सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिता

उपाधिका लागि एपीएफ र पुलिस भिड्ने

नेपालगञ्‍ज-बाँके जिल्ला भलिबल संघले आयोजना गरेको सातौं प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा एपीएफ र पुलिसले तेस्रो जीत निकालेका छन्।

एपीएफले न्यू डायमण्ड र पुलिसले त्रिभुवन आर्मीलाई पराजित गरेर लगातार जीत निकालेको हो। उपाधीका लागि मंगलबार एपीएफ र पुलिसका बीचमा प्रतिस्पर्धा हुनेछ।

पहिलो खेलमा एपीएफले न्यू डायमण्डलाई ३–१ ले पराजित गर्‍यो। पहिलो सेट न्यू डायमण्डले २५–२३ ले जितेको थियो। त्यसपछि लगातार एपीएफले जीत निकाल्यो । एपीएफले न्यू डायमण्डलाई २५–१३, २५–१७ र २५–२२ ले पराजित गर्‍यो।

पहिलो सेटमा राम्रो खेलेपनि त्यसपछि न्यू डायमण्ड दबाबमा परेको थियो। खेलमा ओमन अफ द म्याच एपीएफकी बिनिता बुढाथोकी भइन्। उनलाई सुदूरपश्चिम प्रदेश सरकारका सचिव चुडामणी पौडेल, कैलपालकी रेवती सिंह र एबीसी स्कूलकी शशी स्वाँरले पुरस्कृत गरे।

अर्को खेलमा पुलिसले आर्मीलाई ३–१ ले पराजित गर्‍यो । पहिलो सेट गुमाएर पनि पुलिसले कम्ब्याक गरेको छ । पहिलो सेट आर्मीले २५–१५ मा जितेको थियो । दोस्रो सेट पुलिसले २५–१८ ले जित्यो।

तेस्रो सेटमा अन्तिममा ५ अंकको अग्रता लिएर पनि बचाउन नसक्दा आर्मी पराजित हुन पुग्यो । आर्मीको २४ अंक हुँदा पुलिसको १९ अंक थियो। १९ अंकबाट बढेर पुलिसले तेस्रो सेट जित्यो । यो सेटमा पुलिस २७–२५ ले विजयी भयो । चौथो सेटमा पुलिस २५–२३ ले विजयी भयो।

खेलमा ओमन अफ द म्याच पुलिसकी मनिषा चौधरी भइन्। उनलाई नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखाका प्रमुख गोरख थापा, केएल दुग्गडका प्रदीप छाजेड र होटल बाटिका निर्देशक शिवांगिनी राणाले पुरस्कृत गरे।

फाल्गुन २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्