बोका ठाकुरदेखि दुर्गा तिम्सिनासम्म

चार दशकसम्म दुर्गाप्रसाद तिम्सिना ‘कैदी’का रुपमा रहे भारतमा। उनी अपराधी ठहर भएनन्, किनकि हत्याको आरोपमा गिरफ्तार गरिए पनि अभियोगपत्र थमाइएन उनलाई। उनका आफन्त टाढा थिए। र, उनी कमजोर। त्यसैले ‘बन्दी’लाई नियमअनुसार अभियोग लगाउन र मुद्दा चलाउन राज्य बाध्य भएन।

विगत चार दशकमा उनको हैसियत केवल कैदीको रह्यो। उनी कहिल्यै अभियुक्त बनेनन्। अदालतले अपराध ठहर गरेन। तर, ज्यानमारा ठहर भएका अवस्थामा दिइने जन्मकैद अर्थात २० वर्षभन्दा दोब्बर सजाय भोगी उनी आइतबार घर फर्के, नेपाल। २०३७ सालमा उनी दुर्भाग्यको यात्रामा पुगेका थिए।

पश्चिम बंगालको ह्याम रेडियोमार्फत उनको समाचार बाहिर आयो, पहिलोपल्ट। पश्चिम बंगाल रेडियो क्लबका उपाध्यक्ष हिरक सिन्हा वकिल पनि भएकाले उनले कलकत्ता उच्च न्यायालयमा सार्वजनिक सरोकारको मुद्दा दायर गरे। न्यायालयले उनलाई तत्काल रिहा गर्न र उनको घर इलाममा पुगेको भिडियो पेश गर्ने आदेश दियो। शनिबार दमदम केन्द्रीय जेलबाट उनी रिहा भए।

उनलाई जेल बाहिरको संसार र खुला हावामा उपस्थिति सुनिश्चित गर्न लागिपरेको ‘ह्याम’ रेडियोले एकजोर नयाँ कुर्ता पाइजामा, र ८६ वर्षीय आमालाई मिठाइको प्याकेटसहित बिदाइ गरे। तर न्यायालयले उनको त्यो अवस्थाका लागि दोषीलाई दण्डित वा बाँकी जीवनयापनका लागि कुनै राशी या राज्यलाई दण्डित गरेन। १५ वर्षको ठिटोको सपना बंगालको जेलमा हत्या भयो। ऊ दोषी नभए पनि जेल पाएकाले भारी र ‘दोषी’ मनोविज्ञानका साथ स्वदेश फर्कियो। बाँकी जीवन कसरी बिताउलान् दुर्गा तिम्सिनाले?

आश्चर्य भारतमा राज्यद्वारा घटित यो न पहिलो अपराध हो, न तिम्सिना पहिला नेपाली नै हुन्। सन् १९८० को दशकमा काशीराम, एकजना नेपाली तीन दशकभन्दा बढी यसरी जेलमा बिताएर बाहिरिएका थिए। उनको मानसिक स्थिति र विस्मृतिका कारण घर परिवारबारे खासै उनलाई याद थिएन। तर, गाउँका केही व्यक्तिहरुसँग आसामका चिया बगानमा कामको खोजीमा जाने क्रममा सिलिगुडी रेल्वे स्टेशनमा प्रहरीले दुर्व्यवहार गर्दा खुकुरी देखाएपछि आफू जेलमा परेको भन्ने गर्थे उनी टुटेफुटेको हिन्दीमा।

यस्ताहरुको पीडा, शोषण र अन्याय बाहिर ल्याएर ‘हिरो’ बन्ने सौभाग्य झण्डै मैले पनि पाएँ, ‘ट्रेनी’ पत्रकारका रुपमा भारतीय न्यूज एजेन्सी य्एुनआई (युनाइटेड न्यूज अफ इण्डिया)मा काम गर्दा। उनीहरुको व्यथा अझ बढी हृदयविदारक थियो, र कमसेकम दुई जनाले सर्वोच्च अदालतबाट क्षतिपूर्तिको आदेश पाएका थिए।

