हुलाक टिकटका पहिलो राजकुमार ज्ञानेन्द्र र अन्तिम रानी कोमल

आफूले गरेका हुलाक टिकटहरुको संग्रहका साथ सत्यमोहन जोशी। तस्बिर: गिरीश गिरी/देशसञ्चार।

आफूलाई जुन चिजको अभिरुचि हुन्छ, त्यसैको एउटा महत्वपूर्ण पाटो बन्न पुग्दा असाध्यै खुशी लाग्दो रहेछ। मैले बाल्यकालदेखि नै हुलाक टिकटको संकलन गर्दै आएको छु। यसैबीच गएको महिनादेखि प्रचलनमा आएको मेरो मुहार अंकित हुलाक टिकटले एउटा इतिहास पनि कायम गरेको छ। राजपरिवारबाहेक कुनै ब्यक्तिको जीवित अवस्थामै प्रकाशित यो नेपालकै पहिलो हुलाक टिकट हो।

ललितपुर महानगरपालिकाले पहल सुरु गरेअनुसार २०७६ चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले यो टिकट प्रकाशनको निर्णय गरेको थियो। त्यसै अनुसार गएको माघ २० गते राष्ट्रपतिबाट पहिलो टाँचा लगाइयो। त्यस दिन राष्ट्रपति भवनमा राष्ट्रप्रमुखले मसँग कुराकानी गर्दै मेरो स्वास्थ्य अवस्थाबारे जिज्ञासा पनि राख्नुभएको थियो।

त्यो भव्य समारोहबाट फर्केपछि मैले मेरो संकलनका हुलाक टिकटहरु पल्टाएर हेरेँ। यी बाल्यकालदेखिका मेरा सम्झनाहरु गाँसिएका संकलन थिए। हुलाकले के कस्ता टिकटहरु प्रचलनमा ल्याउँछ भनेर खोजी गर्ने र जम्मा गर्ने काम मैले सानैबाट थालेको थिएँ। त्यो चाहनालाई साकार पार्न भने मेरै टोलका एक छिमेकीले सघाएका थिए।

जोशी थरकै ती छिमेकी गोश्वारा अड्डामा काम गर्थे। त्यो गोश्वारा वसन्तपुरको नौतले दरबारमा थियो। त्यहाँ पुराना कागजातहरु राखनधरन गरिन्थ्यो। त्यो समयताका भएभरका पुराना कार्यालयहरुका काम नलाग्ने कागजातहरु थन्क्याउनका निम्ति त्यहीँ बुझाउने गरिन्थ्यो। त्यसरी पुराना कागजातको चाङमा टिकटहरु टाँसिएका कागज र खामहरु पनि हुन्थे। त्यसबाट टिकट निकालेर ती छिमेकीले मलाई ल्याइदिन्थे। यसरी मेरो हुलाक टिकटको संकलन बलियो हुँदै गयो।

मसँग संकलनमा रहेको सबैभन्दा पुरानो टिकट ‘भर्मेलियन’ हो। उतिबेला प्रचलित कालो टिकटका माथिबाट रंग दलिएकाले यसलाई ‘भर्मेलियन’ भनिएको हो।

उतिबेलाका ‘इम्परर अफ इण्डिया’ अनि ‘किङ अफ युनाइटेड किङडम’ राजा जर्ज पञ्चम नेपाल आएका बेला यो टिकटको प्रकाशन गरिएको थियो।

सन् १९११ को डिसेम्बर १८ देखि २८ सम्म बेलायती राजा जर्ज पञ्चम शिकार खेल्नका निम्ति नेपाल आएका थिए।

चन्द्रशम्शेरको प्रधानमन्त्रीत्व कालमा भ्रमणमा आएका बेलायती राजालाई प्रदान गर्न यो टिकट प्रकाशित गरिएको थियो। कालो रंगको टिकट दिइँदा राम्रो नमानिने भएकाले त्यसमा हल्का सुन्तलेजस्तो प्रभाव देखिनेगरी रंग दलिएको थियो।

