सम्पदाको कथा‍‍‍

भेटिएको चित्रबाट उठ्दैछ, ९० सालमा ध्वस्त भाइदेगः

पुनर्निमाण भइरहेको भाइदेग: मन्दिर। तस्बिरहरु : बर्षा शाह

ललितपुर: टुक टुक– ट्वाक ट्वाक। पुल्चोकबाट अघि बढ्दै गर्दा जुन मोडबाट पाटन दरबार स्क्वायर देखिन सुरु हुन्छ, त्यहीँ यो सातादेखि फेरि यस्तो अवाज सुनिन थालेको छ।

कोरोना कहर साम्य हुँदै गएपछि उपत्यकाका सार्वजनिक स्थलहरु उसैगरी गुलजार हुन थालेका छन्। यो घुइँचोमा अघि बढिरहँदा कुनाकाप्चातिर खासै ध्यान पनि जाँदैन। त्यसैले यो घेरिएको स्थान एक हिसाबले छोपिएकै अवस्थामा छ।

त्यही छोपिएको ठाउँ भित्र कालिगढहरुले दिनभर काठलाई खोपिरहेका हुन्छन्। यसरी तयार भएका ढोका, तोरण र टुँडालहरु धमाधम जोडेर छेउमै एउटा लोभलाग्दो मन्दिर पनि उभिँदै गरेको देखिन्छ।

के यो मन्दिर पहिले यहाँ थियो?

हो। थियो। तर, ८७ वर्ष पहिले थियो।

हिजोअस्ति त देखिन्थेन नि?

हो, थिएन।

१९९० सालको भुइँचालोले ध्वस्त भएपछि मन्दिर भएकै ठाउँमा हिजोअस्तिसम्म बज्रको थुप्रो लगाइएको एउटा गुम्बज आकृति मात्र थियो।

९० सालमा भूकम्पले भत्किएपछि जुद्धशम्शेरको पालामा यसलाई यसरी गुम्बज शैलीको छानो हालेर जसोतसो तयार पारिएको थियो। यो संरचना केही वर्षअघिसम्म पनि यसै रुपमा देखिन्थ्यो।

जतिबेला यो मन्दिर आफ्नो असली रुपमा उभिएको थियो, त्यतिबेला यस्ता संरचनाको दस्तावेजीकरण गर्ने प्रचलनै थिएन। इतिहासको त्यो कालखण्डमा हिजोआजजस्तो मोबाइलमै क्यामरा त कल्पना भन्दा पनि बाहिरको कुरा थियो। त्यसैले नजिकबाट खिचिएको तस्बिरधरि थिएनन्। न त सत्यमोहन जोशीजस्ता एकाधबाहेक त्योबेला सचेत अवस्थामा मन्दिर देखेका मानिस नै बाँचेका छन्। यस्तो अवस्थामा समुदायको स्मरणबाट समेत मेटिइसकेको त्यो मन्दिरका प्रत्येक संरचनाहरु उस्तैगरि उभ्याउन कसरी सम्भव भइदियो?

त्यो सम्भव गराउने काम एउटा चित्रले गरिरहेको छ।

हो, एउटा चित्रले।

त्यो पनि जंगबहादुर राणा प्रधानमन्त्री भएका बेला कुनै विदेशीद्वारा कोरिएको चित्र।

पख्नुस्।

यस मन्दिरसँग जोडिएको रोचक प्रसंग यतिले पनि सकिँदैन।

हेर्दा उस्तै देखिए पनि यसको कथा यस दरबार स्क्वायरका तमाम अन्य मन्दिर वा भवनहरु भन्दा बेग्लै छ। यस फराकिलो परिसरका सबैजसो मन्दिर र दरबारहरु मल्लकालीन राजाले बनाएका हुन्।

