एट्लान्टा गोलीकाण्ड

एसियनमाथि भइरहेको रंगभेद तथा घृणाको गरे बाइडेनले निन्दा

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकीहरुलाई घृणा र चेतावनीविरुद्ध बोल्न अपिल गरेका छन् । रंगभेदका घटना देख्दा पनि चुप रहनु अपराध सरह रहेकाले यस्ता घृणा तथा चेतावनीयुक्त गतिविधिविरुद्ध आवाज उठाउन आग्रह गरेका हुन् ।

स्थानीय समय अनुसार गएको मंगलबार बेलुका जर्जियाको एट्लान्टाका तीन मसाज पार्लरमा भएको आक्रमणमा ६ जना एसियन महिलासहित ८ जनाको ज्यान गएको थियो ।

जर्जिया पुगेका राष्ट्रपति बाइडेनले त्यहाँका एसियन–अमेरिकन नेताहरुसँग शुक्रबार भेट गरेका हुन् । त्यस क्रममा बाइडेनले अपराधका घटनाविरुद्ध बोल्न अपिल गरे ।

प्रहरीले अहिलेसम्म सो आक्रमण रंगभेदी मनोभावका कारण निर्देशित रहेको बताएको छैन । तर पछिल्ला महिनाहरुमा एसियन–अमेरिकनमाथि हिंसा तथा दुर्व्यवहारका घटना बढ्दै गएका बेला आक्रमण भएको हो ।

कोरोना भाइरसको महामारीका बेला पूर्वी एसियाली क्षेत्रका मानिसमाथि अमेरिकामा घृणाजन्य अपराध बढेको छ ।

राष्ट्रपति बाइडेनले रंगभेद रासै नराम्रो विष रहेको र त्यसले देशलाई लामो समयसम्म घाइते पार्ने बताए । सोही कारण सबै अमेरिकीहरु यसविरुद्ध लाग्नु पर्ने उनले बताएका हुन् ।

यस्तै राष्ट्रपति बाइडेनले कोरोना भाइरससँग सम्बन्धित घृणाजन्य अपराध सम्बन्धी विधेयक पारित गर्न संसदलाई सुझाव दिएका छन् । अमेरिकी संसदमा दुई एसियन–अमेरिकन सांसदले सो विधेयक दर्ता गरेका छन् ।

चैत ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्