मेलम्ची बगेर बागमतीमा मिल्छ

मेलम्चीबाट आएको पानी बागमतीमा मिसिने विन्दु। यो तस्बिर पानीको भल्भ बन्द गरिएको बेला खिचिएको भएता पनि थोरै मात्रामा पानी मिसिँदै गरेको देखिन्छ। तस्बिरः गिरीश गिरी/देश सञ्चार

सुन्दरीजल – सुन्दरीजलबाट बागमतिको मुहान बागद्वारतर्फ उकालो लाग्दै गर्दा दाहिनेतर्फ यो विन्दु स्पष्ट देखिन्छ। तल खोँचमा परैदेखि बागमती बग्दै आएको छ र बागमतीभन्दा दाहिनेतर्फको पहाडी भित्तोमा एउटा ठूलो सिँढीजस्तो क्रंक्रिट संरचनाले ओह्रालो लाग्दै नदीलाई छोएको छ। त्यो सिँढी होइन। बरु २७ किलोमिटर परबाट बग्दै आएको मेलम्ची खोलालाई बागमतीमा मिसाउने संरचना हो।

हिमालदेखि बग्दै सिन्धुपाल्चोकतिर आउने मेलम्चीलाई प्रकृतिले इन्द्रावती भएर उतैतिर अगाडि बढ्ने संरचना दिएको थियो। तर, विज्ञानले भने अब त्यो पानीको हिस्सालाई निकै पर बागमतीबाट बगाउने तय गरेको छ। युगौंदेखि बग्दैआएको त्यो खोलाको विधान यस रुपमा यहि सातादेखि परिवर्तन भएको हो।

‘अब बागमतीमा पानीको मात्रा बढ्नेछ,’ बहुप्रतिक्षित मेलम्चीको पानी काठमाडौँ उपत्यकामा भित्रिँदै गर्दा शनिबार बेलुकी प्रधानमन्त्री केपी शर्मा ओलीले यसै स्थानमा मन्तव्य दिँदै भनेका थिए, ‘शिवरात्रीको दिन पशुपति किनारमा सफा पानी देखिनेछ।’

पशुपति छेउमा बागमतीको पानी कति मात्रामा सफा हुनेछ त्यसको निक्र्यौल चाहिँ अहिल्यै गर्न नसकिएला। तर, त्यस नदीमा सफा पानीको मात्रा भने पक्कै पनि बढ्ने भएको छ।

‘भरे भोलिदेखि नै यो पानी केहि समयलाई बागमतीतर्फ बगाइनेछ,’ सुन्दरीजलस्थित मेलम्ची परियोजनामा साइट इन्जिनियर विवेक खनालले तल थुप्रिएको असाध्यै कञ्चन पानी औंल्याउँदै देश सञ्चार टोलीलाई सोमबार भने, ‘यसको वेगले बागमतीमा थुप्रिएका फोहोरलाई केहि मात्रामा बगाउनुका साथै पानीको स्तर पनि थोरै वृद्धि गर्न मद्दत गर्नेछ।’

काठमाडौँ उपत्यकाका पुराना तस्बिरहरु हेर्ने हो भने बागमती नदीमा मनग्गे पानी बगेको देखिन्छ। बर्खामा त कुरै भएन, हिउँदमा पनि पानीको मात्रा उल्लेख्य हुने गथ्र्यो।

तर, अहिले भने बागमती नदीले उसको भाग्यमा पाएको पानीलाई हामीले अन्तै मोड्दै आएका छौं। जनसंख्या विस्तारसँगै तिर्खाएको उपत्यकाले पानीका भएभरका श्रोतहरु दोहन गर्न थालेपछि जीवनदायी यस नदीमा पनि क्रमैसँग पानीको मात्रा घट्दै गएको हो।

