएपछि उनी यसलाई चिर्न चाहन्थे। त्यसबेलाको हिनताबोधलाई पखाल्न चाहन्थे र जीवनको त्यस पललाई अँगाल्न चाहन्थे। त्यसका लागि उनले परिवारमा छलफल गरे, सल्लाह लिए।

अनि त्यहीँबाट अघि बढ्यो चियापसलको अधुरो यात्रा बाँकी गन्तव्यतिर।

बाबुबाजेको बिरासतलाई थाम्न किशोरवयमा अनकनाउने गणेशदेव युवावयमा गम्लङ्ङ अँगालो हालेर अघि बढे र काठमाडौँमा खोले ‘चियावाला’।

बाबुले बुटवलमा चियापसल गर्दा झर्को मान्ने गणेशले ४ दशकपछि चियालाई ब्राण्ड बनाएर ‘मुख्य पेशा’कै रुपमा अँगाल्दै बुटवलमै आइपुगेका छन्।

गणेश पूरानो बुटवलको निमचोकमा चिया पकाएर सेल्फ सर्भिसका लागि आह्वान गर्दै घण्ट बजाएपछि गफिए-‘म त त्यसबेला भाग्थेँ। मलाई अलि शान, मान पाइनेवाला काम गर्न चाहन्थेँ, जसले मेरो छुट्टै पहिचान दिनसकोस्।’

अब भने गणेशदेव चियावालाको परिचयमा गर्व गर्ने, खुशीले फुरुङ्ग पर्ने भइसकेका छन्।

के चीजले त्यस्तो बनायो उनलाई ? उनमा केही न केही नयाँ काम गर्ने हुटहुटी चलिरहन्छ। त्यही हुटहुटीको उपज हो चियावाला।

‘मैले चियापसलमा चिया बेच्नुलाई जुन हिसाबले सोचेको थिएँ त्यो कुरालाई खण्डन गर्न र मेरो बुझाइ सच्याउन मैले हजुरबुवा र बुवाहरुले गरेकै कामलाई अँगालेँ, उनी ३ महिनाअघि खुलेको चियावालामा फिल्मी पोष्टरअगाडि बसेर गफिन्छन्-म जीवनमा जे खोजिरहेको थिएँ, त्यो चीजको खोजी एकचरण सकियो, म आफुलाई बुझेँ, जीवन बुझेँ, अनि चियापसल चलाउँछु भनेर अघि बढेँ।’

बुटवलको अमरपथबाट उनी अहिले पूरानो बुटवलको चियापसलमा मात्रै सरेका हुन् जस्तो उनले अनुभूति गरिरहेका छन्। त्यसैले उनले ‘चियावाला’लाई सन् १९५६ देखि भन्छन्। जुन चिया व्यवसायमा हजुरबुवा यज्ञप्रसादबाट उनका बाबुले थामेको अधुरो यात्राको निरन्तरता हो।

चियाको ब्राण्डिङ


उनलाई लाग्दथ्यो र लाग्दछ पनि-चियाले मान्छेको साथ कुनै पनि बेला छाडेको हुँदैन। मान्छे जहाँ गयो चियाको तलतल् पछिपछि गयो।

बिहान उठ्नेबित्तिकै-चिया, साथीभाई भेट्नेबित्तिकै-चिया, फुर्सद भयो कि-चिया, खुशी भयो चिया, चिन्ता भयो त्यही चिया। यही चियालाई उनले ब्राण्डिङ गरे अनेक नाम दिएर।

चियापसलमा चिया पिउन चियाका पारखीहरु त आइहाल्छन् नि, यति धेरै ब्राण्डिङ?

चिया सर्भ गर्ने ट्रे देखि लिएर बस्ने, गफिने, चियाको चुस्की लिने ठाउँमा उनले चियाको भरपूर ब्राण्डिङ गरेका छन्। भित्ताभित्तामा चियाको ब्राण्डिङ छ।

मेरो खुसी चिया।

सेल्फ सर्भिस, पे फर्स्ट।

भित्तामा चियाको गिलासबाट बाफ उडेर कतै आकाशतिर जान खोज्दैछ।

माथितिर पूरानो पाराको कित्ली झुण्डिरहेको छ।

चियाको ब्राण्डिङबारे गणेश आफ्नो चिया सपनासँगै चियाको चिनी कम रंग कडा शैलीका कथाहरु सुनाउँछन्-‘म फिल्मी दुनियाँको मान्छे, म हरेक चिजलाई फ्रेममा राखेर हेर्छु, त्यसको प्याटर्न, एम्बियन्ट देख्छु, अनि त्यसमा रमाउँछु, मैले चियापसलमा त्यसलाई नै मिसाएर ल्याएँ।’

आफै चिया पकाउन कस्सिने गणेशलाई चिया पकाउँदै गर्दा लाग्छ-उनी केही चीजको सिर्जना गरिरहेछन्, उत्साहित मुद्रामा भन्छन्-‘म चिया पकाउँदा सोच्दछु समथिङ क्रियटिङ, यसको रंग हेर्छु, कस्तो राम्रो सिर्जना भन्ने लाग्छ, अनि यसमै रमाउँछु।’

