हिमाल सफाइ अभियान-कसरी सफा गरिँदै छ ३५ हजार किलो फोहोर?

सफा हिमाल अभियान अन्तर्गत सन् २०१९ मा संकलित फोहोर लुक्लामा। तस्बिर : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – सगरमाथासहितका ६ हिमालबाट कम्तिमा ३५ टन अर्थात ३५ हजार किलो फोहोर संकलन गरि ल्याउने अभियानको तयारी अहिले तीव्र गतिमा भइरहेको छ।

नेपाल सरकारको आर्थिक सहयोगमा नेपाली सेनाको विशेष टोली सगरमाथा रेन्जका चार तथा अरु दुई हिमालबाट यो पटकको आरोहण सिजनमा फोहोर संकलन गरि ल्याउने ‘सफा हिमाल अभियान’ को तयारीका लागि हाल मुस्ताङ्गमा विशेष प्रशिक्षणमा छ।

सगरमाथा, लोत्से, पुमरी, आमादब्लम गरेर सगरमाथा शृङ्खलाका चार तथा मकालु र धौलागिरी हिमालबाट यो वर्ष फोहोर तथा मानव मलमुत्र र भेटिने शव एवम् मावन अंगहरु संकलन गरेर ल्याइने नेपाली सेनाको सफा हिमाल अभियानमा फोकल पर्सन मेजर आदित्य कार्कीले जानकारी दिए।

सगरमाथा आरोही समेत रहेका मेजर कार्कीसहितको ७२ जनाको टोली हाल मुस्ताङ्गको जोमसोममा रहेको सैनिक उच्च शिखर शिक्षालयमा एक्लिमटाईजेशन तालिममा छन्।

चैत १ गतेदेखि सुरु भएको तालिममा स्वास्थ्य, सञ्चार तथा सफाइमा खटिने प्रयोजनका सैनिक अधिकारीहरु छन्। ७२ जना मध्ये एकजना मात्रै महिला छन् र उनी चिकित्सक हुन्।

सफा हिमाल अभियान–२०२१ का फोकल पर्सन सेनानी कार्कीले भने, ‘पूरै सफाइ अभियानलाई तीन चरणमा विभाजन गरिएको छ। चैत भन्दा पहिले योजना बनाइएको र चैतदेखि फिल्डमा खटिएको हो। अहिले तालिम जारी छ।’

सफा हिमाल अभियानमा सामेल हुनका लागि प्रशिक्षणमा सेना । तस्बिर : सफा हिमाल अभियान

शुक्रबार (चैत ६ गते) सम्म रक क्राफ्ट एण्ड एक्लिमटाईजेशन तालिम गरेको टोली शनिबारदेखि हिम कला, उद्धार तथा हिमनदी क्षेत्रको विशेष प्रशिक्षणका लागि निलगिरी हिमालको हिमनदी क्षेत्रमा लागेको छ। चैत २१ गतेसम्म झण्डै १४ हजार पाँच सय फिटको उचाईमा रहेको निलगिरीको ग्लेसियरमा तालिम गरेपछि चैत २२ देखि २६ सम्म सहभागीहरुको प्रयोगात्मक परीक्षण तथा छनौट हुनेछ।

यो चरणको तालिममा हिमालमा उद्धारको काम गर्दै आएको हिमालयन रेक्यु एसोसिएशनका प्रतिनिधिहरु पनि क्षमता बिस्तारका लागि सहभागी हुँदै छन्।

सेनानी कार्कीले भने, ‘अहिले तालिममा रहेका ७२ जना बाट ४३ जना छनौट गर्ने छौँ। सफाइ अभियान हिमाल आरोहण जसरी नै सञ्चालन हुन्छ। सोही कारण अभियानका नेतृत्वकर्ताहरु सबैले विगतमा कम्तीमा सात हजार मिटर उचाईको हिमाल चढेको हुनु पर्छ।’

अरु सहभागीहरु पनि जोमसोमको आर्मी तालिम केन्द्रबाट कम्तीमा ६ हजार मिटर उचाईको हिमाल चढेकाहरु नै रहेको उनले बताए।
उनले भने, ‘त्यसबाहेक सञ्चार र स्वास्थ्य टोली छन्। हाइअल्टिच्युड स्वास्थ्यको तालिम लिएका डाक्टरसहितका स्वास्थ्यकर्मीहरु र सञ्चारको टिम पनि तालिममा छन्।’

वन तथा वातावरण मन्त्रालय र सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकाय तथा नेपाली सेनाबिचको सहकार्यमा अभियान सञ्चालन हुन लागेको हो। यो वर्षको अभियानका लागि साढे १२ करोड रुपैयाँ अनुमानित लागत तोकिएको छ। त्यसमा सरकारले १० करोड तथा बाँकी रकम सेना तथा सरोकारवाला निकायको तर्फबाट व्यवस्था गरिएको छ।

वन मन्त्रालयका प्रवक्ता सहसचिव प्रकाश लम्सालका अनुसार सेनाको नेतृत्वमा आफूहरुसहित सरोकारवाला निकायसँग सहकार्य र समन्वयात्मक भूमिका रहने गरि यो वर्ष हिमाल सफाई गर्न लागिएको हो।

कसरी हुँदैछ हिमाल सफाइ?