नेपालमा हुलाक टिकटको प्रकाशन सन् १८८१ बाट सुरु भएको देखिन्छ। त्यसको पाँच वर्षपछि भने नेपाली कागजमै टिकट प्रकाशन सुरु भयो। मेरो संकलनमा रहेको ‘भर्मेलियन’ टिकट चौथोपटक छापिँदाको अर्थात् सन् १८९९ देखि १९१८ बीचको अवधिको हो।

त्यतिन्जेलसम्म पनि नेपालमा प्रकाशित सबै हुलाक टिकटहरुमा माथिल्लो भागमा ‘गोरखा’ लेख्ने प्रचलन थियो। पछि ‘श्री गोरखा सरकार’ पनि लेखियो। त्यसभन्दा मुनि भने ‘क्राउन’ र खुकुरीको ‘क्रस’ अंकित चित्र सबै टिकटमा राखिएका हुन्थे। त्यसपछि भने पुछारमा टिकटको मूल्य लेख्ने प्रचलन थियो।

बेलायतका राजा जर्ज पञ्चम नेपाल आएका बेला उनलाई उपहार दिन प्रकाशित भर्मेलियन टिकट।

यसैकारण मेरो संकलनमा रहेको टिकटमा पनि सबैभन्दा मुन्तिर ‘आदाना’ लेखिएको छ। अर्थात्, यो उतिबेला आधा आना मूल्य पर्ने हुलाक टिकट हो।

यो टिकट भ्रमणमा आएका राजा जर्ज पञ्चमलाई उपहार दिइसकेपछि थप केही प्रति छापेर राणाहरुले राखेका थिए। त्यसैमध्येको यो एक हुनुपर्छ। यो टिकट पाउन असाध्यै गाह्रो छ।
महत्वपूर्ण टिकट दुर्लभ पनि छ भने त्यसको महत्व असाध्यै बढी हुनेगर्छ। यस्ता टिकटहरुको मूल्यांकन पनि बेलाबेलामा लाखौं दाम राखेर प्रकाशित हुने गर्छन्।

पहिले पहिले त मसँग अरु पनि महत्वपूर्ण टिकट थिए। अब त धेरै हराएरै गयो।

जंगबहादुर राणा बेलायत जाँदा उता यस्तो हुलाक टिकटको प्रचलन हेरेर आएका रहेछन्। त्यसै हिसाबले नेपालमा पनि त्यस्तै हुलाक टिकट छाप्ने मनशायले यो कार्यको थालनी भएको थियो।

त्यसरी छापिएका टिकटहरुमा सुरुमा ‘गोरखा’ लेखिएता पनि सन् १९३० देखि चाहिँ ‘नेपाल सरकार’ भनेर लेख्न सुरु गरियो। सन् १९०७ देखि बेलायतमा छापिएका टिकटहरुमा पशुपतिनाथको श्रृंखला नै चलेको थियो। त्यसै श्रृंखलामा पछि गएर सन् १९३० देखि चाहिँ पुछारको भागमा ‘गोर्खा सर्कार’ को ठाउँमा ‘नेपाल सरकार’ लेख्न थालियो। पशुपतिनाथको त्यस श्रृंखलामा शिवजीका विभिन्न मुद्राका चित्र अंकित हुन्थे।

पछि फेरि यस्ता टिकटहरुमा ‘श्री ५ को सरकार’ भनेर लेख्न थालियो।

जंगबहादुर राणाले त्यतिबेलै बेलायतबाटै ‘गिद्दे प्रेस’ उपहारमा ल्याएका थिए। त्यसमा गिद्दको चित्र अंकित भएकाले ‘गिद्दे प्रेस’ भनिएको थियो। त्यो गोरखापत्र छाप्न प्रयोग गरिएको थियो। त्यसै गिद्दे प्रेसबाट हुलाक टिकट छाप्ने काम पनि गरिएको थियो।

त्यो बेलामा टिकट छापे पनि त्यसमा लहरै मसिना प्वाल पार्ने मेशिन नेपालमा थिएन। बेलायतीहरुले उतै लगेर त्यसमा प्वाल पार्थे।