जलाधार संरक्षणविज्ञ मधुकर उपाध्याका अनुसार बागमतीको पानीलाई उपत्यकावासीले विभिन्न प्रयोजनमा धेरै पहिलेदेखि प्रयोग गर्दैआएका हुन्। बागमतीमा हकमा सबैभन्दा पहिले जुद्धशम्शेर प्रधानमन्त्री भएकै बेला सुन्दरीजलबाट बिजुली निकाल्नका लागि पानीलाई अन्यत्र मोड्ने काम गरियो। यो मुलुककै दोश्रो पुरानो जलविद्युत गृह थियो। त्यसपछि पनि बागमतीको पानी नदीभन्दा अन्यत्र बग्ने क्रमले निरन्तरता पाइरह्यो।

उपाध्याका अनुसार ठूलो मात्रामा बागमती नदीबाट पानी अन्यत्र लैजाने काम चाहिँ वि. सं. २०१८ सालमा सुरुभएको हो। त्यतिबेला काठमाडौंवासीलाई पानी वितरण गर्नका निम्ति एक भारतीय परियोजनाले सुन्दरीजलबाटै पानीलाई ठूलो ट्यांकीमा राखेर काठमाडौंमा वितरण गर्ने प्रणाली विकास गर्‍यो। त्यसरी सुन्दरीजलबाट ल्याइएको पहिलो व्यवस्थित पानीको परियोजनाले काठमाडौंको विशेषगरि पूर्वी भेगका बासिन्दालाई खानेपानीको गर्जो टारिदिएको थियो।

नदीलाई उसको स्वाभाविक गतिमा बहनका निम्ति भूमिगत पानीको श्रोत पनि मुख्य आधार हुनेगरेको उपाध्या बताउँछन्। यस्ता भूमिगत पानीका श्रोतहरुको पनि ब्यापक दोहन हुँदै गएपछि २०३५ सालताका बागमतीको पानीमा उल्लेख्य मात्रामा गिरावट देखिन सुरुभएको उनको अनुभव छ। यसैबीच २०४२ सालमा फेरि साँखुको डाँछी क्षेत्रलगायतका वासिन्दाहरुले पिउने पानीका निम्ति सुन्दरीजलबाटै पानीको अर्को भेल उता लगिदिएको उपाध्या सुनाउँछन्।

‘यसरी एकातिर नदीको पानी सोझै तानेर लैजाने कामले एकातिर पानीको मात्रा घटेको देखाउँछ,’ उपाध्या भन्छन्, ‘अर्कातिर भूमिगत पानीको मात्रा पनि घट्दै गएपछि बागमती मात्र होइन उपत्यकाका सबै नदीहरु संकटमा परेका छन्।’

उपाध्याका अनुसार यतिबेला उपत्यकाका नदीहरुको पानी वस्तुत नदीहरुमा नबगेर घर घरका पानी ट्यांकीहरुमा पुगेका छन्। यसरी पानीका ट्यांकीहरुमा थुप्रिएका पानीले घरेलु आवश्यकता पुरा गर्दै ढलको रुपमा बगेका पानी मात्रै ति नदीमा अहिले बगिरहेको देख्न पाइएको हो। अर्थात् नाममा पुराना नदीहरुलाई हामीले बागमती र विष्णुमती भनेर पुकार्दै आएता पनि पानीका आधारमा ती सबै अहिले ‘ढलमती’ बनेको अवस्था छ।

बागमतीमा मिसिँदै गरेकाे मेलम्चीकाे पानी । तस्बिर : गिरिस गिरी/देश सञ्चार

बागमती नदीका हकमा उसको कति पानी हामी पिउनका निम्ति प्रयोग गरिरहेका छौं?

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाश राईका अनुसार महांकालस्थित खानेपानीको ट्यांकीमा सुख्खा याममा (गत वैशाखको तथ्यांक) दैनिक २ करोड १० लाख लिटर पानी जम्मा भएको देखिन्छ भने वर्षा याममा (गत असारको तथ्यांक) ५ करोड ९२ लाख लिटर पानी जम्मा गर्ने गरिएको थियो। प्रवक्ता राईका अनुसार महांकालस्थित ट्यांकीमा अन्यत्रबाट पनि पानी थपिने गरेको छ।

