चार्टर्ड विमानबाट फर्किएकाहरु भन्छन्: बर्मामा बस्न सकिने अवस्थै भएन

काठमाडौँ- सैनिक ‘कु’पछि द्वन्द्वग्रस्त बनेको म्यानमारबाट उद्धार गरेर नेपालीहरु फर्काउने क्रम सुरु भएको छ।
त्यसै सिलसिलामा एउटा समूह शुक्रबार चार्टर्ड विमानबाट नेपाल फर्कियाे। श्री एयरलाइन्समार्फत उनीहरु स्वदेश फर्किएका हुन्।
विमानमा ४ जना बालबालिकासहित ६२ जना आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ। यसरी आएकाहरु रङ्गुनलगायत अन्य सहरहरुबाट फर्काइएकाहरु पनि छन्।
त्यसमध्येमा करिब १७ जना थेरावादी बौद्ध भिक्षु भिक्षुणीहरु थिए।
थेरावाद बुद्धिज्म पढ्नका लागि ९ वर्षदेखि म्यानमारमै रहेका जेनार किदाले त्यहाँ बस्न सक्ने स्थिति नभएपछि फर्केर आउन बाध्य भएको बताए। उनलाई पाली भाषाको यो नाम बौद्ध विहारले नै दिएको रहेछ।

उनी राजधानी रंगुनस्थित थेरावादी विहारमा बसेर पढिरहेका थिए। उक्त विहारमा आफू एकजना मात्र नेपाली रहेको उनले बताए।
‘अचानक मिलिटरी शासकले कब्जामा लिएपछि त्यहाँ अशान्ति भयो’, उनले भने, ‘अहिले आएर विद्रोहीहरु पनि सशस्त्र रुपले प्रतिकार गर्ने कुरा गर्न थालेपछि अब अवस्था झनै भयावह हुने देखिएको छ।’
त्यहाँका जनताहरु नै आन्दोलनमा उत्रिएको र कतिपय गुम्बाहरुमा समेत अश्रु ग्याँसहरु फालिन थालेपछि भिक्षु बस्ने ठाउँहरु पनि असुरक्षित भएको उनले बताए। उनका अनुसार त्यहाँका फरक–फरक गुम्बामा अन्य मुलुकका विदेशी भिक्षुहरुको पनि बसोबास रहेकामा उनीहरु पनि धमाधम आ–आफ्नो देश फर्किन थालिसकेका छन्।
‘प्राय सबै फर्किसकेका छन्’, उनले भने,’आफ्नो स्वेच्छाले अझैपनि बस्न चाहने थोरै विदेशी भिक्षु उतै छन्।’
मकवानपुरको दामनका उनी विद्यार्थी भिसामा त्यहाँ बस्दै आएका थिए। पछिल्लो समय भिसा पनि सकिन लागेकै बेला संकट बढेपछि फेरि अवधि लम्ब्याउन अन्याैल थियाे। ‘मातृभूमि टेक्दा रमाइलो लागिरहेको छ’, त्रिभुवन विमानस्थलमा ओर्लिएपछि किदाले भने।
उनलाई मिनभवनस्थित विश्वशान्ति महाबिहारले अध्ययनका निम्ति बर्मा पठाएकोमा अहिले उद्धारका निम्ति बन्दोबस्त मिलाउने काम पनि त्यसै महाबिहारले गरेको जानकारी उनले दिए। त्रिभुवन विमानस्थलमा स्वागत गर्न पनि महाविहारकै टाेली उपस्थित देखिन्थ्याे।
बर्मामा सैनिक शासन हटेपछि र आन्दोलन रोकिएपछि मात्रै अब फर्कने किदाले बताए। यसभन्दा पहिले पनि बर्मामा सैनिक शासन रहँदाकै बेला उता बसेका अर्का भिक्षुले अहिले भने देशै आन्दोलनमय भएको कारण त्यहाँ बस्न सक्ने स्थिति नरहेको स्पष्ट पारे।
शुक्रबारको चार्टर्ड विमानबाटै बर्मामा एक वर्षदेखि जनस्वास्थ्यकर्मीका रुपमा कार्यरत डा. किशोरी महत पनि श्रीमान र दुई बच्चासहित नेपाल फर्किएकी छिन्।