पछि बेलायतमा गएर छाप्ने काम पनि गरियो। सन् १९०७ पछिको पशुपतिनाथको श्रृंखला बेलायतबाटै छापिएको थियो।

त्यसरी सन् १९०७ देखि १९३५ सम्म बेलायतमै छाप्ने काम गरियो। ती पशुपतिनाथका टिकटहरु रंगीन पनि थिए।

त्योबेला हलकाराहरु रुपैले चिनिन्थे। उनीहरुले टाउकामा ठूलो रातो फेटा बाँधेका हुन्थे। प्रत्येकको हातमा एउटा लठ्ठी हुन्थ्यो। त्यो लठ्ठीको टुप्पोमा चाहिँ सानो आकारको घन्टी झुण्डिएको हुन्थ्यो। टनटनटनटन आवाज आएको सुन्ने बित्तिकै बजारतिर सबैले ‘हलकारा आयो’ भन्दै बाटो छाडिदिन्थे। हिजोआज एम्बुलेन्स वा दमकललाई छाडेजस्तै।

सन् १९४१ देखि फेरि गोरखापत्रले छाप्यो। त्यसको कारण चाहिँ दोश्रो विश्वयुद्ध थियो। लडाइँले गर्दा त्यतिबेला युरोप आक्रान्त भयो। त्यसैले नेपालमा टिकट आउन पनि बन्द भयो। त्यसपछि फेरि गोरखापत्रले नेपालमै छापेको हो।

त्यसपछि फेरि १९४९ देखि टिकट बाहिर लगेर छाप्न थालियो। त्यसमध्ये केही बेलायतमै लगेर छापियो भने केही भारतमा लगेर पनि छापियो। त्योबेला महाराष्ट्रको नासिकमा यस्तो टिकट छाप्ने मेशिन थियो।

त्योबेला टिकटको मूल्य भनेकै आदाना, एक आना, दुइ आना, चार आना हुन्थ्यो।

हुलाक, खाम र टिकटहरुसँग जोडिएका अनेक रोचक प्रसंग पनि काठमाडौं उपत्यकामा चर्चित छन्।

खिचापोखरीका मरिचमान काजी प्रसिद्ध थिए। उनी चन्द्रशम्शेरका निजी सचिवसमेत थिए। त्यसै हिसाबले सन् १९०८ मा चन्द्रशम्शेरको बेलायत भ्रमण हुँदा उनी पनि साथमा गएका रहेछन्।
बेलायत पुगेको बेला उनले उता हुलाक टिकटको प्रचलन देखेर आए। त्यसको महत्व पनि उनले बुझे।

त्यस्ता काजी नेपाल फर्केर आएपछि एकपटक हिँड्दाहिँड्दै बाटोमा खाम देखेछन्। अब काजीजस्तो मान्छेले त्यो बाटोमा फालिएको खाम कसरी उठाउने? देख्नेले ‘काजीले पनि बाटोको चिज उठायो’ भन्लान्। लिने कि नलिने? निकै सकस भएछ। उनले त्यो खामको मोह त्याग्न पनि सकेनन्। त्यसैले उनले तत्कालै लडेकोजस्तो अभिनय गरेर त्यो खाम उठाएर गोजीमा राखेको भनाइ काठमाडौंका पुराना मानिसहरुको बीचमा पछिसम्मै चर्चाको विषय थियो।

मेरो संकलनमा प्रारम्भिक कालदेखि पछिल्लो समयसम्मका सबैजसो महत्वपूर्ण हुलाक टिकट छन्। त्यसमा नेपालमा पाइने पशुपंक्षीदेखि वनस्पति हुँदै राष्ट्रिय जीवनमा महत्वपूर्ण भूमिका निभाएका व्यक्तित्वहरुको मुहारचित्र समेत छन्। लुम्बिनीको चित्र अंकित पहिलो टिकट सन् १९५८ मा प्रकाशित भएको थियो। त्यसको मूल्य छ पैसा राखिएको थियो। त्यसैगरी नेपालको प्रथम पार्लियामेन्टको टिकट सन् १९५९ मा प्रकाशित भएको थियो। पत्रकारिता क्षेत्रकै गोपालदास श्रेष्ठ पनि हुलाक टिकटमा समेटिएका छन्।

