काठमाडौँ– थाती राखेका योजना खोल्ने समय धेरैका लागि लकडाउनले जुरायो। कोपिला भण्डारी पनि केही नयाँ गर्ने सोचमा थिइन्। उनले उचित मौका भने पाएकी थिइनन्।

तर कोरोना भाइरस महामारी चरम सीमामा पुग्दा सडकमा सर्जिकल मास्कहरु जताततै फालेको दृश्यले उनको मन बिझायो। उनी भन्छिन्, ‘बाटोमा जताततै मास्कहरु फालेको देखेर वातावरण नै प्रदूषण भएको पाएँ।’

भण्डारी कसरी यसलाई न्यूनीकरण गर्न सकिन्छ भनेर सोच्न थालिन्। रिसर्च सुरु गरिन्। विज्ञहरुसँग छलफल पनि गरिन्।

साढे दुई महिनाको रिसर्चपछि जन्मियो ‘कोपिला’। कोपिला अर्थात उनले सुरु गरेको बिजनेश ‘ब्रान्ड’को नाम। जहाँ पुनः प्रयोग गर्न सकिने मास्क बनाइन्छ।

डब्ल्यूएचओको गाईडलाइनलाई ख्याल गर्दै उनले मास्कहरु बनाएर बेच्न सुरु गरिन् ‘कोपिला’ फेसबुक पेजको माध्यमबाट।

उनी भन्छिन्, ‘अगस्टदेखि रिसर्च गरेँ। त्यतिबेला एउटा सानो प्रोटो टाइप मास्क निकालेँ। अनि सञ्चालन चाहिँ सेप्टेम्बरको अन्त्यबाट गरेँ। काठमाडौँमा यति धेरै प्रदूषण छ, त्यसको लागि पनि त काम गर्छ नि भनेर सोचेँ।’

उनले इन्स्टाग्राममा ‘कोपिला डट एनपी’, फेसबुकमा ‘इको कोपिला’ नामको पेज सुरु गरिन् र त्यहाँ मास्कको फोटोहरु राख्न थालिन्। अनलाइनमा युजीबजारमा पनि यो मास्क पाइन्छ।

‘काम गर्नु तर फलको आश नगर्नू’ भन्ने भनाइलाई आत्मसात गर्दै उनले एक्लै ६० हजार रुपैयाँको लगानीबाट ‘कोपिला’ सुरु गरेकी थिइन्। त्यहाँबाट उनले राम्रो प्रतिक्रिया पाउन थालिन्, जसले गर्दा अझ थप नयाँ गर्न हौसला मिल्यो।

सुरुमा एक्लैले गरेपनि दुई महिनाअघिदेखि भने उनले ‘कोपिला’कै लागि भनेर डेलिभरी म्यान ‘हायर’ गरेकी छन्।

सस्टेनेबल प्रोडक्ट सधैँका लागि चाहिने कुरा भएकाले अब मास्क मात्र भएन भनेर उनले ट्राभल ब्याग, टोट ब्याग, साथै ल्यापटप ब्याग अनि मेकअप ब्याग पनि बनाउन सुरु गरिन्।

उनले कटन मास्कको मूल्य २५० रुपैयाँ, मेकअप ट्राभल ब्यागको ४०० र टोट ब्यागको ८०० रुपैयाँ तोकेकी छन्। उनका मास्क र ब्यागहरु उपत्यका बाहिर पनि मुख्य शहरहरुमा डेलिभरी हुन्छ। मास्क सबै उमेर समूहलाई लक्षित गरिएको कोपिला बताउँछिन्।

अहिले युवा पुस्तामा नयाँ आइडिया जन्माए मात्र सफलता पाइन्छ भन्ने भ्रम भएको कोपिला बताउँछिन। उनी थप्छिन्,‘अहिले जति योङ जेनेरेशन बिजनेशमा इमर्ज भइराख्नुभएको छ, उहाँहरुमा धेरै नैराश्य छ।’

 

आफ्नो उत्पादनलाई विस्तार गर्न उनले थुप्रै योजना बुनेकी छन्। तकिया कभर, ल्यापटप कभर, र वालेट पनि भविष्यमा सुरु गरिने उनले देशसञ्चारसँगको कुराकानीमा बताइन्।

२०१८ मा एमबीएको अध्ययन पूरा गरेकी उनले ‘कोपिला’भन्दा अगाडि थुप्रै बिजनेश सम्हालिसकेकी छन्।

बीबीए सक्काएपछि उनले जानकी टेकमा काम गर्ने मौका पाइन् जहाँ मार्केटिङ अफिसरको रुपमा काम गर्दा उनले सोसल मिडियासँग सम्बन्धित धेरै कुरा जान्ने मौका पाइन्। त्यसपछि केमु डटकममा काम गरिन्, जहाँबाट अनलाइन बिजनेश कसरी सञ्चालन गरिन्छ भनेर सिकिन्।

त्यसपछि आफै केही गरुँ भनेर ‘ब्रान्डेड स्किन केयर कस्मेटिक्स’बाट अनलाइन यात्रा सुरु गरिन् तर त्यस मार्केटको ‘पोटेन्सियल’ छैन भनेर आफूलाई अनुभव भएपछि उनले ‘ले फ्याबेक’ सुरु गरिन्।

हाल उनले कोपिला सगँसँगै ‘ले फ्याबेक’ पनि चलाइरहेकी छन्। उनका अनुसार ‘ले फ्याबेक’ रिटेल चेन्ज स्टोर हो। काठमाडौँको गैह्रीधारा, बुटवल र भरतपुरमा यसका शाखा छन्, जहाँ महिला पुरुष, बालबालिका सबैका लुगा, जुत्ताहरु पाइन्छ।

उच्चारण गर्न पनि सजिलो र नेपाली ब्रान्ड भनेर सजिलै चिन्न सकिने भएकाले उनले ब्रान्डको नाम ‘कोपिला’ राखेकी हुन्।

अहिले युवा पुस्तामा नयाँ आइडिया जन्माए मात्र सफलता पाइन्छ भन्ने भ्रम भएको कोपिला बताउँछिन। उनी थप्छिन्,‘अहिले जति योङ जेनेरेशन बिजनेशमा इमर्ज भइराख्नुभएको छ, उहाँहरुमा धेरै नैराश्य छ।’

उनका अनुसार सफलता पाउन नयाँ कुराको पछाडि मात्रै दौडिन जरुरत छैन। चलिरहेको आइडियालाई नै ‘पोलिस’ गरेर अगाडि बढ्न सक्यो भने आफ्नो प्रोफेसनल र करियर ग्रोथ नेपालमै गर्न सकिने उनी बताउँछिन्।

नेपालमा धेरै अवसरहरु रहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘आफूले मेहनत गर्न भने छोड्नु हुँदैन।’

चैत ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्