तर, यो मन्दिर चाहिँ कुनै राजाले बनाएका थिएनन्।

मल्लकालमै यस मन्दिरको निर्माण जनस्तरबाट भएको थियो।

त्यसैले त भाइदेगः।

आउनुस्, यो रोचक कथाको यात्रा सुरुबाटै गरौं।

राजाको आँगनमा जनताको मन्दिर

१९९० सालको भुइँचालोले पाटन दरवार स्क्वायरका थुप्रै संरचना नष्ट गरेको थियो। भत्किएजति सबैको पछि पुनःनिर्माण भयो। विशेष गरेर राणाकालीन प्रधानमन्त्री मोहनशम्शेरका बेलामा राज्यको ढुकुटी प्रयोग गरेर यी संरचना फेरि तयार पारिएका थिए।

तर, भाइदेगः मन्दिरले भने आफ्नो पुरानो स्वरुप अर्थात् पेगोडा शैलीमा उभिन पाएन। यसलाई मुगल शैलीको झल्को आउनेगरि बज्रको ‘टोपी’ लगाउने काम मात्र गरियो। भग्नावशेषको रासबाट टिपिएको मन्दिरको गजुरलाई त्यस गुम्बज आकृतिको सबैभन्दा माथि राखियो र, जसोतसो कामचलाउ देखिनेगरि छाडियो। अर्थात्, सस्तोमै सल्टाइयो।

किन?

‘राज्यकोषबाट पुननिर्माण हुँदा यो एउटा मन्दिरलाई पैसा नपुगेकोले बाँकी राखियो भनेर पत्याउन मुस्किल पर्छ,’ स्थानीय बुढापाकाहरु भन्छन्, ‘सायद राजाले बनाएको दरबार क्षेत्रमा जनताका तर्फबाट बनेको एउटै मन्दिर भएकाले यसलाई फेरि ठड्याउनु तत्कालीन राणा शासकले आवश्यक ठानेनन्।’

यो दरबार बनाउने व्यक्ति थिए, फर्पिङतिरबाट आएका एक सर्वसाधारण भगीरथ भैया। उनी पछि चौतारिया (प्रधानमन्त्री) बन्न पुगे। तत्कालीन राजा श्रीनिवास मल्लका अत्यन्त विश्वासिला भगीरथ

भैयाले जनतासँग मिलेर सन् १६९७मा यस मन्दिरको निर्माण गराएका थिए।

उपत्यकाको काशी कनेक्सन

हाम्रो लेखपढमा ऐतिहासिक काठमाडौं उपत्यकालाई बाह्य सम्पर्कबाट ओझेलमा परेको स्थान भनेर बुझाउने गरिएको छ। तर, दरबार स्क्वायरको एउटा कुनामा रहेको यस मन्दिरले चार सयवर्ष भन्दा पहिलेको उपत्यका र बाह्य संसारबीचको सेतु बुझ्न सहयोग गर्छ। त्यो हो काशी विश्वनाथसँगको ऊबेलादेखिको सम्बन्ध।

पाटनको भाइदेग:। तस्बिर: बर्षा शाह

सन् १६९६ मा आजको बनारस र उतिबेलाको काशीस्थित विश्वनाथको मन्दिरलाई ध्वस्त पारेर औरंगजेबले ज्ञानवापी मस्जिद उभ्याइदिए। त्यसले हिन्दू जगतमा उथलपुथल मच्चाइदियो। शिवजीको यो मन्दिरलाई भारतीय उपमहाद्वीपकै एउटा मुख्य केन्द्रका रुपमा मान्दै आएका हिन्दूहरुको निम्ति उनीहरुको आस्थाको केन्द्र बिटुलो बन्न पुग्यो।