फिल्मीदृष्टिमा सोँच्ने र सपना बुन्ने गणेश चियालाई फिल्मीशैलीमै सिर्जनात्मक अर्थसहितका नाम दिएका छन्।

उनको सबैभन्दा प्रियहरुको सूचीमा पहिलो नम्बरमा रहेका व्यक्ति र चियाका गुरु आफ्नै बाबु हुन्। बाबुकै नाम सम्झेर पिउन पाइन्छ-‘घनश्याम चिया’।

अरु धेरै चिया छन् मेन्युमा-‘मिल्क’, ‘ब्ल्याक’ र ‘स्पेसल’ चिया।

मेरो खुशी चिया, रोयल चिया, आइस चियाजस्ता ४० रुपैयाँदेखि ८०० रुपैयाँसम्मका चिया चियावालामा पिउन पाइन्छ। रोयल चियामा काजु, बदाम, ड्राइ एप्पल लगायत मसला हालेर स्वादिलो बनाइन्छ।

एउटा चियाको नाम ‘मदर टी (विथ लभ)’ छ। उनले इलामका चिया उत्पादक आमा समूहलाई सम्मानस्वरुप यो नाम दिएका हुन्। सँगसँगै ग्रिन टी, गोल्डन टिप्स, तुल्सी, रोज लगायत चिया ‘चियावाला’ मा उपलब्ध छन्।

अर्को रोचक कुरा छ, यहाँ पाउने म्याजिक ब्रेड। स्कुलकलेज पढ्दा धेरैलाई मन नपर्नेमध्येको खाजा हुनसक्छ पाउरोटी। गणेश र उनको परिवारमा पनि यस्तै मन नपर्ने खाजाको सूचीमा थियो पाउरोटी।

त्यही पाउरोटीलाई गणेशकी आमाले मनपर्ने गरी ‘जादु’ गरिदिइन्। नामै रह्यो-म्याजिक ब्रेड। यो म्याजिक ब्रेड अहिले गणेशले चियासँगै सुझाउँछन्।

चियावालामा वुमन इम्पावर


चियावाला गणेशको सपना हो। उनको यो सपनाका सर्जक गणेश हुन् भने मुख्य पात्र महिला हुन्। उनले चियावालाको मुख्य पात्रको भूमिकामा महिलालाई उभ्याएर चियावालालाई सफलतातर्फ अघि बढाउन चाहन्छन्। काठमाडौँको चियावालाको मुख्य भूमिकामा गणेशकै श्रीमती देवकी पाण्डे छिन् भने बुटवलमा आश्मा।

‘म चियावाला सपनाको सर्जक मात्रै हुँ, यसको अरु सबै काम गर्ने र अघि बढाउने त नारी शक्तिले हो, उनी चिया किचनमा चिया पकाउन मस्त रहेकी आश्मालाई देखाउँदै भन्छन्-यसरी महिलालाई इम्पावर गर्ने हो, वुमन इम्पावर गरेर मात्रै हामी विकासको पाइला चाल्न सक्छौँ।’

उनी अर्थराजनीतिक कुरामा फोकस हुनुअघि क्यामेराको एंगल फिल्मी दुनियाँतिर फर्कियो, ‘म फिल्मी दुनियाँमा पनि छु, मेरो एउटा संसार त्यता पनि छ, मेरो काम मेरो व्यवसायको व्यवस्थापन गरेर बस्ने हैन, त्यसमा मेरो रुचि पनि छैन, म त्यो गर्न पनि सक्दिन, म सिर्जना गर्न रुचाउँछु।’

उनलाई सिर्जना गर्न उक्साउनेहरु धेरै छन्। कहिले फिल्म त कहिले चियावाला। चियावालाको हिन्दी फ्रेन्चाइज भारतको नोयडामा खोल्न उनीमाथि शुभेच्छुकको दबाब छ।

पृथ्वीनारायण शाहको गाउँ गोरखामा चियावालाको अर्को फ्रेन्चाइजको अफर छ। यी अफरहरु पेन्डिङमा राखेर मणिमुकुन्दसेनको भग्नावशेष दरबारभन्दा केही सय मिटर परको चियावालामा चिया सिर्जना गर्न व्यस्त छन् उनी। र, अरु केही व्यस्त रहन चाहन्छन् आफु हुर्केबढेको नगरीमा।

‘म केहीबेर बुटवलमा रम्न चाहन्छु, मेरा सखीसाथीहरुसँगका यादहरु ताजा गर्न चाहन्छु’-उनी पूराना ब्ल्याक एण्ड ह्वाइट यादहरु जीवनको रंगीन पर्दामा उतार्न खोज्दै गरेको देखिन्छन्, ‘म जोसँग यही ठाउँमा हुर्केँ, पढेँ, खेलेँ, केही सिकेँ, रमाइलो-नरमाइलो गरेँ, ती यादहरु ताजा गर्न चाहन्छु, जतिबेला म मेरा गुरुहरु, मेरा अग्रजहरुलाई नमस्ते भन्दै स्कुल जान्थेँ र त्यसरी नै फर्किन्थेँ।’

