उदयपुरमा थारुको नयाँ थर भेटियो

थारु आयोगले थाल्‍यो थारु समुदायको थर सूचिकरण, पहिलो ड्राफ्ट सार्वजनिक

थारु आयोगले काठमाडौँमा थारुको थर सूचिकरण सम्बन्धि गरेको अन्तरक्रिया कार्यक्रम। तस्बिर- सहदेव चौधरी/देश सञ्‍चार

काठमाडौँ – थारु आयोगले तराइका आदिवासी थारु समुदायको थर सूचिकरणको ‘पहिलो ड्राफ्ट’ सार्वजनिक गरेको छ।

आयोगले थारु समाजका अगुवाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेर थारुको थर तथा उपथरहरुको उक्त ड्राफ्ट सार्वजनिक गरेको हो।

आयोगले त्रिभूवन विश्व विद्यालयको मानवशास्त्र विभागले थारु समुदायका अनुसन्धानकर्ताहरुसँगको सहकार्यमा २०७७ अशाेजदेखि फागुनसम्म ६ महिना लगाएर अनुसन्धानको काम गरेको थियो।

विभागका प्रमुख डा. डम्बर चेम्जोङले बजेट सीमितता र कम बजेटमा काम गरिएको बताए। उनले भने, ‘ हामीले थारु आयोग अनुरोधमा छोटो समयमा कम बजेट र कम जनशक्तिमा यो काम गरेका हौँ। अझै पर्याप्त काम नभएकाले थारुको थर छुटेकाले थारु आयोगमा वा सम्बन्धित जिल्लाको रिसर्चरहरुसँग समन्वय गर्न अनुरोध छ।’

यस्तै थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले थारु समुदायभित्र रहेका थर पहिचानले राज्‍यलाई थारुको पहिचान गराउन सजिलो हुने बताए। उनले भने, ‘ मेचीदेखि महाकालीका कतिपय थारुहरुले आफ्नो थर लेख्ने गरेका छन्। राज्‍यलाई थाहै छैन की उनीहरु थारु हो। थर सूचीकरणले थारुको पहिचान गर्न सजिलो हुनेछ भने जनगणनामा पनि सजिलो हुनेछ।’थारु आयोगको काम,कर्तव्‍य र अधिकारबारे जानकारी दिँदै आयोगका सदस्‍य भोलाराम चौधरी।

आयोगका सचिव कृष्णकान्त उपाध्यायले आयोगले आफ्नो बजेट अनुकुलतामा थारु समुदायको अधिकार तथा सांस्कृतिक संरक्षणमा भूमिका निर्वाह गरिरहेको बताए। थारु थर सूचीकरणको कामले समुदायलाई लाभ पुग्ने विश्वास उनले व्यक्त गरे।

आयोगका सदस्य भोलाराम चौधरीले थारु समुदायको हकहित र सशक्तिकरणमा आयोग काम गरिरहेको बताए। थारु संस्कृति, थारु ज्ञान सीपको संरक्षण तथा आयोग सञ्चालन ऐन र विनियमले दिएको क्षेत्राधिकारभित्र रहेर आयोगले काम गरिररहेको प्रष्ट पारे।थारुको थर सूचिकरणका ‘लिड रिसर्चर’ डा.कृष्णराज सर्वहारी आफ्नो कार्यपत्र पेश गर्दै।

कार्यक्रममा कृष्णराज सर्वहारीले थर सूचिकरणको कार्यपत्र पेश गर्दै सबैभन्दा धेरै थारुको थर कैलाली कञ्‍चनपुरमा देखिएको बताए। उनले भने, ‘ कैलालीमा थारुको धेरै थर देखिएका छन्। कतिपय थरहरु त गैर थारुहरुसँग पनि मिल्न गएको छ। जस्तै चौधरी, दास, सरदार, माझी, सिंह, जोशी, खाँ, विश्वास, महतो, थापा, वैद्य, ठाकूर,बानियाँ,खवास, राजवंशी, राजपूत, कहार आदि।’

यसका साथै उनले उदयपुरमा थारुको नयाँ थर शाक्‍य भेटिएको बताए। उनले भने, ‘ उदयपुरका थारुहरु नामको पछाडि चौधरी वा थारु नलेखेर शाक्‍य लेखाउने गरेका छन्। यो थारुहरुको थर सूचिकरणमा नयाँ थर थपिएको हो। आयोगले यसबारे थप अनुसन्धान बढाओस्। थारु इतिहासलाई धरै समाजशास्त्री र इतिहासकारहरुले बुद्धको वंशजको रुपमा जोड्दै आएका छन्। यसबारे थप अनुसन्धान गर्नेुपर्ने देखिन्छ।’

उनका अनुसार कैलालीमा ३७२, कञ्‍चनपुरमा २४४ (राना थारु १५), सुर्खेतमा ५३, बर्दियामा ३७९, बाँकेमा १३६, दाङमा १४३, कपिलवस्तुमा १६, रुपन्देही १७, नवलपरासी पश्चिममा २१,नवलपरासी पूर्वमा २२, चितवनमा २३, मकवानपुरमा ६, पर्सामा २१, बारामा २३, रौतहटमा १५, सिरहा ६६, सप्तरीमा १४५, सर्लाहीमा ९, महोत्तरीमा ११, धनुषामा ३, उदयपुरमा ४४, सुनसरीमा ७७, मोरङ ५१ र झापामा ५५ वटा थारुका थरहरु भेटिएका छन्।