उपत्यकाबाट महत्वका साथ काशी विश्वनाथको यात्रा गर्नेहरुको भावनामा यसरी चोट पुगेपछि तत्कालीन चौतारिया भगीरथ भैयाले विश्वनाथकै मन्दिर पाटनमा बनाउने निधो गरे। यो त्यही प्रयासको प्रतिफल थियो। काशी विश्वनाथकै शिवलिङ्गसँग मिल्दोजुल्दो मूर्तिसहितको भव्य मन्दिर तयार भएपछि त्यतिबेला वरपरका राज्यहरुबाट समेत दर्शनार्थीलाई निम्त्याइएको र उनीहरुलाई बसोबासकै निम्ति लामो पाटीको समेत निर्माण गरिएको थियो। पुल्चोकबाट जाँदा मंगलबजार पुग्नेबित्तिकै लम्तन्न लम्बिएको यो ‘लाम्पाटी’मा अहिले माथितिर क्याफे र तल विभिन्न सोभिनियर पसल एवं बैंकका एटिएमहरु देख्न सकिन्छ।

यसरी काशी विश्वनाथको मन्दिरकै रुप प्रतिस्थापन गरे पनि भाइ (भगीरथ भैया)ले बनाएकाले यो मन्दिर भाइदेगः का नामबाट चिनिन पुग्यो। यसलाई विशेश्वर मन्दिर भनेर स्थानीयले पुज्छन्।

लामो अन्तरालपछि आफ्नै रुपमा

जनस्तरबाट बनेको यस मन्दिरलाई फेरि जनस्तरबाटै पुरानो स्वरुपमा उभ्याउने प्रयासको थालनी चाहिँ सन् २०११ बाट गरिएको थियो। त्यतिबेला अग्रज पत्रकार, बैंकर र स्थानीय समाजसेवीले यसको अग्रसरता लिए । एउटा कमिटि पनि गठन गरियो जसको संरक्षक र अध्यक्षमा संस्कृतिविद् सत्यमोहन जोशीलाई राखियो।

यसरी सुरु भएको प्रयासमा पैसा जुटाउन त्यति गाह्रो परेन। ललितपुर महानगरपालिका, बैंकर पृथ्वीबहादुर पाण्डे, नर्वेजियाली दूतावास र ललितपुरकै स्थानीय वासिन्दाबाट रकम संकलन हुनथाल्यो।

छ वर्षअघि ज्यावल चलाएर गुम्बज आकृतिको मन्दिर भत्काउने कामको थालनी गर्दै सत्यमोहन जोशी। तस्बिरः गिरीश गिरी

पैसाको लगभग चाँजोपाँजो मिलेपछि यो मन्दिर उभ्याउने कामको जिम्मा ‘काठमाडौं भ्याली प्रिजरभेसन ट्रष्ट’ (केभीपीटी)लाई दिइयो।

‘कामको थालनी गर्दा चार करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो,’ केभीपीटीका प्रमुख रोहित रञ्जितकार भन्छन्, ‘काम सुरु गर्दा चाहिँ त्यसभन्दा बढी लाग्न थाल्यो।’

जे होस्, सुरुकै हिसाबले कोष जुटेपछि मन्दिर बनाउने कामको थालनी नगर्दै फेरि पनि अड्किने परिस्थिति जन्मियो।

त्यो कारण थियो राष्ट्रसंघीय सम्पदा निकाय (युनेस्को)। उसले यो स्थललाई जतिबेला विश्व सम्पदा सूचीमा राखेको थियो, त्यतिबेला त उही बज्रको गुम्बज आकृति नै थियो। अब फेरि त्यो आकृतिलाई फोडेर अर्को संरचनामा मन्दिर उभ्याउन मिल्दैन थियो।

‘यो सामान्य स्थानको संरचना नभई विश्व सम्पदा सूचीमा परेको स्थान थियो,’ पुरातत्व विभागका पूर्व महानिर्देशक भेषनारायण दाहाल भन्छन्, ‘युनेस्कोको पूर्व स्वीकृति नभई त्यसलाई फोड्न सम्भव भएन।’

