कृष्णभक्त पोखरेलसँग अन्तर्वार्ता

‘गुट भत्काउन संसदीय दलको बैठकमा भाग लिएँ, प्रधानमन्त्रीको कदमको विरोध आज पनि गरेँ’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्दा त्यसको चर्को विरोध गर्नेमा सांसद कृष्णभक्त पोखरेल पनि थिए।

ओलीले संसद विघटन गरेको दोस्रो दिन बानेश्वरस्थित संसद भवनमा आयोजित तत्कालिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षीय संसदीय दलको बैठकमा पोखरेल आक्रोशित हुँदै भनेका थिए–ओली निरङ्कुश बनेका छन्।

उनलाई प्रधानमन्त्रीमा मात्रै होइन पार्टी नेतृत्वमा पनि स्वीकार गर्न सकिन्न। चितवनका सांसद पोखरेल त्यसपछि प्रचण्ड–नेपाल पक्षका हरेकजसो ओलीविरुद्धका गतिवधिमा खुलेरै लागे। र, ओलीप्रति आरोपको श्रृङ्खला दोहोर्‍याइरहे।

फागुन ११ गते ओलीले विघटन गरेको संसद सर्वोच्च अदालतले ब्यूँताइदियो। त्यसपछि ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ भन्ने माग चर्को गरी उठ्यो। त्यसमा पोखरेलको पनि स्वर सुनिन्थ्यिो। तर सर्वोच्चले फागुन २३ गते सत्तारुढ नेकपा भंग गर्ने फैसला गर्‍यो।

नेकपा एमाले र माओवादी पुरानै अवस्थामा पुग्दा नेपालले प्रचण्डलाई त्यागेर ओलीविरुद्ध संघर्ष गर्ने भन्दै एमालेमै फर्किने निर्णय गरेका थिए। तर ओलीले फागुन २८ गते आफू पक्षीय केन्द्रीय कमिटी बैठकबाट नेपाल पक्षका पदाधिकारी र प्रदेश इन्चार्ज हटाउने, केन्द्रीय कमिटी पनि विस्तार गर्ने र पार्टी विधानमा ७० वर्षे हदम्याद हटाउने निर्णय गरेको थियो। त्यसको विरुद्धमा नेपाल पक्ष उत्रिएको थियो।

त्यो विरोधमा सांसद पोखरेल पनि मिसिएका थिए। तर ओलीले बोलाएको संसदीय दलको बैठकमा जानुपर्ने मत भने नेपाल पक्षले ललितपुरस्थित हेरिटेज होटलमा आयोजना गरेको भेलाका बेला नै राखेका थिए।

५ गते ओलीले डाकेको संसदीय दलको बैठकमा उनले आफूहरु सहभागी हुनुपर्नेमा जोड दिएपनि नेताहरुले त्यस विपरीत निर्णय गरेपछि उनी रुष्ट भएका थिए। तर शनिबारको ओली पक्षीय संसदीय दलको बैठकमा पोखरेल उपस्थित भएका छन्। यसमै केन्द्रीत भएर देशसञ्चारले उनलाई केही प्रश्न गरेको छ।

१) तपाईँ प्रधानमन्त्री ओलीको कदमको विरोधी हुनुहुन्थ्यो। आज ओली पक्षीय बैठकमा सहभागी हुनुको कारण?


नेकपा एमाले एउटै हो। संसदीय दलको बैठकमा त जानु वा भाग लिनु हाम्रो दायित्व हो भन्ने लाग्यो। आफ्नो पार्टीको संसदीय दलको बैठकमा नजाँदा फेरि कहीँ न कहीँ गुट निर्माण हुने भयो। अब पनि गुट निर्माण भयो भने नेकपा एमाले पनि एक रहन्न। सबै पार्टी टुक्राएर कसरी अघि बढ्न सकिन्छ र? तर यसअघि मैले राखेको मतबारे आज पनि जानकारी गराएको छु। संसद पुनःस्थापना संवैधानिक हो भन्ने मान्यता आज पनि राखेको छु।

२) कारबाहीमा पर्ने डरले तपाईँ बालुवाटार जानु भएको हो भन्ने छ नि?


कारबाहीको डर पटक्कै होइन। कारबाही कसरी हुन्थ्यो र? मैले आफ्नोतर्फबाट गुटगत राजनीति त्यागेको हो। यसले कसैलाई पनि फाइदा पुग्दैन।

२) त्यसो भए अब प्रधानमन्त्री ओलीलाई पूर्णरुपमा स्वीकार गर्नु भयो हैन त?


त्यस्तो होइन। भोलि पनि उहाँले गलत कदम चाल्नु भयो भने विरोध जनाइन्छ। राम्रो कामको समर्थन भने गरेर अघि बढ्नुको विकल्प छैन। पार्टीलाई एक राख्नुपर्ने पहिलो हाम्रो शर्त हो।

३) तपाईँले नेपाल खेमा त्याग गर्नुपर्ने कारण?


अरु कारणले मैले नेपाल पक्ष छोडेको होइन। पार्टी एक बनाउनुपर्छ भनेर बालुवाटारको बैठकमा गएको हुँ। गुट भत्काउन म बालुवाटार गएको हुँ। मलाई गुटमा बसिरहन मन लागेन।

५ गते पनि मैले संसदीय दलको बैठकमा भाग लिनुपर्छ भन्ने मत राखेको थिएँ। तर प्रमुख नेताहरुले नजाने निर्णय गर्नु भयो। आज पनि जान हुन्न भन्नुभएको थियो। म चाहीँ गएँ। नेता नेपालप्रति पनि मेरो सम्मान छ। कम्युनष्टि आन्दोलनमा उहाँहरुको योगदान छ। तर तीन–तीन वटा दलको बैठकमा सहभागि नहौँ भन्न मिल्छ? त्यसमा मेरो चित्त दुखाई हो। दुनियाँमा कहाँ अभ्यास छ यस्तो?

४) ओली सच्चिनुहुन्छ त?


सच्याउनु पर्छ। उहाँलाई सच्याएरै पार्टी अघि बढ्छ। नेकपा एमाले त उहाँ नै हो। अध्यक्ष उहाँ भएपछि उहाँका गतिविधिको पनि हामी विरोध गछौँ। राम्रो काम गरे समर्थन पनि गछौँ। अध्यक्ष भएको हैसियतमा ओलीलाई सहयोग गर्नुपर्छ भन्ने लाग्यो।

५) त्यसो भए आफ्नो निर्णय सही हो भन्नमा तपाईँ ढुक्क हुनुहुन्छ?


मैले धेरै नै सोचेर यो निर्णय लिएको हुँ। यसमा मलाई कुनै पछुतो छैन।

चैत ७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्