तर, त्यो पानीको मुख्य श्रोत सुन्दरीजलबाट आइरहेको बागमतीकै पानी भएकाले त्यसलाई उक्त नदीकै पानीको मात्रा भनिदिँदा खासै फरक पर्दैन।
स्मरण रहोस् मेलम्चीबाट हामीले अहिल्यै दैनिक १७ करोड लिटर पानी पाउन अब सुरु गर्दैछौं भने निकट भविष्यमै यसै सुरुंगबाट यांङ्री र लार्के खोलाको पानी पनि काठमाडौं उपत्यका भित्रिएपछि हामीसँग दैनिक ५१ करोड लिटर पानी थपिने अवस्था छ।

यसरी मेलम्चीको पानी आउन थालेपछि के अब बागमतीले उसको हकको पानी आफ्नै नदीमा बग्नेगरि फेरि फिर्ता पाउनेछ त?

यो प्रश्न मैले उक्त पानीलाई प्रयोग गर्दैआएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) कै प्रवक्ता प्रकाश राईसँग राखेको थिएँ।
‘भविष्यमा के हुन्छ थाहा अहिल्यै भन्न सकिएन,’ राईले भने, ‘हाललाई चाहिँ सुन्दरीजलबाट महांकालमा आइरहेको पानी रोक्ने हामीसँग कुनै योजना छैन।’

मेलम्चीबाट आउने अहिलेको मात्राको पानीले काठमाडौँको मागलाई धान्न नसक्ने बताउँदै राईले पहिलो चरणको १७ करोड लिटर पानी आउन्जेल बागमतीको पानी पनि प्रयोग भइ नै रहने स्पष्ट पारे।

यस्तो अवस्थामा मेलम्चीको पानी बागमतीमा थपिन लागेको हो।

तर, मेलम्चीकै पानी पनि सदैव यसरी नै बागमतीमा हालिने भने छैन।

‘बागमतीमा बगाइने भनेको मूलतः मेलम्चीबाट काठमाडौँसम्म पानी ल्याउने सुरुंगलाई फ्लस गर्नको निम्ति बनाइएको प्रणालीबाट बिसर्जित पानी हो,’ मेलम्चीका इन्जिनियर विवेक खनाल भन्छन्, ‘सँधैभरि पूणर् क्षमतामा पानी बगाएर बागमतीमा मिसाइने भने होइन।’

अहिले तत्कालै काठमाडौंका धाराहरुमा पानी पठाइहाल्ने अवस्था नरहेको स्थितीमा यो पानीलाई बागमतीमा छाड्दा भने खासै फरक पर्दैन। यस्तो अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनका बेला शिवरात्रीको समयमा सुरुंगको पानी बागमतीमा छाड्ने उल्लेख गरेका थिए।
सुन्दरीजलमा मेलम्चीबाट आएको पानीको सुरुंग हेर्दा त्यहाँ एउटा बडेमानको पाइप मात्र बाहिर निस्केको देखिन्छ। त्यो पाइप १६ सय एमएमको स्टेनलेस स्टीलबाट बनेको हो। त्यस पाइपबाटै हाललाई दैनिक १७ करोड र भविष्यमा ५१ करोड लिटर पानी काठमाडौंले पाउनेछ।
इन्जिनियर खनालका अनुसार यस्तै अर्को पाइप भने भूमिगत तवरबाट बाहिर आएको छ। त्यो ‘फ्लसिङ च्यानल’ हो। एक हजार एमएमको उक्त पाइपबाट निस्केको पानी भने सबै बागमतीमा खसालिने हो।

सुरुंगको बाहिरबाट यसरी १६ सय एमएमको पाइप (सर्भिस च्यानल) मात्र देखिन्छ। जबकि सुरुंगको मुखबाट करिब दुइ सय मिटर भित्र भने फलामे ढोका र बाक्लोसँग लगाइएको पर्खाल देखिन्छ। त्यस पर्खालभन्दा भित्र मेलम्चीबाट आएको पानी सुरुंगमा टनाटन भरिएको अवस्थामा रहेको इन्जिनियर खनालले जानकारी दिए।