मेरो संकलनका टिकटहरु मध्ये केही भने महत्वपूर्ण छन्।

पूर्वराजा ज्ञानेन्द्र राजकुमार भएकै बेला प्रकाशित दुर्लभ टिकट।

त्यसमध्ये एउटा तत्कालीन राजकुमार ज्ञानेन्द्रको बाल्यावस्थामै प्रकाशित टिकट पनि हो। यो सन् १९६१ मा प्रकाशित भएको थियो। बाल दिवसका बेला तत्कालीन राजकुमारले हुलाक टिकटमा टाँचा लगाउँदै गर्दाको अवस्था यस टिकटमा अंकित छ। अलिक बेग्लै प्रकृतिको देखिने यो दुर्लभ टिकटहरुमा पर्छ।

यसलाई छाप्ने काम गोरखापत्रमै गरिएको थियो। मानिसहरुले धमाधम संकलन गर्न लागेको यस टिकटको पछि अभावै भयो।

त्योबेला बाह्र पैसा पर्ने यो टिकट अहिले बाह्र सय रुपैयाँ तिरेर पनि भेटिन मुश्किल पर्छ।

नेपालमा सबैभन्दा बढी ब्यक्तिको टिकट प्रकाशित भएको पनि राजपरिवारकै सदस्यहरुको हो। उनीहरुको भने जीवित अवस्थामै टिकट प्रकाशित हुन्थ्यो। सबैभन्दा पहिले राजा त्रिभुवनको हुलाक टिकट सन् १९५४ मा निस्केको थियो।

हुलाक टिकटमा राजपरिवारका सबैभन्दा अन्तिम सदस्यको चित्र भने तत्कालीन बडामहारानी कोमलको अंकित भएको देखिन्छ। रानी कोमलको चित्र अंकित उक्त टिकट सन् २००६ मा निस्केको थियो।

टिकटहरुको यो संग्रहलाई व्यवस्थित रुपले पुस्तकाकारमा परिणत गर्न रामेश्वरमान कर्माचार्यले मलाई सघाएका हुन्। यी टिकटको संग्रहलाई म मेरो आँगनमै स्थापित ‘लोकसाहित्य भवन’ मै उपयुक्त किसिमले राखियोस भन्ने चाहन्छु। भोलिपर्सि विद्यार्थीहरु आएका बेला हेर्न पाउन्। अझ यी साना टिकटको तस्बिरै खिचेर प्रोजेक्टरले ठूलो पार्दै बयान गरेरै देखाउन पाए झनै राम्रो हुने थियो।

राजपरिवारका सदस्यहरुको तस्बिरअंकित अन्तिम हुलाक टिकट पूर्वबडामहारानी कोमलको थियो।

मैले जीवनमा एकपटक हुलाक टिकटमा टाँचा लगाउने अवसर पनि पाएको छु।

यो पञ्चायतकालतिरकै कुरा हो। एकपटक मदन पुरस्कार गुठीसम्बन्धी हुलाक टिकटमा कुनै मन्त्रीले टाँचा लगाउने कार्यक्रम थियो। मन्त्री आइपुगेनन्। म आमन्त्रितमध्ये थिएँ। तीन पटक मदन पुरस्कार जितेको व्यक्ति भन्दै मलाई नै टाँचा लगाउन लगाए। पहिलो दिनको प्रकाशित उक्त टिकटमा मेरै हस्ताक्षर परेको थियो।

यसरी हुलाकलाई सम्झँदै गर्दा मलाइ पुराना दिनहरुको याद असाध्यै आउँछ।

हुलाकीलाई हाम्रो समयमा हलकारा भन्थ्यौं। उनीहरु आएको कुरा हामी घन्टी बजाएकोबाटै बुझ्थ्यौं।