मधुवनी जिल्ला (अहमदिया गाउँ)का बोका ठाकुर बोल्न सक्दैनथे। सन् १९३७ मा भारत बेलायत साम्राज्यकै अंश थियो। प्रहरीले उनलाई गिरफ्तार गर्‍यो। गाई चराउन गएका ठाकुरको गाईले अरुको बाली खाइदियो। खेतवालाले गाईलाई निर्घात चुट्यो, यसैगरी।

बोका ठाकुरबारे सन् १९८२ मा युवराज घिमिरेले युएनआईमा प्रकाशित गरेको रिपोर्ट।

सम्भवतः पुज्नु पर्ने गाई मारेको दोष आफूलाई लाग्ने भय र आक्रोशका कारण उनले त्यो व्यक्तिको ज्यान लिए। त्यसपछिको कथा निकै हदसम्म तिम्सिनासँग मिल्न जान्छ। एक जेलबाट अर्कोमा सारियो। बीचमा दिमागी हालत बिग्रेको भनी उनलाई राँची लगियो। भारत स्वतन्त्र भएपछि केही ठाउँहरुमा जिल्लाका सीमा फेरिए। यो क्रममा बोल्न नसक्ने बोका हराए।

सन् १९८१ तिर अर्थात गिरफ्तारीको ४५ वर्षपछि उनकाबारे केही हल्ला हुन थालेपछि विस्तृत विवरण संकलन गरी युएनआई मार्फत समाचार सम्प्रेषण गर्ने काम पाएँ। म त्यसबेला पटना विश्वविद्यालयको विद्यार्थी पनि थिएँ। विश्वविद्यालयका एक मेरा मित्र थिए चन्दन जैन। उनकी दिदी कमलेश जैन पटना उच्च न्यायालयमा वकिल।

बोका ठाकुरमाथि भएको अन्यायविरुद्ध लड्न कमलेश दिदी तयार भइन्। चन्दनले सार्वजनिक सरोकारको मुद्दा दायर गरे पटना उच्च न्यायलयमा। न्यायालय त्यति सकारात्मक बनेन। तर, समाचारको प्रभाव बिहारमा सीमित रहेन। राष्ट्रिय सञ्चारमाध्यमले ४५ वर्षसम्म एउटा बोल्न नसकेको व्यक्ति स्वतन्त्र भारतको उदासीनताको शिकार बनेको खबरले मुलुकको विवेक र आत्मा नहल्लाउने कुरै भएन।

मानव अधिकारका मामिलामा निकै चासो लिने सर्वोच्च अदालतकी वकिल कपिला हिङ्गोरानीले बोका ठाकुर मामिला सर्वोच्वमा लागिन्। सम्भवत: पहिलोपल्ट ‘क्षतिपूर्ति’सहित बोका ठाकुरको रिहाइ आदेश गर्‍यो। बिहार सरकारसँग अर्को विकल्प थिएन।

राज्यको व्यवहार र आचरण नबदलिँदा ईश्वरको उत्कृष्ट सृष्टि मानिने मानव स्वरुप र जीवनको के अर्थ हुँदो रहेछ र?

यता यस्तो विवशता र अन्यायमा पनि नागरिक पर्दा रहेछन् भन्ने अक्रोश मेरो खोजीको विषय बन्यो। प्राप्त सूचनाहरु ‘भेरिफाई’गर्न म र चन्दन विभिन्न जेलमा चहार्न थाल्यौँ। मुजफ्फरपुर जेल पटनाबाट करिब ६५ किमी टाढा। त्यहाँ रुदल साह नामका व्यक्ति विगत ३१ वर्षदेखि जेलमा रहेका थाहा पायौँ। जेलरले हातमा ‘रबर स्टाम्प’बाट प्रवेश दिने चलन छ त्यहाँ। विचित्रको थियो रुदल साहको कथा।

सन १९५१ मा हत्याको आरोपमा उनी गिरफ्तार भए। सन् १९६८ मा उनलाई अदालतले सम्मान साथ दोषमुक्त गर्‍यो। तर जेलबाट छुटेनन्। प्रशासनदेखि सबैले बिर्से। त्सपछि यूएनआई रिपोर्ट भारतका सञ्चारमाध्यममा छापिए प्रमुखताका साथ। फेरि उही प्रक्रिया। रुदल साहलाई क्षतिपूर्तिका साथ रिहा गर्ने आदेश सर्वाेच्चले दियो।

