फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फाइल तस्बिर।

काठमाडौँ – नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मं‌गलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेको छ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु ११८ पुगेको छ भने डिजेल, मट्टीतेल प्रतिलिटर रु १०१ पुगेको छ।

यस्तै हवाई इन्धन आन्तरिकको साविक मूल्यमा रु दुईले वृद्धि हुँदा प्रतिलिटर रु ७४ पुगेको छ।

खाना पकाउने एलपी ग्यास तथा हवाई इन्धन अन्तर्राष्ट्रियतर्फको खुद्रा बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको छ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा नौ रुपैयाँ ३५ पैसा, डिजेलमा प्रतिलिटर पाँच रुपैयाँ ८० पैसा तथा खाना पकाउने एलपी ग्याासमा प्रतिसिलिण्डर ३९२ रुपैयाँ ८२ पैसा घाटा रहेको छ।

त्यसआधारमा अर्धमासिक रुपमा निगमलाई रु एक अर्ब २७ करोड ७० लाख बराबरको घाटा रहेको दाबी गरिएको छ।

सो घाटा रकम मूल्य स्थितीकरण कोष तथा निगमको सञ्चित नाफाबाट व्यवस्थापन गरिने छ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त भएको मूल्यअनुसार नै निगमले मूल्य समायोजन गरेको जनाएको छ।

यसअघि पेट्रोल प्रतिलिटर रु ११६, डिजल र मट्टीतेल प्रतिलिटर रु ९९ मा बिक्री हुँदै आएको थियो। निगमले गत फागुन १७ मा मूल्य समायोजन गरेको थियो।

चैत ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्