त्यसो त नेपालमा विक्रम सम्वत १९३५ मै रणोद्दीप सिंहले हुलाक घरको स्थापना गरेका थिए। तर, नेपाललाई बाह्य संसारसँग जोड्ने काम चाहिँ पछिसम्मै लैनचौरस्थित ‘पोस्ट अफिस’ले गरेको हो।

सुगौली सन्धिपछि ब्रिटिश रेसिडेन्सी यहाँ बस्न सुरु भयो। त्यसपछि नै यहाँ पत्राचारको क्रम पनि आरम्भ भएको थियो। राणाहरुको त्यो समयमा भारतबाट जति चिठ्ठी आउँथे, त्यो जम्मै लैनचौरमै ल्याएर थुपार्ने काम गरिन्थ्यो।

लैनचौरस्थित दूतावासको कम्पाउण्ड भित्रै भए पनि मुख्य कार्यालयहरुभन्दा बाहिरै पर्नेगरी त्यो पोस्ट अफिस राखिएको थियो। यहाँ आएका सबैजसो चिठ्ठी पत्रहरु रक्सौल भएरै आउँथे। त्यसरी आएका चिठ्ठी पत्रहरु जम्मा भएपछि ‘सर्टिङ’ गर्थे। सबैभन्दा ठूलो पोको काठमाडौंकै हुन्थ्यो। त्यसपछिको पोको ललितपुरको। भक्तपुरको त ज्यादै थोरै हुन्थ्यो।

बास्तवमा नेपाली मुद्रा वा हुलाक टिकटजस्ता कुराहरु आम रुपमा स्वदेशकै प्रयोग हुनथालेको राजा महेन्द्रको कार्यकालपछि मात्रै हो। नत्र त काठमाडौं उपत्यकामा मात्रै त्यस्ता कुराहरु प्रचलनमा रहन्थे।

त्योबेला हलकाराहरु रुपैले चिनिन्थे। उनीहरुले टाउकामा ठूलो रातो फेटा बाँधेका हुन्थे। प्रत्येकको हातमा एउटा लठ्ठी हुन्थ्यो। त्यो लठ्ठीको टुप्पोमा चाहिँ सानो आकारको घन्टी झुण्डिएको हुन्थ्यो।
टनटनटनटन आवाज आएको सुन्ने बित्तिकै बजारतिर सबैले ‘हलकारा आयो’ भन्दै बाटो छाडिदिन्थे। हिजोआज एम्बुलेन्स वा दमकललाई छाडेजस्तै।

उनीहरुलाई तलब पनि जग्गाजमिन छुट्याएर ‘खान्की’ भन्दै दिइएको हुन्थ्यो। कोही कोही चाहिँ नगदै लिने पनि हुन्थे।

यस्ता हुलाकीहरुले एउटा ठाउँबाट पोका पुलिन्दा बोकेर अर्को ठाउँ जाँदा प्रयोग गर्ने बाटोलाई हुलाकी मार्ग भनिन्थ्यो। काठमाडौंबाट पोखरातिर चिठ्ठी पठाउनुपरेमा जितपुरफेदी, पाँचपाँने हुँदै जान्थे।

गोर्खा सर्कार र नेपाल सरकारका नाममा प्रकाशित पशुपतिनाथका बेग्लाबेग्लै टिकट। यी टिकट बेलायतमा छापिएका थिए।

त्यस्ता हुलाकीहरुले ओसार्ने चिठ्ठीपत्र फेरि गाउँ होइन, केवल केन्द्रमा मात्र पुग्थ्यो।

जसोतसो चलेको हुलाक सेवा थियो त्यो।

ललितपुरभर चिठ्ठी पठाउनका निम्ति एकैजना हलकारा राखिएको थियो। उनको कामै दिनभर ढोका ढोका पुगेर चिठ्ठी बुझाउने हुन्थ्यो। उनको झोलामा चिठ्ठीबाहेक भारतबाट निस्कने अमृत बजार र स्टेट्स्म्यानजस्ता पत्रपत्रिका पनि हुन्थे। बढी त दरबारमै जान्थे। सर्वसाधारणका चाहिँ एकदुई घरमा मात्र बाहिरका चिठ्ठी आउने–पठाउने काम हुन्थ्यो।