मेलम्चीको पानी सुन्दरीजलमा । तस्बिर : बर्षा शाह/देश सञ्चार

यि दुवै पाइपहरुबाट आवश्यकता अनुसार पानीको ‘प्रेसर’ र ‘डिस्चार्ज’ बढाउन सकिन्छ। सोझै बुझ्दा हामीले घरको धारा अहिले सानो गरेर खोल्छौं, भोलि दुईवटा नदीको पानी पनि मिसिएपछि टुटी पुरै खोलिनेछ। त्यसैले त अहिले दैनिक १७ करोड लिटर पानी बगाउने पाइपले भविष्यमा सिन्धुपाल्चोककै दुईवटा अर्को खोलाको पानी पनि मिसिएपछि ५१ करोड लिटर बगाउनेछ।

प्रधानमन्त्री ओलीले उद्घाटन गर्दाको दिन बागमतीमा पठाइएको पानी नै देखाउने काम गरिएको थियो। त्यो पानी सुरुंगबाट निस्केको पहिलो खेपको पानी भएकाले लेदोको रुपमा देखिन्थ्यो। अब भने त्यहाँबाट कञ्चन पानी निस्कन सुरुभइसकेको छ।

मेलम्चीको पानी ‘फ्लसिङ च्यानल’बाट जतिसुकै मात्रामा छाडेता पनि त्यसले बागमतीमा ठूलै बाढीजस्तो अवस्था नआउने भएकाले डराउनुपर्ने वा पूर्व सतर्कता अपनाउनुपर्ने अवस्था छैन। यद्यपि पानी छाड्ने बेलामा त्यस भेगको अवस्थालाई विचार गरेरै निणर्य लिइने प्राविधिकहरु बताउँछन्।

यसरी छाडिएको पानीले एक त नदीको बेगमा तीब्रता ल्याएर त्यहाँ जमेका फोहोरलाई बगाउन सघाउ पुर्‍याउने छ। अर्कोतर्फ यो पानी आफै पनि अत्यन्त कञ्चन भएकाले बागमतीको पानीलाई सफा देखाउन थप मद्दत गर्नेछ।

उद्घाटनका बेला केहि समयलाई खोलिएको भल्भ हाललाई बन्द गरेर सुरुंगमा पानी जम्मा गरिरहेको र प्रधानमन्त्रीले भनेअनुसारै शिवरात्रीका बेला भल्भ खोल्ने तयारी भइरहेको प्राविधिकहरुले बताए।

यसरी भल्भ खोल्दा प्रति सेकेण्ड दुइ सय ६० लिटरका हिसाबले बागमती नदीमा मेलम्चीको पानी मिसिन पुग्नेछ। जबकि सुन्दरीजलमा अहिले बागमतीको आफ्नै पानी भने प्रति सेकेण्ड पचास देखि सय लिटरका हिसाबले मात्रै बगिरहेको हुनसक्ने अनुमान प्राविधिकहरु लगाउँछन्।
‘यो आयोजना बागमतीमा बगाउने भन्दा पनि काठमाडौंका घर घरमा पानी पठाउनका लागि ल्याइएको हो,’ मेलम्चीका प्राविधिकहरु बताउँछन्, ‘बागमतीमा जाने भनेको मुख्य उद्देश्य पूरा गरेपछि त्यसबाट बचेको पानी मात्रै हो भन्ने कुरा चाहिँ बिर्सन मिल्दैन।’

सुरुंगबाट पानी आउनथालेको प्रारम्भिक चरण भएकाले त्यसलाई सफा गर्नकै निम्ति पनि केहि समय बागमतीमा ‘फ्लसिंग च्यानल’को पानी राम्रैसँग बग्ने जानकारहरु बताउँछन्।

यसले सुख्खा याममा पनि बागमतीको रुपलाई सुधार्न मद्दत त पक्कै गर्नेछ। तर, मेलम्चीको सुरुंग सफा गर्नकै निम्ति बनाइएको प्रणालीबाट बग्ने पानीकै भरमा बागमतीमा फोहोरको समस्या पूणर्तः समाधान हुने कल्पना गर्नु चाहिँ ब्यर्थ हुने जलाधार संरक्षणविज्ञ मधुकर उपाध्या बताउँछन्।

फाल्गुन २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्