बर्मामा अवस्था बिग्रँदै गएपछि त्यहाँस्थित नेपाली दूतावासले नै समूह बनाएर चार्टर्ड विमानको बन्दोबस्त मिलाएपछि आफूहरु पनि फर्किएको महतले बताइन्। एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको निम्ति कार्यरत महतका अनुसार त्यहाँ व्यापारदेखि लिएर बैंकिङ क्षेत्रमा काम गर्ने नेपालीहरुको पनि उल्लेख्य संख्यामा उपस्थिति छ।
‘रंगुनस्थित मेरो अपार्टमेन्ट अहिले पनि आन्दोलनबाट खासै प्रभावित थिएन,’ उनले भनिन्, ‘तर, लगातार बत्ती जाने र इन्टरनेट अवरुद्ध हुने भएपछि केटाकेटीको अनलाइन क्लास पनि रोकिन थालेपछि नेपालै फर्कने निधो गरेकी हुँ।’
बर्मामा रहेका साथीहरुसँग उपलब्ध भएसम्मका माध्यमबाट सम्पर्क गर्दै हेडक्वाटरसँग चाहिँ नेपालबाटै आफूले सहज संवाद गर्नसक्ने भएकाले अनलाइनबाटै अब ‘रिमोट वर्किङ’का हिसाबले काम गर्ने उद्देश्यका साथ नेपाल फर्किएको उनले स्पष्ट पारिन्।
अपार्टमेन्टमा बस्दा महतले आन्दोलनको प्रभाव महसुस गर्ने भनेकै बेलुकीपख टोलभरिले सामूहिक रुपमा बजाउने भाँडाको आवाज थियो। उनका अनुसार हरेक दिन बेलुकी ठीक आठ बजेपछि सबै घरहरुबाट त्यसरी भाँडा बजाएर विरोध प्रकट गर्ने गरिएको छ।
‘तर, आज अपार्टमेन्टबाट निस्केपछि भने रंगुनकै अन्य भेगमा बस्ने नेपालीहरुको अवस्थाबारे जानकारी पाउँदा म स्तब्ध भएँ,’ उनले भनिन्, ‘गोलीवारीका आवाजले रातभरि सुत्न नपाएका नेपालीहरुको कहालीलाग्दो भोगाइ पनि सुनेँ।’
त्यसैगरी आफूलाई अत्यन्त सुन्दर र व्यवस्थित लाग्ने रंगुन विमानस्थलको आज बिजोग देखेर पनि प्रभावित भएको महतले बताइन्।
‘भएभरका एसी पनि बन्द भएकाले एयरपोर्टमा खपीनसक्नु गर्मी थियो,’ उनले थपिन्, ‘पिउने पानीको पनि व्यवस्था थिएन।’
महतका अनुसार उक्त विमानस्थलका कर्मचारीहरु पनि यतिबेला नागरिक आन्दोलनमा सरिक भएकाले यस्तो अवस्था आएको हो।
आफू स्वास्थ्य क्षेत्रसँग जोडिएकोले जस्तोसुकै सरकार भए पनि काम गर्नका निम्ति खासै असर नपर्ने उनको भनाइ छ। त्यसैले उताको परिस्थिति साम्य भएपछि फर्किने जानकारी पनि महतले दिइन्।
‘त्यसबाहेक सरकार परिवर्तन भएपछि अब भिसाको अन्यौल पनि बढेर गएको छ,’ डा. महतले भनिन्, ‘हामीजस्तो काम गर्नजाने विदेशीका हकमा भिसासम्बन्धी कस्तो नीति लिइन्छ र कसरी दिइन्छ भन्ने कुराले सबैभन्दा प्रभाव पार्छ।’
गत फेब्रुअरी १ तारिखमा सेनाले निर्वाचित सरकारलाई च्यूत गरी सत्ता हातमा लिएको थियो। त्यसयता त्यहाँको सैनिक सरकार र प्रदर्शनकारीबीच दैनिक आमनेसामने भइरहेको छ। सेनाको गोली लागेर सयौँ जनाको मृत्यु भइसकेको छ।
सन् २०१० को जनगणना अनुसार बर्मामा झण्डै दुई लाख नेपालीको बसोबास छ। अहिले फर्कने नेपालीहरु भने ती उतै बसोबास गरेका नेपालीभन्दा पनि भ्रमण, अध्ययन वा रोजगारीका निम्ति पुगेका हुन्।
तस्बिरहरुः बर्षा शाह/देश सञ्चार।