सन्दर्भ: १११औँ अन्तर्राष्ट्रिय महिला दिवस

‘महिलालाई हेय भावले हेर्ने समाज अझै छ, मनोविज्ञान परिवर्तनको लागि संघर्ष गर्नुपर्छ’

काठमाडौँ-राष्ट्रपति विद्यादेवी भण्डारीले महिलालाई हेयको भावले हेर्ने दृष्टिकोणलाई परिवर्तन गर्न संघर्ष गर्नुपर्ने बताएकी छन्।

सोमबार १११औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘महिलालाई हेय भावले हेर्ने असमानताको दृष्टिकोणलाई परिवर्तन गर्नको लागि चेतनामूलक कार्यक्रम र समाजको मनोविज्ञान परिवर्तन गर्ने गरी संघर्ष गर्नुपर्छ।’

उनले सभ्य र लैंगिक समानतामूलक समाज निर्माणका लागि अग्रसर हुन समाजका सबै पक्षहरुलाई ध्यानाकर्षण गराइन्। आर्थिक समानता बिना सामाजिक र सांस्कृतिक विभेदको अन्त्य नहुने भन्दै राष्ट्रपति भण्डारीले न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकता औँल्याइन्।

उनले भनिन्, ‘सभ्य र लैंगिक समानतायुक्त समाज निर्माणका लागि विशेष पहलका साथ अग्रसर रहनका लागि म समाजका सबै पक्षहरुको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। आर्थिक समानता बिना सामाजिक तथा सांस्कृतिक विभेदको अन्त्य हुन सक्दैन । यसका लागि संविधानले मार्गदर्शन गरेको न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्नुपर्ने आवश्यकतामा पनि म यो समारोहमा जोड दिन चाहन्छु । अहिलेको नेपाल सरकार, संसद र संसदमा प्रतिनिधित्व गर्ने दल लगायत समाजको माथिल्लो तप्का लैंगिकमैत्री र समानताको दृष्टिकोण स्पष्ट भएको छ भन्ने मलाई विश्वास छ । तर हामीले अंगिकार गरेका नीतिहरु कार्यान्वयन गर्नमा केही समस्या र अवरोधहरु देखिएको छ । यो समाजको मनोविज्ञान होला भन्नेजस्तो मलाई लाग्दछ । महिलालाई हेय भावले हेर्ने र असमानताको दृष्टिकोण छ, यसलाई परिवर्तन गर्न चेतनामुलक कार्यक्रम र समाजको मनोविज्ञान परिवर्तन गर्नेगरी हामीले संघर्ष गर्नुपर्ने हुन्छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सामाजिक न्याय र समानताको निम्ति प्रतिबद्ध रहेको बताए। पूर्ण रुपमा समानता प्राप्त नभएसम्म महिलाहरुका लागि विशेष व्यवस्था गरेर समानताको बाटोमा अघि बढ्ने उनको भनाइ छ । महिला शिक्षा र रोजगारीमा जोड दिने उनले बताए।

नीति, निर्माणमा काममा महिला सहभागितालाई जोड दिएको पनि उनको भनाई छ । महिला माथिको भेदभाव असभ्यता भएकाले असभ्य व्यवहार गर्नेलाई दण्डित गर्नुपर्ने उनले बताए। उनले भने, ‘महिला माथिको भेदभाव असभ्यता हो । हरेकले बुझ्नुपर्दछ महिलामाथि भेदभाव गरिन्छ भने, महिलालाई अपमान गरिन्छ भने त्यो असभ्यता हो। कसैले महिलालाई अपमान गरेर आफ्नो कद बढेको छ भन्ने ठान्छ भने त्यो सभ्यताको सिँढीमा उठेको रहेनछ भन्ने बुझ्नुपर्छ । यस्तो असभ्य व्यवहार गर्नु अपराध हो । यो असभ्यता र अपराधको अन्त्य हुनुपर्दछ । हरेकले अन्त्य गर्नुपर्दछ। अन्त्य गर्न मान्दैन भने त्यो दण्डनीय हुन्छ र त्यस्तालाई दण्डीत गर्नुपर्छ । जसले सभ्यताको उल्लंघन गर्छ र अपराध गर्छ त्यो दण्डनीय हुन्छ।’

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले महिला शसक्तिकरण र लैङ्गीक समानता प्राप्ति गर्ने दिशामा सरकारले नीतिगत, संस्थागत र कार्यगत प्रयासहरुलाई प्राथमिकताका साथ अघि बढाएको बताइन्। महिला तथा बालबालिकाको सुरक्षाको विषय चिन्ताको विषय भएको भन्दै उनले महिला हिंसा नियन्त्रणका लागि सरकारले अध्यादेशमार्फत विशेष कानुनी प्रावधान जारी गरेको पनि स्पष्ट पारिन्।

उनले भनिन्, ‘महिला सशक्तिकरण र लैंगिक समानता प्राप्ति गर्ने दिशामा नीतिगत, संस्थागत र कार्यगत प्रयासहरुलाई प्राथमिकताका साथ निरन्तर रुपमा अगाडी बढाइएको छ । गुणस्तरीय शिक्षा, आधारभुत स्वास्थ्य, सम्मानजनक रोजगारी सहित उच्चस्तरका नीतिगत तथा कार्यान्वयनका क्षेत्रमा महिलाको व्यवहारिक तथा अर्थपूर्ण सहभागिताका विषयहरु अझैपनि आशातित रुपमा कार्यान्वयन भएको छैन। महिला, बालबालिकाको सरक्षाको विषय चिन्ताको विषय बनेको छ । जसलाई नियन्त्रण गर्नका लागि सबै प्रकारको महिला हिंसा नियन्त्रण गर्न अध्यादेशमार्फत विशेष कानुनी प्रावधान जारी गरिएको छ।’

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राज्यले महिला हिंसा अन्त्यका लागि बनेका कानुनहरुको कार्यान्वयनको अवस्थाको अनुगमन गर्नुपर्ने अवस्था रहेको बताइन्।

उनले भनिन्, ‘सामाजिक विकृति बढीरहेको छ। बालिका, किशोरी र महिलामाथि हुने दुव्र्यवहार, हिंसा, बलात्कार र हत्याका घटना बढीरहेको छ। महिलाको वंश र अंशको समान अधिकार र हैसियत अझै प्राप्त हुन सकेको छैन । समान काम र समान ज्यालाको अवसरबाट बञ्चित हुनुपरेको अवस्था छ। राज्यले यस्ता विषय अन्त्यका लागि बनेका कानुनहरु कार्यान्वयन भएका छन् कि छैनन्। कार्यान्वयन भए प्रभावकारी छन् कि छैनन् र त्यसको प्रभाव कस्तो छ भन्ने बारेमा अनुगमन र मुल्यांकनको पक्षलाई पनि त्यत्तिकै महत्व दिनु आवश्यक छ।’

महिला हिंसाका घटना तथा दुर्व्यवहारहरु बढीरहेको र अझैपनि महिलाहरुले समान काम र समान ज्यालाको अवसरबाट वञ्चित हुनुपरेको अवस्था रहेको उनले औँल्याइन्।

फाल्गुन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्