त्यसका निम्ति सबैभन्दा पहिले मन्दिरको वास्तविक स्वरुप अहिलेको जस्तो नभइ बेग्लै थियो भन्ने प्रमाण आवश्यक पर्थ्यो। निर्माण अभियानमा लागेकाहरुले त्यो प्रमाण पनि उपलब्ध गराए। त्यसपछि विभागले ‘हेरिटेज इम्प्याक्ट एसेसमेन्ट’समेत गराएको दाहाल सुनाउँछन्।

यसरी सबै निकाय मिलेर युनेस्कोलाई वस्तुस्थिति बुझ्न सहयोग गरेपछि बल्ल उताबाट सहमतिपत्र प्राप्त भएको थियो। त्यसपछि सन् २०१५ ताका भत्काउने क्रम सुरुभयो। पुरानो गुम्बज आकृतिको संरचनामा संस्कृतिविद् सत्यमोहन जोशीले ज्यावल चलाएरै त्यतिबेला यो मन्दिर निर्माणको उद्घाटन गरेका थिए।

‘तर, दुर्भाग्य,’ निर्माण कार्यको नेतृत्व गरिरहेका रोहित रञ्जितकार भन्छन्, ‘उद्घाटन गरेको केही

समय पनि नबित्दै ०७२ सालको महाभूकम्प आइदियो।’

महाभूकम्प पछिको अर्को महाभूकम्प

९० सालको महाभूकम्पले गुमाएको अतीतको गौरवलाई उभ्याउन खोजिरहेकै बेला ०७२ सालमा अर्को महाभूकम्प नेपालले झेल्नपुग्यो। त्यसले ललितपुर दरबार स्क्वायरका बचेखुचेका तमाम मन्दिर र दरबारहरु पनि क्षतिग्रस्त पारिदियो। कतिपय भीमकाय मन्दिरहरु त भुइँभरि माटो बनेरै छरिए।

‘भर्खर ढलेका मन्दिरको काम तत्कालै सुरु गरिएन भने त्यसका सामग्रीहरु यताउता परेर र उचित राखनधरनको अभावमा बिग्रिएर जटिल हुँदै जान्थ्यो,’ पुनः निर्माणमा संलग्न रञ्जितकार भन्दै थिए, ‘त्यसैले पहिले ०७२ सालको भुइँचालोले भत्काएका मन्दिरहरु उभ्याइसकेपछि फेरि यो १९९० सालमा भत्केको मन्दिरमा हात हाल्ने निधो गर्‍यौँ।’

यसरी भाइदेगःको पुननिर्माण पछाडि धकेलियो।

विस्मृतिमा पुगेको मन्दिरलाई ब्यूँताउने चित्र

मन्दिर बनाउने जिम्मा ‘कन्जर्भेसन आर्किटेक्ट’ रोहित रञ्जितकारलाई दिइयो। तर, उनी जन्मिनुभन्दा पनि धेरै अगाडिको त्यो मन्दिरलाई उभ्याउने पो कसरी? यो ठूलो चूनौती थियो।

यसरी तयार पार्दा उतिबेलाको मन्दिरको शैली निकाल्ने मात्र होइन, पूर्णतया हूबहू बनाउनुपर्ने हुन्थ्यो। काठका मसिना बुट्टादेखि पर्खालका मिहिन डिजाइनसम्म।

‘पुराना दस्तावेज नै यस्ता भत्किएका मन्दिरलाई चिन्ने मुख्य आधार हुने गर्छन्,’ रञ्जितकारले भनेका थिए, ‘हामीले त्यसैमा उभिएर प्रत्येक कुनाको निर्माण गर्नुपर्ने हुन्छ।’

ललितपुरकै रैथाने रञ्जितकारले उहिलेदेखि पाटन दरवार स्क्वायरस्थित भण्डारखालमा पुराना काठको थुप्रो लागेको देखेका थिए। त्यसरी थन्क्याइएका काठका संरचनाहरु के को थियो भन्ने चाहिँ पत्तो थिएन।

