रिसको झोंकमा थप्पड हान्दा श्रीमतीको मृत्यु, श्रीमान् पक्राउ

मोरङ-मोरङको सुन्दरहरैंचा नगरपालिकामा श्रीमती हत्या गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन्।

नगरपालिका ५ मा बसोबास गर्दै आएका ४४ वर्षीय विष्णु ऋषिदेवलाई प्रहरीले ३३ वर्षीय सावित्री दाहाल ऋषिदेवको हत्या प्रकरणमा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक मानबहादुर राईले सावित्रीको शव आइतबार राती करिब ८ बजे घरभित्र कोठामा फेला परेको थियो।

प्रवक्ता राईका अनुसार मृतकको अनुहार लगायत शरीरका विभिन्न भागमा चोट र हातका चुरासमेत फुटेको अवस्थामा कोठाको खाटमाथि सावित्रीको शव फेला परेको हो।

घटना प्रकृतिले हत्याको आशंका गरेको प्रहरीले श्रीमान विष्णुलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ। घटनाबारे सुरुमा विष्णुले अस्वीकार गरेको बताएका प्रवक्ता राईले थप सोधपुछ र अनुसन्धान थालेपछि थप्पड हान्ने क्रममा श्रीमतीको मृत्यु भएको स्वीकारे जानकारी दिए।

घटनापछि मृतक सावित्रीका आफन्त रामबहादुर दाहालले हत्याको दाबीसहित ज्वाई विष्णुविरुद्ध किटानी जाहेरी दिएका छन्।
विष्णुविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मंगलबार जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रवक्ता राईले जानकारी दिए। अर्कोतर्फ, शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ।

१८ वर्षअघि अन्तरजातीय विवाह गरेका विष्णुको आर्थिक अवस्था कमजोर रहेको र ज्याला मजदुरी गरेर परिवार चलाउदै आएका थिए। भोजपुर माइती भएकी सावित्री र विष्णुका तीनजना छोरी रहेका छन्।

फाल्गुन २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्