नेकपा खारेजीले ल्याएको हलचल

पूर्वएमालेमा उत्साह, माधव पक्षको प्रचण्डसँग बिदाइको तयारी

काठमाडौँ- नेकपा खारेज गर्ने सर्वोच्चको फैसलालाई लिएर केपी शर्मा ओली एकाएक उत्साहित भएका छन्।

आफूअनकुल नेताहरु नचलेको निष्कर्ष निकालेर एकता प्रक्रिया टुंगो नलाग्दै पार्टी फुटाउने तीव्र प्रयास गरेका र एमाले ब्यूँताउन मदन भण्डारी फाउण्डेशनलाई सक्रिय बनाएका ओली सर्वोच्चको फैसलापछि उत्साह प्रदर्शनमा उत्रिएका छन्।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले अब एमालेमा नफर्किनेलाई कारवाही गर्ने घुमाउरो चेतावनी पनि दिए।

उनले आफूबाट अलग भएका पूर्वएमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै भनेका छन्, ‘अब मैले सोध्न नपरोस्, तपाईँहरु कुन पार्टीको?’

आफूले पार्टी एकता गर्दा विश्वभरी नै आफ्नो मानप्रतिष्ठा बढेको दाबी गर्ने ओलीले हाल आएर आफू नेकपाको साधारण सदस्य पनि नभएको घोषणा गरेका छन्।

उनले नेपाल पक्षलाई लक्षित गर्दै भने, ‘उहाँहरुले मलाई पार्टीको साधारण सदस्यबाटसमेत निकाल्नु भएको थियो। म नेकपाको साधारण सदस्य पनि होइन। अदालतले भन्यो- म कुन पार्टीको सदस्य हो? हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीको जानकारी पाउँ रे? सर्वोच्च अदालतलाई सोध्न जाऊ।’

दुई तिहाइको प्रधानमन्त्री बन्ने आफ्नो चाहना पूरा गर्न ओलीले पर्याप्त गृहकार्य नगरी पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चुनावी गठबन्धन गरेका थिए।  चुनावमा विजय हासिल गरेपछि ओली यसअघि अभ्यास नै नगरिएको दुई अध्यक्षतात्मक प्रणालीको व्यवस्थाको प्रस्तावसहित एकतामा जुटेका थिए।

सुरुमा पार्टीमा आफ्नो हैसियत बराबरी प्रचण्डलाई राखेपनि पछि उनलाई दोस्रो अध्यक्षको हैसियतमा झारेका थिए। आफू प्रथम अध्यक्ष भएको दाबी गर्दै आएका ओलीले प्रचण्डलाई पार्टीको कार्यकारी अध्यक्ष दिने शर्तमा आफूलाई पाँचै वर्षका लागि प्रधानमन्त्री बनाउन राजी गराएका थिए।

प्रचण्डले पार्टी अध्यक्षको कार्यकारी भूमिका निर्वाह गर्न नपाएको भन्दै विरोध गर्न थालेपछि ओलीले पार्टी फुटाउने प्रयास गरेका थिए। प्रचण्डले पार्टी फुटाउन नदिने बरु ओलीलाई सत्ताबाट हटाउने कोसिस गर्दा ओलीले संसद विघटन गरेका थिए।

त्यसपछि ओली र प्रचण्ड खेमाले अलगअलग राजनीतिक अभ्यास गरिरहेका बेला सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको पार्टीलाई सुम्पिएर नेकपा एमाले र माओवादी ब्यूँताउने फैसला गरेको थियो। यसबाट ओलीसँगै पूर्वएमालेका सांसदहरु पनि उत्साहित देखिन्छन्।

00

गोकुल बास्कोटाले काभ्रेमा आफ्नो र ओलीको फोटोसहितको ब्यानर टाँसेर एमाले ब्यूँताएको फोटो सार्वजनिक गरेका छन्।

बझाङकी आशाकुमारी बिक नेकपा एमालेका तर्फबाट सांसदमा निर्वाचित भएकी थिइन्। केपी शर्मा ओली निकट उनको जिल्लामा एमालेको राम्रै पकड थियो।