त्यो पत्तो दिने काम गरिदियो एउटा पुरानो चित्रले। डेढ सय वर्षअघि त्यो चित्र नेपाल आएका एउटा विदेशीले बनाएका थिए।

जंगबहादुर राणा प्रधानमन्त्री भएकै बेला अंग्रेज चिकित्सक हेनरी एम्ब्रोज ओल्डफिल्ड नेपाल आएका थिए। तत्कालीन बेलायती दूतावास (रेजिडेन्सी)का सर्जन ओल्डफिल्ड सन् १८५० देखि १८६३ सम्म नेपालमा सेवारत् थिए। यहाँ रहँदा उनी चिकित्सा सेवामा मात्रै सीमित रहन सकेनन्। उपत्यकाको सुन्दरताले मोहित ओल्डफिल्ड भित्रको चित्रकार अझ बढी जागृत हुनपुग्यो। चित्रकला मार्फत् तत्कालीन नेपालको जाति, भूगोल र सम्पदालाई दस्तावेजीकरण गरिदिएका ओल्डफिल्डका कृतिहरु आज नेपालसँग उसको पुरानो सम्पदालाई उतिबेलाकै स्वरुपमा जोड्ने महत्वपूर्ण सम्पत्ति बन्न पुगेको छ। तीमध्ये कतिपय अहिले त अस्तित्वमै छैनन्। त्यसलाई हेर्नका निम्ति पनि उहि ओल्डफिल्डका चित्रहरु नै नियाल्नुपर्ने हुन्छ। त्यसैमध्येको एक थियो भाइदेगः को चित्र।

ओल्डफिल्डले बनाएको भाइदेगःको चित्रले एउटा अर्को रहस्योदघाटन पनि गरिदियो। रञ्जितकारले दरबार स्क्वायरस्थित भण्डारखालमा देख्दै आएको काठको थुप्रो त त्यहि भाइदेगःको भत्किएको संरचना पो रहेछ।

थुपारेर राखिएको त्यसै रासमा ओल्डफिल्डले कुँदेकै आकृतिका २१ वटा टुँडालहरु भेटिए। भाइदेगः मन्दिरलाई बुझ्ने सबैभन्दा मुख्य आधार त्यहि टुँडालबाट सुरु भयो।

टुँडालपछि पनि ओल्डफिल्डकै चित्रका आधारमा मन्दिरका नष्ट भएका अन्य भागहरु तयार पार्न टोलीलाई सजिलो भएको छ। चित्रहरुमा मन्दिरका भित्री भागहरुको कारिगरी पनि मिहिनेतका साथ उल्लेख भएका छन्। ओल्डफिल्डका चित्रहरु बाहेक अष्ट्रियाको ब्रान्ट कलेक्सनबाट फेलापरेका तस्बिरहरु पनि उतिबेलाको भाइदेगः मन्दिरलाई बुझ्न सहयोगी भएका छन्। तस्बिर पनि झण्डै तीन सय मिटर परबाट अरु नै संरचनालाई केन्द्रित गरेर खिचिएको हुनाले मूल आधारका रुपमा उही ओल्डफिल्डकै चित्र रहन पुगेको छ।

‘फेलापरेका २१ वटा टुँडाल काष्ठकलाको उतिबेलाकै उच्चतम नमूनाका रुपमा देखिएको छ,’ रञ्जितकार भन्छन्, ‘ललितपुरकै मंगाहिटीको ठीक विपरित दिशामा पर्ने विश्वेश्वरा मन्दिरमा पनि ठ्याक्कै त्यस्तै उदाहरण भेटिएको अवस्थामा यी दुवै मन्दिर एकै समयमा उस्तै काष्ठकला प्रयोग गरेर बनेको देखिन्छ।’