रुदल साह, बोका ठाकुरको छायाँमा मजस्तो ‘ट्रेनी’ पत्रकारको नाम पनि आउन थाल्यो। भारतका वर्तमान केन्द्रीय मन्त्री रविशंकरप्रसाद त्यसबेला उनको पार्टी भारतीय जनता पार्टीसँगै मानव अधिकार सम्बन्धी एक संस्थासँग जोडिएका थिए। त्यसको ‘इनाम’का लागि मेरो नाम प्रस्ताव गर्ने चाहना मसँग राखे। यिनीहरूको भोगाइ र पीडा पस्केकोमा पाउने इनामले मलाई खुसी बनाउला र? मेरो उत्तरपछि यो विषय टुंगियो।

तर, यस्ता मामिलाहरू विभिन्न ठाउँबाट घुमिफिरी मकहाँ आउन थाले यूएनआईमा। चम्पारणका सिराजुद्दिन ३३ वर्षपछि छुटे त्यसरी नै!

बंगालबाट अहिले झारखण्डमा पर्ने हजारीवागमा मेला हेर्न आएका खेदु भट्टारार्य प्रहरीले ‘पकेटमारी’मा पक्रियो। दोषी ठहर भएमा तीन वर्ष जेलपछि मुक्त हुने मामिला या मुद्दा अघि बढेन। ९ वर्षपछि उनको खबर छापिएपछि छुटे उनी पनि।

रुदल साहको घरमा कोही थिएनन्। बिहे भएको छोरीको घरमा गएर बस्ने चलन हिन्दुहरुमा नहुँदा उनी नयाँ बासको खोजीमा थिए। तर, बोका ठाकुरसँग सम्पर्क र उनको जीवनमा भएको नयाँ परिवेशसँग केही हदसम्म म जोडिइरहेँ।

जेलबाट छुटेपछि बोका ठाकुर आफ्नो भतिजको सहयोगमा कमलेश दिदीकहाँ पुगे। उनलाई शायद बुझाइयो उनको रिहाइअघिका घटनाचक्रबारे।

समाचारबारे संवेदनशील संस्थाहरुले अलग–अलग तर सकारात्मक रुपमा प्रतिक्रिया व्यक्त गरे। मेरा गुरु (इण्डिया टुडे) फर्जन्द अहमदले शत्रुघ्न सिन्हालाई सुनाए पूरा कहानी। यो राम्रो सिनेमा बन्न सक्ने र आफू त्यसमा लाग्ने बताए उनले।

हैदरावादको एउटा परोपकारी संस्थाले पत्र लेखेर बोका ठाकुरका लागि केही गाई दिने प्रस्ताव राख्यो। बोका ठाकुरको जेल यात्रा गाईको दुर्भाग्यपूर्ण हत्याबाट सुरु भएकोले संस्थाले त्यस्तो प्रस्ताव राखेको थियो। म बीचबीचमा भारत जाँदा बोका ठाकुरबारे सोधपुछ गर्ने गर्थेँ, किनकि उनी मेरो पेशा र जीवनका एक महत्वपूर्ण पात्र बनेका थिए। सन् २००० यता उनको कुनै गतिविधिबारे केही संकेत पाउन सकिनँ।

लामो जेल जीवन, अपौष्टिक भोजन, बढ्दो उमेर, गिर्दो मनोबलको उपहार राज्यबाट लिएर ‘स्वतन्त्र दुनियाँ’मा प्रवेश गरेका थिए उनी। शरीर र आयुमाथि त्यसको प्रभाव त पर्छ नै।

दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि त्यही ‘उपहार’ भारत सरकारबाट लिएर आएका छन् नेपाल। राज्यको व्यवहार र आचरण नबदलिँदा ईश्वरको उत्कृष्ट सृष्टि मानिने मानव स्वरुप र जीवनको के अर्थ हुँदो रहेछ र?

चैत ८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्