यारु झोबाट देखिएको निलगिरी हिमाल यहि हिमालको ग्लेसियरमा सेनाको टोली अहिले प्रशिक्षणको क्रममा छ । तस्बिर : बर्षा शाह/देश सञ्चार (फाइल तस्बिर)

नेपाल आर्मीले हिमालसँग सरोकार राख्ने सबै संघसंस्था तथा निकायलाई एउटै ग्रिडमा ल्याउने गरि संयोजकत्वको काम गरिरहेको फोकल पर्सन मेजर कार्कीले बताए। उनले भने, ‘यो अभियानमा संयोजनसँगै बेसक्याम्प म्यानेजमेन्ट गर्ने तथा सेवा प्रदायक कम्पनीबाट भएका कामको मोनिटरिङ्ग हामी गर्छौँ।’

सेनाको नेतृत्वमा हुने यो पटकको अभियानमा नेपाल पर्वतारोहण संघ अन्तर्गत रहेका हिमाल आरोहणमा अनुभवी शेर्पाहरु पनि सामेल हुने छन्।

संघका सचिव कुलबहादुर गुरुङले भने, ‘यो अभियानमा एनएमएको तर्फबाट जनशक्ति प्रदान हुँदैछ । कोरोना महामारीका कारण हिमाली क्षेत्रमा खटिने आरोही तथा पथ प्रदर्शकहरुको जीविका प्रभावित भयो। सफाइ अभियानमा हाम्रो तर्फबाट आरोहीसहितका अनुभवी जनशक्ति उपलब्ध गराउँदै छौँ, उनीहरुले केही भए पनि आय गर्न पाउने गरि।’

सफाई अभियानको औपचारिक सुरुवातका लागि चैत अन्तिममा औपचारिक कार्यक्रम हुने तयारी छ। त्यसपछि तालिम प्राप्त टोली आउँदै वैशाख २ गते सम्बन्धित हिमालहरुमा जानेछ।

सेनानी कार्कीले भने, ‘तालिमबाट छानिएका मध्ये ४३ जना फिल्डमा खटिने छन्। धौलागिरी, मकालु र आमादब्लममा १०–१० जनाको टोली हुन्छ। सगरमाथा, लोत्से र पुमरी एउटै आधार शिविरबाट चढ्ने भएकाले १३ जनाको टोली रहने छ।’

समन्वयका लागि एउटा टोली काठमाडौँ रहने छ। यस्तै हिमालमा हुने सफाइ अभियान अति जोखिम पूर्ण रहने भएकाले उद्धारका लागि एउटा टोली जोमसोम र अर्को टोली काठमाडौँ विमानस्थलमा तयारी अवस्था रहने उनले बताए।

चैत २७ देखि वैशाख १ गतेसम्म आवश्यक तयारी गरे पनि टोली वैशाख २ गतेदेखि ११ गतेसम्म आधार शिविर पुगेर सफाइ अभियानको मुख्य काम गर्नका लागि तयारी पूरा गर्ने छ। त्यसपछि ३१ दिन (वैशाख १२ देखि जेठ १० गतेसम्म) हिमालहरुमा सफाइ गर्ने तयारी रहेको सेनानी कार्कीले जानकारी दिए। संकलित फोहोर जेठ १४ गतेसम्ममा काठमाडौँ ल्याइने छ।

कहाँबाट कति फोहोर संकलन हुनेछ?

सफा हिमाल अभियानमा सामेल हुनेहरुले प्रशिक्षणको क्रममा मुस्ताङको १२ हजार ३०३ फिट उचाइमा रहेको यारु–झोमा संकलन गरेको फोहोर । तस्बिर : सफा हिमाल अभियान

पर्यावरणीय तथा जनजीविकाका हिसाबले अति महत्वपूर्ण हिमशृङ्खला मानवीय गतिविधि तथा जलवायु परिवर्तनका कारण जोखिममा पर्दै गएको छ। नेपालको ८०० किलोमिटर हिमशृङ्खलामा ८ हजार मिटर माथिका विश्वका १४ मध्ये ८ हिमाल पर्छन्।

नेपालका हिमालहरु भारतीय उप–महदीपका झण्डै एक अर्ब ३० करोड मानिसका लागि आवश्यक पानीको स्रोतका रुपमा पनि लिइन्छ। हिमाललाई नेपालको पर्यटन अर्थतन्त्र र त्यससँग जोडिएको जनजीविको पार्जनका लागि महत्वपूर्ण रहेको हिमाली क्षेत्रमा औषतमा ३६ हजार विदेशी तथा १५ हजार नेपाली पर्यटकहरु ८० हजार भरियासहितका कामदार हरेक वर्ष जाने गर्छन्।