थारु जातिको थर उपथरकोसूचि बनाउनु एकदम कठिन भएकाले थप अध्‍ययन बाँकी रहेको उनले बताए। उनले भने, ‘ सम्भवत: थारु नेपालकै पुरानो जातिको भएकाले थर, उपथरको अन्तिम सूचि बनाइनु कठिन कार्य हो। यो एकै अध्‍ययनमा सम्भव देखिदैन किनकी थारुहरु नामको पछाडि थर लेख्‍ने चलन बर्षौदेखि गर्दै आएका छन् ठाउँ अनुसार। जस्तै पूर्वका थाहरुले (लेखी, पञ्जियार, हुजदार गछदार,तबदार, राजवंशी, खवास, जसराज), मध्‍य चितवनका थारुहरुले (महतो, गुरौ, फनैत रौतार), दाङकाले (डंगौरा, कठरिया,गम्वा, दहित,पछलगिया, वैद्य, रत्गैयाँ, सत्गौवा, सोनपुरिया आदि) ‘

यस्तै कार्यक्रममा थारु संस्कृतिविद भुलाइ चौधरीले थारुहरुको सुचिकरण जनगणनाको मुखमा उपयुक्त नभएको बताए। उनले भने, ‘ अब जनगणना हुन ८० दिन बाँकी छ। तर देशभरीका थारुहरुको यति धेरै थर सार्वजनिक भयो ? गणकले कसरी छुट्याउँछ की यी थरका मान्छे थारु जातिका हुन ? के तथ्याङ्क विभागले यसको बारेमा गणकहरुलाई तालिम दिएको छ ?’

उनले २०६८ सालको जनगणनालाई स्मरण गर्दै भने, ‘ उक्त जनगणनामा ‘मेजर मिस्टेक्स’ भएका थिए। खै तथ्याङ्क विभागले त सच्याएन। अनि गणलाई पन्सिलले गनणा गर्न लगाएर थारु लगायत अरु जातिको भाषा, धर्म र संस्कृतिलाई उल्ट्याएर जथाभावी गरिदियो।’ उनले शंका गर्दै भने, ‘सिरहा, सप्तरी, धनुषा र महोत्तरी, रौतहट अनि बारा पर्सासम्‍मका थारुलाई जातिमा मधेसी अनि भाषामा मैथली बनाइयो जुन सरासर गलत थियो। त्यसमा गणक को थियो ? यसपटक पनि त्यस्तै हुने त होइन ?’थारु समुदायको थर सुचिकरणबारे आफ्नो भनाइ राख्‍दै थारु संस्कृतिविद् भुलाइ चौधरी।

थारु नेपालको सबैभन्दा पुरानो आदिवासी, प्रकृतिपुजक जाति भएकाले ऊ कसरी मधेसी भयो भन्‍दै उनले थारुको भाषा र संस्कृतिमाथि दिनप्रतिदिन आक्रमण भइरहेको बताए। उनले भने, ‘ सबैलाई थाहा छ थारु तराइको आदिवासी हो। उसको आफ्नै भाषा र संस्कार अनि संस्कृति छ। तर जानी-जानी राज्‍य, प्रशासन, शासकहरुले पनि थारुलाई जातिमाथि अन्‍याय गरिरहेको छ।’

अब आउने जनगणनामा प्रदेश-२ मा थारुको गणनामा सचेत रहेर गणक पठाउन समेत उनले थारु आयोग र केन्द्रीय तथ्याङ्क विभागको ध्‍यानाकर्षण गराए। उनले भने, ‘ देशको चौथो जनसंख्या भएको थारुको प्रतिशत कसरी कम आयो ? यसपटक त्यस्तो नहोस्। तथ्‍याङ्क विभागले यसमा सतर्कता अपनाओस्।’

यसैगरी थारु भाषा साहित्‍य केन्द्रका उपाध्यक्ष बुद्धसेन चौधरीले जनगणनामा थारुको सहभागिताको लागि गाउँमा चेतना ल्‍याउनु पर्ने बताए। उनले भने, ‘ आयोगले थर सूचिकरणको काम गरेकोमा धन्‍यवाद छ। तर गाउँमा जनगणनाको बारेमा सचेतना कार्यक्रम ल्‍याओस्। थारुहरुको थर अझै गाउँमा राम्रोसँग संकलन भएको छैन। हतारमा होइन आयोगले मिहिन ढंगले काम नगरोस्। कम्तिमा एउटा जिल्लामा एक वा दुई जना खटाओस् थर सूचिकरणका लागि। कोही नछुटुन कोही दोहोरिऊन्।’

 कार्यक्रममा अनुसन्धानकर्ताहरु छविलाल कोपिला, एकराज चौधरी, चन्द्रनारायण चौधरी, राकेश चौधरी, हरिमाया थनेट, रामसागर चौधरीले थर सूचिकरणको कामबारेको अनुभव सुनाएका थिए।

यस्तो छ थारु जातिको थर,उपथर सूचीकरण


फाल्गुन २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्