बटौलीसँगको साइनो


बटौलीको कथा लामो छ। बटौली-व्यापारले चिनियो। व्यापार फस्टाउँदै गएपछि बजार बन्यो। विस्तारित भएर बुटवल बन्यो। व्यापारकै कारण स्थापित भएको बुटवलले पूर्वपश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गको संगमस्थल बन्ने मौका पायो र गुलजार बन्न सक्यो।

यो थलो गुलजार बन्नुअघि नुनतेल र घिउचामलको व्यापारले धानेको थियो। भारत पसेका लाहुरे फर्केर पहाड चढ्ने गौडो पनि हो बुटवल।

यही गौडो विस्तारित हुँदै राजमार्ग बन्यो। ढाक्रेका सट्टामा घोडागाडी चले। गोरेटाघोडेटा चौडा भए,-राजमार्ग बने।

राजमार्ग बन्नुअघिको बजार हो बटौली। बजार तिनाउ पारी सरेर सुनसान बनेको यो ठाउँमा चमक थप्न बुटवल उपमहानगरले रात्रीकालीन बजार, संग्रहालय बनाउने योजना ल्याएको थियो। त्यो योजना कतै टेबुलमा वारी र पारी गर्दैछहोला। यही बटौलीसँग नेपाल अंग्रेज युद्धको साइनो छ। नेपालले अंग्रेजलाई हराएको जीतगढी किल्लाको उत्तर भेग हो बटौली।

उत्तरभेगको चोकमा चियावाला खोलेका गणेशलाई बुटवलसँग अनौठो प्रेम छ। जहाँ उनले स्कुले जीवनदेखि१६/१७ वर्षे जवानीमा सांस्कृतिक कार्यक्रम गरे। रेडियोमा काम गरे। अरु अनेक असफल-सफल काम गरे। त्यही साइनो बोकेर उनी आफ्ना बाबुले अधुरो छाडेको यात्रा पूरा गर्न आएका छन्।

‘मेरो बुवाको चियापसलदेखि मेरो लुगा सिलाउनेदाइ, मेरो जुत्ता किन्ने ठाउँ, मेरा गुरुहरु, यहाँका व्यापारीहरु र मेरा सबैभन्दा प्यारा आफन्तहरुसँगका त्यसबेलाका सम्झनाहरु ताजा गर्नुछ मलाई’, उनीकेही भावुक देखिन्छन्, ‘म बुटवलबासीमा छुट्टै चमक देख्छु, खुशी देख्छु, त्यसमा एउटा सम्मान र विश्वास प्रतिबिम्बित भएर आउँछ, यसैले मलाई डोर्‍याएर बुटवल ल्यायो।’

उनले जतिबेला बुटवलमा चियावाला खोल्ने सोच्दैथिए, त्यसबेला बुटवलले यतिधेरै माया गर्ला भन्ने अपेक्षा नगरेको बताउँछन्। अपेक्षाभन्दा धेरै माया बुटवलबाट पाएपछि उनी उत्साहित र रोमाञ्चित छन्, भन्छन्, ‘यो माया यो साथको छुट्टै मजा छ, मलाई एकदमै रोमाञ्चित बनाएको छ।’

यही रोमाञ्चकारी मुडमा उनी पूरानो बुटवललाई पनि उर्जा थप्न चाहन्छन्। ‘जुन घरमा मैले चियावाला खोलेँ, यो घर धेरैअघि देखि मेरो नजरमा थियो, यो घरको बनावट, शैली र पूरानो बान्की देखेर लोभ लागेको थियो, उनी अरु रोमाञ्चित र उत्साहित हुन्छन्-जब यहाँ मैले चियावाला खोलेँ, प्रचारै नगरी जसरी चिया पिउन यहाँका बासिन्दा र बुटवलबासी आउनुभयो त्यो देखेर यहाँ केही त गर्नैपर्छ भन्ने लाग्यो, योसँगै यो पूरानो बुटवललाई उर्जा थप्न होमस्टे, पूरानो शैलीका रेष्टुरेण्ट, खाजाघरहरु पनि चल्न सक्छन् भन्ने सम्भावना देखेको छु।’

पहिले ढाक्रेहरु आएर भारी बिसाउने चौतारीका आसपासमा त्यो पूरानो व्यापारिक माहोल बनोस् भन्ने उनको चाहना छ।

‘जसरी यहाँ ढाक्रेहरु पहाडबाट आएर सामान साटेर जान्थे त्यस्तै त अहिले नबन्ला तर एकखालको पूरानो शैलीको बजार बन्नुपर्छ यो ठाउँमा’, ‘उनले आफ्ना कुरा सकाएर ग्राहकका अर्डर लिन थाले।

फाल्गुन २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्