यसरी ओल्डफिल्डको चित्रलाई मूल आधार मान्दामान्दै पनि विश्वेश्वरा मन्दिरबाट पनि धेरै कुराको ‘रेफरेन्स’ लिन सजिलो परेको रञ्जितकार बताउँछन्।

‘त्योबेलाको यति महत्वपूर्ण मन्दिरलाई अहिलेको अवस्थामा पुनः उभ्याउँदा सम्झौता गर्नु कदापि उचित हुन्थेन,’ रञ्जितकार भन्छन्, ‘त्यसले गर्दा पनि यो परियोजना झनै महँगो बन्दै गएको हो।’

यसरी अध्ययन, अनुसन्धान गर्दै काठलाई खोप्दै जाँदा भाइदेगःको चारतिर चारवटा ढोका बनाउन मात्रै पनि निरन्तर कामगरेका कालिगढहरुलाई दुई वर्ष लागेको रञ्जितकार सुनाउँछन्।

बीचमा ०७२ सालको अर्को महाभूकम्प आइदियो। भुइँचालो गएको लगभग साढे तीन वर्षपछि भर्खर ढलेका संरचनाका कामबाट अलिकता राहत मिल्न थाल्यो। त्यसपछि केभीपीटीले फेरि भाइदेगःमा हात हाल्न सुरु पर्‍यो।

‘भुइँचालोले बाँकी सबै कुरामा नोक्सान पारे पनि एउटा कुरामा हामीलाई फाइदा पनि दिएको थियो,’ उनी भन्छन्, ‘हाम्रा तमाम सम्पदाहरुको जग कस्तो छ भनेर खाल्डो खनेर हेर्ने अनुमति कहिल्यै नदिएको पुरातत्व विभागले भूकम्पपछि भने त्यो अनुमति दिनथाल्यो।’

यसले ठूलो फरक पार्थ्यो।

मन्दिरलाई जमिनमाथि मात्रै छुन वा चलाउन पाएका संरक्षणकर्मीले अब भने जमिनभन्दा मुनीको अवस्था पनि अध्ययन गर्न पाउने भए। त्यसले पुनः निर्माणमा खटिने मानिसको आत्मबल र सन्तुष्टिको मात्रामा ठूलो फरक पार्ने रञ्जितकार सुनाउँछन्।

‘भुइँचालोले क्षतिग्रस्त दरबार स्क्वायरकै चार नारायण अनि पुरै भत्किएको हरिशंकर मन्दिरलाई फेरि उभ्याउने क्रममा हामीले जगको माटोको परीक्षण गर्न अनुमति पाएका थियौं,’ रञ्जितकार भन्छन्, ‘त्यो मौका छोपेरै यो भाइदेगः मन्दिरको पनि जग परीक्षण गर्‍यौँ।’

सम्पदा संरक्षणमा खटिँदै आएका रञ्जितकारलाई त्यतिन्जेलसम्म मन्दिर भनेपछि जग पनि परम्परागत हिसाबकै मोटामोटी सबैको एकै हुने होलान् भन्ने लागेको थियो। तर, होइन रहेछ। सबै मन्दिरका बेग्लाबेग्लै हुने रहेछन्।

‘उता पल्लोतिर चार नारायण र हरिशंकर मन्दिरको जग राम्रोसँग बनाइएको देखियो,’ उनले भने, ‘जबकि माथि त्यति उच्चस्तरको काष्ठकला प्रयोग गरिएको यस भाइदेगः मन्दिरमा भने जग चाहिँ असाध्यै कमजोर रहेछ।’

उनका अनुसार कतिपय ठाउँमा इँटा नभइकन ढुँगाको डल्लाडल्लीहरु राखेर काम चलाइएको पाइयो। सायद त्यसैले पो ९० सालको भुइँचालोमा ध्वस्तै हुनेगरी ढलेको थियो।

