उप–निर्देशक उज्वल प्रजापतीसँग भिडियो अन्तर्वार्ता

चैतभरिमै आउँछ काठमाडौँमा मेलम्चीको पानी

काठमाडौँ – मेलम्ची खानेपानी आयोजना अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका उप–निर्देशक उज्वल प्रजापतीले चैत महिनामै काठमाडौँका धारामा मेलम्चीको पानी पुग्ने दाबी गरेका छन्।

उनका अनुसार १५ दिनमा सुन्दरीजलबाट पानी छोडिने छ। त्यसपछि पानी परीक्षण गर्न एक हप्ता लाग्ने छ।

‘पानी परीक्षण गर्न दुई–तीन चरण लाग्छ। एक चरणको परीक्षण सकिसकेको छ। अर्को चरणको परीक्षण भइरहेको छ’, उनले भने, ‘ट्याङ्कीमा पानी प्राप्त भएपछि फ्लसिङ गर्ने र परीक्षण गर्न थप दुई हप्ता समय लाग्छ। यो सबै काम सकेपछि नयाँ पाइपलाइनबाट धारामा पानी वितरण गर्दै जाने हो।’

काठमाडौँ उपत्यकामा सुन्दरीजलबाट आएको पानी सञ्चय गर्न ७४ हजार ५ सय घन मिटर क्षमताका ९ वटा ट्याङ्की निर्माण गरिएको छ। थप दुई वटा ट्याङ्कीको केही काम बाँकी रहेको उनले बताए।

बालाजु, पानीपोखरी, बाँसबारी, आरुबारी, महांकाल चौर, अनामनगर, कीर्तिपुर, तिंगेनी, खुमलटार, मिनभवन र कटुन्जेमा पानी ट्याङ्की छन्।

यी ट्याङ्कीहरुबाट पाइपलाइनमा पानी छोडिने हो। तर अहिले पाइपलाइनको परीक्षण काम भइरहेकाले केही काम पूरा हुन बाँकी छ।

हाल ११ हजार किलोमिटर वितरण पाइपलाइनमध्ये ८–१० किलोमिटर मात्र काम बाँकी रहेको उपनिर्देशक प्रजापतिले बताए।

मेलम्चीको पानी सुन्दरीजलमा । तस्बिर : बर्षा शाह/देश सञ्चार

‘लगभग काम सम्पन्न भइसकेको छ। दुई सय किलोमिटर पाइपलाई ट्याङ्करको पानीले परीक्षण गरियो’, उनले भने, ‘बाँकी मेलम्चीको पानी आएपछि मात्र परीक्षण गर्न सकिने भयो। ठूलो क्षेत्रमा ट्याङ्करको पानीले परीक्षण गर्न सम्भव भएन।’

उनका अनुसार मेलम्चीको पानी आइसकेपछि सो पानी राखेर पाइपलाइनको अन्तिम चरणको परीक्षण गरिनेछ।

उनले भने, ‘पानी राखेर अन्तिम चरणको परीक्षण हुन्छ। किनभने बाटोघाटो बनाउँदा या ढल निकासको काम गरिरहेका बेला पाइपमा क्षति पुग्न सकेको हुन्छ। सोझै परीक्षण गर्दा लिक हुने सम्भावना धेरै हुन्छ। त्यस जोखिमलाई ध्यानमा राखेर मर्मत गर्दे परीक्षण गरेर जानुपर्ने भएकाले समय लाग्ने हो।’

उनले यस्ता ‘लिकेज’ भइरहेको कसैले देखेमा मेलम्ची खानेपानी आयोजना अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयमा सम्पर्क गर्न आग्रह गरे। यसरी आफूहरुलाई जानकारी आएमा काम गर्न सहज हुने उनको भनाइ छ।

यस्तै नयाँ तथा पुराना संरचनाबाट खानेपानी वितरण गरिने उनले बताए। पुराना संरचनाहरुबाट हप्ताको एक–दुई घण्टा पानी ‘फ्लो’ भइरहेको उनले जानकारी दिए।

‘पुराना संरचनामा हप्ताको एक दुई घण्टा पानी फ्लो भइरहेको छ। यसमा फ्लो त बढ्छ तर प्रेसर खासै हुँदैन। नयाँ संरचनाबाट पानी दिँदा प्रेसर र फ्लो बढ्छ,’ उनले भने।

तर खानेपानी वितरणका संरचनाहरु धेरै वर्ष पुराना भएकाले जोखिमयुक्त रहेको गुनासो आइरहेको छ। उनका अनुसार ती जीर्ण अवस्थामा रहेका पुराना संरचनाको मर्मत गर्दै काम गरिनेछ।

‘अब सम्पन्न गर्ने काम भनेको कटुन्जेको पानी पोखरी त्यो सम्पन्न गर्छौँ। रिङ रोडभित्र पनि कालिमाटी स्वयम्भू ताहचल, विशालनगर, बालुवाटार क्षेत्रमा पुरानै पाइपलाइन छ। त्यहाँ नयाँ पाइपलाइन राख्नु पर्ने भएकाले काम सुरु भइसकेको छ। कपन मण्डिकाटारमा काम सुरु भइसकेको छ,’ उनले भने, ‘त्यसका लागि खानेपानी मन्त्रालयको संयोजनमा कसरी काम गर्ने भनेर छलफलहरु भइरहेको हुन्छ।’

यस्तै नयाँ पाइपलाइनबाट पहिलो चरणमा चक्रपथ क्षेत्रमा पानी वितरण गरिने उनले बताए।

पाइपलाइन नबनेको क्षेत्रमा भने पुरानै संरचनाबाट पानी वितरण गरिने पनि उनले बताए। यसका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र आयोजना कार्यान्वयन निर्देशनालयको समन्वयमा काम हुने उनले बताए।

आयोजना कार्यान्वयन निर्देशनालयले संरचनाका सम्पूर्ण काम सम्पन्न गरेपछि केयुकेएलले धारामा पानी वितरण गर्ने हो। काम सम्पन्न भएपछि सुरुमा नयाँ तथा पुराना संरचनाबाट नेपाल खानेपानी गुणस्तर मापदण्ड अनुसारको गुणस्तरीय पानी वितरण गर्ने उनले बताए।

काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता भएपनि दैनिक ८–१६ करोड लिटर मात्र आपूर्ति हुनसकेको उनको भनाइ छ। अब मेलम्चीको पानी काठमाडौँ आएपछि त्यसमा १७ करोड लिटर पानी थपिने उनले जानकारी दिए।

उनले देश सञ्चारसँग भने, ‘मेलम्चीको पानी काठमाडौँ आएपछि याङ्ग्री र लार्के खोलाको पानी ल्याउने काम सुरु हुन्छ। त्यसका लागि तयारी भइरहेको छ। मेलम्ची दोस्रो फेजका लागि सुन्दरीजलबाट चाबेहलसम्म थप पाइपलाइनको काम भइरहेको छ।’

 

चैत ५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्