एमालेमै आफ्नो राजनीतिक ‘करिअर’ देखेकी बिकलाई अचानक माओवादी केन्द्रसँग मिसिन पुग्दा निको लागेको थिएन। एकताविरोधी भइने डरले उनी सार्वजनिकरुपमा प्रतिक्रिया बिहिन थिइन्। एकतापछि सुरु भएको निरन्तरको कचिङ्गलले उनको मथिङ्गल हल्लाएको थियो।

चुनावका बेला आफूहरुले सार्वजनिक गरेको साझा घोषणा पत्र कार्यान्वयन नहुँदा उनलाई गाउँमा छिर्न धक लाग्थ्यो। आफ्नो बलबुतामा मतदातालाई थमथमाउँदै आएकी बिक हाल आएर उत्साहित छन्, सर्वोच्च अदालतको नेकपा खारेजीको फैसलासँगै।

बिकले भनिन्, ‘पार्टी एकता हुन नराम्रो थिएन। तर एकतापछि सुरु भएको कलहले हाम्रो टाउको दुखेको थियो। हरेक दिन झगडा गर्नुभन्दा टाढिएकै जाती भन्ने भइसकेको थियो। सर्वोच्चको निर्णय स्वागतयोग्य छ।’

सर्वोच्चको फैसलासँगै उनी राजनीतिमा एक किमिसले स्वतन्त्र अनुभव गरेकी छन् र आगामी राजनीतिक योजना बुन्न थालेकी छन्। बिकलाई गाउँबाट पनि उत्तिकै फोन आइरहेको छ, कार्यकर्ताको जसले नेकपा खारेजीको उत्सव मनाइरहेका छन्।

एमालेमै फर्किँदा दुई फाइदा देखेका छन् उनीहरुले। पहिलो आफ्नो मन पर्ने चुनाव चिन्ह सूर्य आफैतिर आयो। अर्को एमालेको संगठन बलियो लाग्छ।

‘म भन्दा हाम्रा कार्यकर्ता खुसी छन्। हरेक दिनको लफडाले उनीहरु अन्यौलमा थिए। अब कुनै तनाव नभएको सुनाउँछन्। संगठन विस्तारमा उनीहरुको पुनः ध्यान गएको छ,’ कुमारी मेचे झापाकी सांसद हुन्। उनले पनि पूर्वएमालेबाट सांसद बन्ने मौका पाएकी थिइन्।

पार्टी एकता भएको केही महिनामै माथिल्लो तहमा सुरु भएको कचिङ्गलले उनमा दिक्दारी बढाएको थियो। अहिले आनन्दको अनुभव गरेकी छन्। उनले भनिन्, ‘एकता सकिन नपाउँदै माथिल्लो तहमा झैझगडाले निरन्तरता पायो। हामीले पनि विवाद मिलाउने कोशिस गरेको हो। तर सफल भएनौँ। हामीलाई आफ्नो पार्टीमा फर्किन पाउँदा खुसी लागेको छ।’ मेचेले प्रधानमन्त्री ओलीलाई कामै गर्न नदिएको पनि गुनासो गरिन्।

उनले भनिन्, ‘प्रधानमन्त्रीको ठूलो सपना थियो मुलुककलाई समृद्धितर्फ लैजाने। तर एकीकृत पार्टीकै ठूला नेताहरुले काम गर्न दिएनन्। कुच्चोले बढार्नुपर्ने हावालाई बढार्‍यो। माधवकुमार नेपाल पक्षसहित पूर्व एमालेका हाल १२० सांसद छन्। नेकपा खारेजीले नेपाल पक्षका नेताहरुबाहेक सबैमा उत्साह छाएको छ।

नेपाल पक्षले एमालेमै संघर्ष गर्ने


नेपाल पक्षले भने नेकपा एमालेमै रहेर संघर्ष गर्ने निष्कर्ष निकालेको छ। यद्यपि प्रचण्डसँगको सहकार्यलाई कसरी सम्मानजनक रुपमा टुंग्याउने भन्नेमा नेपाल पक्ष अन्यौलमा छ।

नेपाल पक्षका नेता रघुजी पन्तले आफूहरु ओलीविरुद्धको संघर्ष जहाँबाट सफल हुन्छ त्यहीँ बस्ने बताए। नेपाल पक्ष सोमबार राजधानीको अर्याल होटलमा यस्तो निष्कर्ष निकाल्दै पेरिसडाँडाको स्थायी कमिटी बैठकमा भाग लिन पुगेको थियो।

फाल्गुन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्