‘यस्तो अवस्थामा पहिले जगलाइ नै बलियो नबनाई माथि माथि मात्रै राम्रो बनाउनुको अर्थ देखिएन,’ उनले भने, ‘त्यसैले पुरानो जगको चारैतिरको माटोहरु निकालेर त्यसलाई बेल्ट लगाएजस्तो गरेर चारैतिरबाट बाँधिदियौं।’

भूकम्पले चर्किएको ढोका।

अब भने भाइदेगः मन्दिर जगैदेखि बलियो बन्नपुगेको छ।

यसरी एकातिर मन्दिरको काम जगबाटै गर्नुपरेकोले समय पनि थपिन पुग्यो भने बजेटमा पनि जगले मात्रै ८० लाख रुपैयाँ बढाइदियो।

पहिलो तल्लाको काठको काम र जगको काम सकिएपछि इँटा ल्याएर एक तल्ला उठाउने काम अहिले सम्पन्न भइसकेको छ। यस मन्दिरमा प्रयोग गर्नका निम्ति परम्परागत इँटा (डाँची अप्पा) पनि नयाँ बनेको नभइ पुरानै भत्किएका घरहरुको जम्मा गरेर ल्याइएको रञ्जितकार बताउँछन्।

‘हिजोआजका नयाँ डाँची अप्पाहरु असाध्यै कमजोर निस्किरहेको बेला यी पुराना इँटाहरु कतिसम्म बलिया छन् भने,’ रञ्जितकारले भित्तातिर देखाउँदै भने, ‘मार्बल काट्ने मेशिनले समेत यसलाई काट्न मुश्किल परेको थियो।’

यसरी सबैतिर गुणस्तर कायम गर्दै अघि बढ्दा र एक दसकजस्तो अन्तरालमा अझ विशेषगरी भुइँचालोपछि बढेको महँगी पनि थपिँदा पछिल्लो समय त बजेट नभएरै पनि यो मन्दिरको काम रोक्नुपर्ने अवस्थामा पुगेको थियो।

‘अहिलेलाई काम थालनी गर्न फेरि रकम जुटेको छ,’ रञ्जितकार भन्छन्, ‘इन्भेस्टमेन्ट बैंकले पछि फेरि थप २५ लाख रुपैयाँ दिएको छ भने ललितपुर दरबार क्षेत्रको पुननिर्माणका लागि एक करोड रुपैयाँ सहयोग गरेको हिमालयन बैंकले त्यसमध्ये तीस लाख रुपैयाँ यसमा लगाउन स्वीकृति जनाएको छ।’

यतिले मात्रै त मन्दिरको निर्माण सम्पन्न हुने कुरै आउँदैन।

‘यस वर्ष कोभिडले गर्दा जनस्वास्थ्यतर्फ दायित्व बढेको भएता पनि अर्को वर्ष राम्रै रकम प्रदान गर्ने प्रतिवद्धता महानगरप्रमुख चिरिबाबु महर्जनबाट मिलिसकेको छ,’ रन्जीतकार भन्छन्, ‘त्यसबाहेक राष्ट्रिय पुननिर्माण प्राधिकरणले पनि एउटा फण्ड यसतर्फ परिचालन गर्ने प्रयास थालेको छ।’

काम अगाडि बढेपछि अन्य इच्छुक दाताहरु पनि आफ से आफ देखापर्दै जाने भएकाले अब केही समय भित्रै भाइदेगा मन्दिर उसको पुरानै स्वरुपमा उभिने दाबी रोहित रञ्जितकारको छ।

‘९० सालको भुइँचालोले भत्काएपछि ललितपुरका टोलहरुमा त्यत्तिकै छाडिएको अरु पनि महत्वपूर्ण मन्दिरहरु छन्,’ संस्कृतिविद् सत्यमोहन जोशी भन्छन्, ‘यो भाइदेगःको उदाहरणले पुरानो वैभवलाई फेरि ब्यूँताउन टोल टोलमा जागरण ल्याइदिए असाध्यै खुशी लाग्ने थियो।’

चैत ४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्