हाम्रै पाटनको क्वालकुस्थित हिरण्यवर्ण महाविहार छेउका राजभण्डारी खलकले सन्तान बाहिर पढ्न पठाएका थिए। त्यसैगरी मानिकलाल काजी, भक्तलाल सरदार, जीतसिंह मल्लका दाजु पनि जापानतिर पढ्न गएका थिए। त्यस्तै त्यस्तै मात्र हो।

यसरी बाहिरबाट आएको चिठ्ठी पत्र पाटनका ढोकाढोकासम्मै आइपुगे पनि यहाँबाट भारततिर चिठ्ठी पठाउनु परेमा चाहिँ काठमाडौं नै पुग्नुपर्थ्यो। ललितपुरमा हुलाक वा चिठ्ठी खसाउने बाकस थिएन। त्यस्तो बाकसलाई पत्र मन्जुषा भन्ने नाम पनि निकै पछि दिइएको हो।सात सालपछि चाहिँ कोत नजिकै बल्ल चिठ्ठी पत्रको काम गर्ने सानो अफिसजस्तो खुल्यो। त्यो ठाउँ अहिले मंगलबजारमा पुरानो अदालतभवन नजिकै हो। त्यहाँ एउटा भाषा पाठशाला थियो। त्यसैमा सानो कोठामा हुलाक खोलिएको थियो। पछि चाहिँ मदनशम्शेरको दरबार छेवैमा उनीहरुको आवश्यकताकै कारण अर्को हुलाक खोलियो। पाटनढोकास्थित त्यो हुलाक कार्यालय अहिले पनि चल्तीमा छ।

मेरा प्रारम्भिक दिनमा भारत वा अन्त जताकतै पनि हामीले चिठ्ठी पठाउनु परेमा त्यहि लैनचौरकै हुलाकमा उनीहरुकै ब्रिटिस इण्डियाको टिकट टाँसेर पठाउनु पर्थ्यो। एक आनादेखि चार आनासम्मका एडवार्ड, भिक्टोरियादेखि एलिजावेथसम्मका क्राउनका चित्र ती टिकटमा अंकित हुन्थे।

यसरी न यहाँ पोष्ट अफिस थियो, न नेपालमा छापिएका टिकटले चिठ्ठीपत्र बाहिर पठाउन काम लाग्थ्यो। बेलायती राजा वा रानीकै तस्बिर अंकित टिकट टाँसेपछि त्यस्ता भएभरका चिठ्ठी पत्रहरु सुरुमा भारत जान्थे। भारतमा जम्मा भएपछि अधिकांश त त्यहीँ वितरण हुन्थ्यो। थोरै मात्र तेश्रो मुलुकमा जाने चिठ्ठीहरु भारत भएरै जान्थे।

हामीकहाँ हुलाक टिकट नभएको होइन। तर, त्यो आम प्रचलनमा भने थिएन। टिकटको मात्र के कुरा? हामीकहाँ लिच्छविकालदेखि नै मुद्रा पनि हाम्रो आफ्नै थियो। तर, ब्यवहारमा भने नेपाली मुद्रा नेपाल भित्रै पनि चलनचल्तीमा भने सर्वत्र प्रयोग हुँदैन थियो।

बास्तवमा नेपाली मुद्रा वा हुलाक टिकटजस्ता कुराहरु आम रुपमा स्वदेशकै प्रयोग हुनथालेको राजा महेन्द्रको कार्यकालपछि मात्रै हो। नत्र त काठमाडौं उपत्यकामा मात्रै त्यस्ता कुराहरु प्रचलनमा रहन्थे।

अझ सात सालभन्दा अघिको अवस्थामा त कार्यालयहरुका पत्राचारका लागि पनि मानिस नै खटाउने प्रचलन थियो। मानिसले नै कागजपत्र बोकेर यता उता गर्थे। वीरगन्जको कार्यालयबाट कुनै कागज काठमाडौं ल्याउनु परेमा पनि बोकेरै ल्याइन्थ्यो। ‘कागज सरकारी’लाई छोटकरीमा ‘कास’ भनेर नामै पनि दिइएको थियो। कास लेखिएको छ भने टिकटै चाहिँदैन थियो।