हिमालहरुमा मानवीय कारणले बर्सेनि फोहोर थपिने क्रम छ। सगरमाथामा मात्रै एक लाख ४० हजार टन फोहोर तथा ४० हजार किलो मानव मलमुत्र रहेको अनुमान छ। आरोहणका लागि खुला अरु हिमालहरुमा पनि फोहोर उस्तै रहेको अनुमान गरिन्छ।

हिमाल तथा सो क्षेत्रको पर्यावरणीय अवस्थाबारे चासो राख्ने विज्ञहरुका अनुसार फोहोर तथा मानव मलमुत्रका गम्भीर स्वाथ्य तथा वातावरणीय दुर्घटनाको चेतावनी दिँदै आएका छन्।

सेनानी कार्कीले भने, ‘सोही जोखिमलाई मध्यनजर गरेर हामीले हिमाल सफाइ अभियान गर्नका लागेका हौँ। तर हिमालमा कति फोहोर छ भनेर प्रत्यक्ष रुपमा देखिँदैन। सरकारी नियम र खर्च व्यवस्थापनको क्रममा हामीले यो पटकका लागि कम्तीमा ३५ टन फोहोर संकलन गर्ने लक्ष्य लिएका छौँ सबै ६ हिमालबाट।’

आधार शिविर भन्दा माथिबाट १८ टन तथा आधार शिविर वरपरबाट १७ टन फोहोर संकलन गरेर ल्याउने लक्ष्य रहेको उनले बताए।
उनले भने, ‘यति नै ल्याउने भनेर जोखिने छैन। त्यो भन्दा बढि वा कम हुन सक्छ। हामीले यसपटक फोहोरसँगै आरोहणको क्रममा निधन भएकाहरुको भेटिएका जति शव तथा अंग ल्याउने छौँ।’

यो पटक सगरमाथाको आधार शिविरबाट ७ तथा आधार शिविर भन्दा माथिबाट ९ टन गरि कुल १६ टन (१६ हजार किलो), लोत्सेबाट एक हजार किलो तथा पुमरीको आधार शिवरबाट दुई हजार किलो र आधार शिवर भन्दा माथिबाट एक हजार किलो गरि तीन हजार किलो फोहोर संकलन गरेर ल्याउने योजना छ।

यसैगरि मकालुको आधार शिविरबाट तीन हजार किलो तथा आधार शिविर भन्दा माथिबाट दुई हजार किलो गरि कुल पाँच हजार किलो, धौलागिरीको आधार शिविरबाट तीन हजार तथा आधार शिविर भन्दा माथिबाट दुई हजार गरि कुल पाँच हजार किलो र आमादब्लमको आधार शिविरबाट दुई हजार तथा आधार शिविर भन्दा माथिबाट तीन हजार गरि कुल पाँच हजार किलो फोहोर संकलन गर्ने लक्ष्य रहेको सेनानी कार्कीले जानकारी दिए।

गएको वर्ष (सन् २०२०) मा कोरोना भाइरसको महामारीका कारण अभियान रोकिएको थियो। त्यस बेला अहिले जस्तै ६ हिमालबाट ३० टन फोहोर संकलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो, त्यसकै निरन्तरतासहित केही लक्ष्य थप गरि यो वर्ष सञ्चालन गर्न लागिएको हो।

सन् २०१९ मा संकलित फोहोर । तस्बिर : बर्षा शाह/देश सञ्चार (फाइल तस्बिर)

सन् २०१९ मा भएको सफा हिमाल अभियानको क्रममा सगरमाथाबाट १० टन फोहोर र चारवटा शव ल्याइएको थियो। त्यसअघि सेनाकै टोलीले सन् २०१३ मा आरोहणको क्रममा चार टन फोहोर संकलन गरेको थियो। यो पटक मार्गका भेटिने जति शव पनि ल्याउने लक्ष्य रहेको बताइए पनि यति नै शव भेटिन सक्छ भन्न सक्ने अवस्था भने छैन।

आरोहण खुला भएका नेपालका हिमालहरुमा कति शव छन् भन्ने यकिन तथ्यांक सरकारसँग छैन। तर अनुमानकै आधारमा सगरमाथामा मात्रै २८९ वटा शव रहेको भन्ने गरिएको भए पनि त्यसलाई यकिन मान्न सक्ने अवस्था भने नरहेको नेपाल पर्वतारोहण संघका सचिव कुलबहादुर गुरुङले बताए।

उनले भने, ‘शवहरु कति छन् भनेर यकिन गर्नका लागि अध्ययनकै खाँचो छ। हामीले त्यसको प्रयास गरिरहेका छौँ।’

पर्यटन विभागसँग पनि यसबारे तथ्यांक छैन। विभागकी निर्देशक मिरा आचार्यका अनुसार हिमालमा रहेका शवबारे अध्ययन गर्ने प्रयास हुँदैछ तर अहिले नै भन्न सक्ने अवस्था छैन।

चैत ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्