मन्त्री र सांसद पद गएपनि ओलीको साथ छोड्दैनौँः मन्त्री रायमाझी

काठमाडौँ– नेकपा (एमाले)का नवमनोनित केन्द्रीय सदस्य तथा उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गएपनि आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने बताएका छन्।
रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनैपनि हालतमा नछाड्ने स्पष्ट पारे।
उनले भने, ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होइन, ज्यान त छँदैछ नि। हामीलाई केही चिन्ता छैन।’
उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरु एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए।
उनले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे।
मन्त्री रायमाझीले अब आफूहरु कुनैपनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे। उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी’ रहेको संज्ञा दिए।