सरकारी कार्यालयहरुमा त्योबेला हुलाक त परको कुरा स्टेशनरीसमेत निकै परम्परागत पाराले काम चलाइन्थ्यो। ‘स्वान इंक’ नामगरेको त्योबेलाको प्रचलित आयातित मसी त उही दरबारहरुमा मात्र प्रयोग हुन्थे।

बाँकी हामीले सरकारी कार्यालयमा प्रयोग गर्ने भनेको लोकमान चित्रकारको स्याही थियो।

त्यो पनि गजबको स्मरण छ।

नरदेवीतिर जाने यट्खा टोलका लोकमान एक्लैले काठमाडौंका सम्पूर्ण अड्डा अदालतको प्रयोगमा आउने मसी बनाएर वितरण गर्थे।

वसन्तपुर कुमारी घरको छेउमा उहिले पोखरी थियो। त्यही पोखरीको आसपास मैले पहिलोपटक जागिर खाएको अड्डा थियो। त्यहीँ ५५–६० वर्षे लोकमान एउटा भर्खरको किशोरलाई खर्पन बोक्न लगाएर आउँथ्यो। त्योखर्पनको दुवैतिर कालो मसीको स–साना घैँटा राखिएका हुन्थे। त्यो घैँटाको मसी अड्डैपिच्छे राखिएका सानो मसीको भाँडोमा खन्याइदिन्थे र अर्को अड्डातिर लाग्थे। त्यो मसीको उत्पादन लोकमानले नै घरेलु तवरबाट गरेका हुन्थे। उनले पुस्तैनी हिसाबले गर्दै आएको काम थियो त्यो।

डिल्लीबजारदेखि वसन्तपुरसम्मका सबै अड्डामा हामीले प्रयोग गर्ने मसी त्यही हुन्थ्यो भने कागज चाहिँ नेपाली कागज। देशी कागज आएकै थिएन। नेपाली कागजमा पनि छको तोडा कि आठको तोडा भन्ने हुन्थ्यो। तोडा भन्नाले कति फोल्ड पट्याएको कागज भनेर बुझिन्थ्यो। यसरी सिंगो काठमाडौंको सारा अड्डा र मन्त्रालय मसीका मामलामा त्यो एकजनामा आश्रित थियो। ठेक्कै उसैको थियो। अरुले त बनाउन पनि जानेका थिएनन्।

यसरी कागज र मसीले लेखिने स्याह श्रेष्ताको प्रचलन सुरु गराउने काम गोरखातिर खोप्लाङका वन्त थरका नेवारहरुले गराएका हुन्। म उतातिर जाँदा उनीहरुको घरमा बास पनि बसेको छु।
त्यसरी लेखिएका कागजपत्र मानिस खटाएरै पत्राचार गरिन्थ्यो।

कुनै समय हुलाकको प्रचलनले सञ्चारका क्षेत्रमा ठूलै क्रान्ति ल्याएको थियो। त्यो समयको रोचकता देखेको मेरो लागि आज इन्टरनेटको प्रचलनले अर्को आश्चर्य थपिदिएको छ। यसरी संसार अघि बढ्दै गएको देख्दा रमाइलो लाग्छ।

तर, हामीले विगतलाई पनि उत्तिकै जतनका साथ सम्हालेर राख्नुपर्छ। भोलिका पुस्ताले त्यो हेर्न र बुझ्न पाउनु पर्छ।

प्रस्तुति: गिरीश गिरी

(शताब्दी वाङ्मयपुरुष सत्यमोहन जोशीको संकलनमा रहेका सामग्री र त्यसले समेटेका रोचक प्रसंगहरुबारे जोशीकै बयानलाई अब देशसञ्चारले श्रृंखलाबद्ध प्रकाशन गर्दै जाने भएको छ।)

चैत ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्