राजकुमार ह्यारी–मेगन अन्तर्वार्ता

बेलायती राजपरिवारका सदस्यमाथि ‘रंगभेद’ को आरोप

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनको (ड्युक एण्ड डचेज अफ ससेक्स) ले अमेरिकी टेलिभिजनकर्मी ओपरा विनफ्रीसँगको विशेष अन्तर्वार्तामा राजपरिवारमाथि केही गम्भीर आरोप लगाएका छन्।

अमेरिकी टेलिभिजन नेटवर्क सिबिएसबाट नेपाली समय अनुसार सोमबार बिहान प्रशारण भएको दुई घण्टा लामो विशेष अन्तर्वार्तामा मेगनले राजपरिवारका सदस्यले आफ्नो सन्तान (आर्ची) नजन्मिदै छालाको रंगलाई लिएर चासो व्यक्त गरेको आरोप लगाएकी छन्।

सोही कारण आफ्नो सन्तान आर्चीबाट राजकीय पदवी (राजकुमार) खोस्ने गरि नियम परिवर्तन गरिएको मेगनले आरोप लगाएकी हुन्।

राजकुमार ह्यारीले आफूहरुको सम्बन्धको सुरुदेखि नै सन्तानको रंगलाई लिएर केही कुरा भएको तर त्यसबारे विस्तृतमा नबोल्ने बताएका छन्। तर आफ्नो परिवार (राजपरिवार) ले रंगभेदविरुद्ध समर्थन देखाउने मौका गुमाएको देख्दा दुःख लागेको ह्यारीले बताएका छन्।

राजकुमार ह्यारीले राजपरिवारमा जन्मिएर सुरक्षा खोसिन्छ भन्ने कहिले पनि नसोचेको तर त्यहि भएको बताएका छन् । आर्ची तथा ह्यारीको प्रहरी सुरक्षा हटाइएको छ।

मेगनले अन्तर्वार्ताको क्रममा जेठानी (डचेज अफ क्याम्ब्रिज, केट) ले आफ्नो विवाहअघि चित्त दुख्दो कुरा गरेर रुवाएको बताएकी छन्। तर त्यसका लागि केटले माफी मागेको उनले उल्लेख गरिन्।

यस्तै विवाहको केही समयपछि नै आफूबाट स्वतन्त्रता खोसिएको र आफू नितान्त एक्लो भएको आरोप मेगनको छ। उनले आर्ची गर्भमा हुँदा आफूमा आत्महत्याको सोचसम्म आउने गरेको खुलासा गरिन्।

ह्यारीले विगत दोहोरिने र झन भयानक हुने देखेर परिवारको रक्षाका लागि कदम चालेको बताएका छन्। सहयोगका लागि परिवारका सबै सदस्यसँग गुहार लगाए पनि केही नमिलेको ह्यारीको भनाई छ।

केही समय पिता (प्रिन्स अफ चार्ल्स) र आफूबिच बोलचाल नै बन्द भए पनि हाल आफूहरुबिच बोलचाल हुने तर सम्बन्ध सुधारको खाँचो रहेको बताएका छन्। दाइ (प्रिन्स विलियम) लाई आफू जहिले पनि प्रेम गर्ने र आफूहरुले गम्भीर कठीन समयसँगै बिताएको भए पनि अहिले मार्ग भिन्न रहेको बताएका छन्।

ह्यारीले हजुरआमा (महारानी एलिजाबेथ द्वितीय) सँग आफ्नो सम्बन्ध निकै राम्रो रहेको र उनी जहिले पनि आफ्नो प्रिय रहने बताएका छन्।

पछिल्लो वर्ष आफूहरुबिच जीवनकालमै सबैभन्दा धेरै कुराकानी भएको उनले बताएका छन्।

ह्यारी र विलियम कि आमा प्रिन्सेज डायनाको कार दुर्घटनामा मृत्यु भएको थियो।

ह्यारीले आफ्नो परिवारले सन् २०२० को पहिलो हाफदेखि आर्थिक रुपमा आफूहरुमाथि बन्देज गरेकाले नेट्फिलिक्स र स्पोटीफाइसँग सम्झौता गर्न बाध्य भएको बताएका छन्।

मेगनले राजपरिवारले आफ्नो स्वार्थका लागि आफूहरुको सुरक्षामा जोखिम उठाएको आरोप पनि लगाएकी छन्।

अन्तर्वार्ताको क्रममा ह्यारी र मेगनले आफ्नो दोस्रो सन्तानका रुपमा छोरी जन्मिन लागेको पनि खुलाएका छन्।

राजपरिवारको शीर्ष सक्रिय सदस्यबाट पछि हटेका ह्यारी र मेगनले त्यो पनि आफूहरुको बाध्यात्मक र बाध्यकारी रहेको बताएका छन्। तर आफूहरु अहिले निकै खुशी रहेको उनीहरुले उल्लेख गरेका छन्।

ह्यारी र मेगनको विवाह सन् २०१८ मा भएको थियो। उनीहरुको पहिलो सन्तानका रुपमा छोरा आर्चीको जन्म सन् २०१९ को मेमा भएको हो। यस्तै उनीहरुको दोस्रो सन्तानका रुपमा छोरी जन्मिने छिन्। अहिले ह्यारी र मेगन अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन्।

फाल्गुन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्