भ्याक्सिन विमानस्थलमै छाडेर गोरखा पुग्यो बहराइन टोली

काठमाडौँ– बहराइनका राजकुमारले उपहारमा ल्याइदिएको कोरोना भाइरसविरुद्धका दुई हजार डोज भ्याक्सिनको अझै टुंगो लाग्न नसक्दा त्यो त्रिभुवन विमानस्थलमै थन्किएको अवस्थामा छ। अर्कोतर्फ गोरखा जिल्लाका दुर्गम गाउँलेलाई उक्त भ्याक्सिन ल्याइदिएको टोली भ्याक्सिन बिनै सोमबार गोरखातर्फ उडेको छ।
यता उक्त भ्याक्सिनलाई के गर्ने भन्ने टुंगोमा सरकार अझै पुगिसकेको छैन।
‘विदेशबाट औषधि ल्याउँदा पालना गरिनुपर्ने प्रकृया नअपनाइएकाले यस्तो स्थिति उत्पन्न भएको हो,’ विजुलीबजारस्थित औषधि व्यवस्था विभागका प्रवक्ता एवं वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले देशसञ्चारलाई मंगलबार भने, ‘हामीले विभागबाट प्रारम्भिक प्रतिवेदन तयार पारेर स्वास्थ्य मन्त्रालयलाई बुझाइसकेको भएता पनि उताबाट अहिलेसम्म कुनै जवाफ नआएकोले पर्खेर बसिरहेका छौं।’
केसीका अनुसार विभागले तीन दिनअघि नै प्रतिवेदन मन्त्रालयलाई पठाएको थियो। यसबीच विभागका महानिर्देशकसँग सरोकारवालाहरुको केहि चरणका बैठक बसिसकेको भएता पनि निष्कर्षमा पुग्न नसकेको जानकारी पनि उनले दिए।
बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफा यसै साता सगरमाथा आरोहणको उद्देश्यका साथ काठमाडौं आइपुगेका थिए। त्यसले कोभिड १९ का कारण गत वर्षदेखि सुनसान बन्नपुगेको पर्वतारोहणका क्षेत्रमा सकारात्मक प्रभाव ल्याएको थियो। यि राजकुमार यसअघि पनि छ महिना पहिले मनास्लु हिमालको सफल आरोहण गरेर फर्केका थिए।
त्योबेला स्थानीयबाट पाएको न्यानो आतिथ्यबाट प्रभावित उनी यसपाला रित्तै हात आएनन्। तर, गाउँले नेपालीहरुलाई मायागरेर ल्याइदिएको त्यहि उपहार उनका निम्ति समस्याको कारण बनिदियो। राजकुमारले आफ्नो साथमा कोरोना भाइरसका दुई हजार डोज भ्याक्सिन पनि बोकेर ल्याएको थाहा पाएपछि त्यो कार्गो विवादमा पर्न गयो।
औषधि व्यवस्था विभागका अनुसार कुनै पनि औषधिजन्य कुरा नेपालमा ल्याउनुअघि कुटनीतिक तवरबाट त्यसको अनुमति लिइनुपर्ने प्रावधान छ।
‘त्यसैमा कमी कमजोरी देखियो,’ प्रवक्ता केसी भन्छन्, ‘त्यसैले यो मामला अब परराष्ट्र र स्वास्थ्य मन्त्रालयले बसेर मिलाउनुपर्ने अवस्थामा पुगेको छ।’
झट्ट हेर्दा त यो उपहारबाट बहराइनी राजकुमारले नेपालको दुर्गम पहाडी भेगमा बसोबास गर्ने वासिन्दाका प्रति आफ्नो सद्भाव प्रकट गर्न खोजेको देखिन्छ। तर, अन्तर्राष्ट्रिय व्यवहारका हिसाबले भने यो प्रकृया नपुर्याइएको गलत कदम साबित भइदियो।
नेपालले अनुमति नलिइकन कुनै पनि औषधिको आयातमा प्रतिवन्ध लगाएको छ।
‘बहराइनका राजकुमार सगरमाथा आरोहणका निम्ति आउन लागेको जानकारी त सार्वजनिक भएकै थियो,’ स्वास्थ्य मन्त्रालयका अधिकारीहरु भन्छन्, ‘तर, राजकुमारले भ्याक्सिनको ठूलो मात्रा नै बोकेर आउन लागेको विषयमा भने कुनै जानकारी थिएन।’
स्वयं औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराइले समेत यस विषयमा आफुहरुलाई पूर्व जानकारी नरहेको भनेर दिएको प्रतिक्रिया पत्रपत्रिकामा प्रकाशित भइसकेको छ।
यसरी बहराइनका राजकुमारको उपहारले नेपालमा सबैलाई आश्चर्यमा पारिदियो।
सबैभन्दा पहिले त यति महत्वपूर्ण भ्रमणदलले यसरी नियमको उल्लंघन गरेको अवस्थालाई कुन रुपमा लिने भन्ने नै अलमल भइदियो। तै राजकुमारको टोलीलाई स्वागत कार्यक्रम अघि बढाइए पनि भ्याक्सिन भने अझै त्रिभूवन विमानस्थलमै स्टोर गरेर राखिएको छ।
‘त्रिभुवन विमानस्थलमा गएर उक्त औषधिको निरिक्षणका काम सम्पन्न गरिसकेका छौं,’ प्रवक्ता केसी भन्छन्, ‘त्यसै हिसाबले प्रतिवेदन मन्त्रालयमा बुझाएका छौं।’
अर्कोतर्फ बहराइन सरकार र नेपालमा राजकुमारको पर्वतारोहण प्रवन्ध गर्ने ट्रेकिङ एजेन्ट ‘सेभेन समिट्स् ट्रेक’ले यस कुराको जानकारी बहराइनस्थित नेपाली दुतावासलाई गराइसकिएको दाबी गरेका छन्। उनीहरुका अनुसार दूतावासको अनुमति अनुसारै उक्त भ्याक्सिन नेपाल ल्याइएको हो।
यसरी हेर्दा बहराइनस्थित नेपाली दूतावासले नै यो मामलामा पर्याप्त संवेदनशीलता देखाउन नसकेको बुझिन्छ।
‘अझ परराष्ट्र मन्त्रालयबाट पछि प्राप्त पत्रमा अष्ट्राजेनेका कम्पनीले उत्पादन गरेको भ्याक्सिन नेपाल पठाइएको भनेर उल्लेख गरिएको थियो,’ प्रवक्ता केसी भन्छन्, ‘जबकि बहराइनका राजकुमारले ल्याएको भ्याक्सिन भने अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर तयार पारिएको अष्ट्राजेनेका नभइ बेइजिङ इन्स्टिच्यूट अफ बायोलोजिकल प्रडक्ट्स्ले तयार पारेको उत्पादन सिनोभाक देखिएको छ।’
चीनमा उत्पादित यो भ्याक्सिनका निम्ति पनि नेपाल सरकारले प्रयोगको अनुमति दिइसकेको बताउने प्रवक्ता केसीका अनुसार तर उक्त भ्याक्सिन अझै पनि चीनबाट आउने क्रममै रहेकाले यो हामीकहाँ प्रयोगमा भने आइसकेको छैन।

‘पछिल्लो समय बहराइनस्थित दुतावासले भ्याक्सिनको अघिल्लो विवरणलाई सच्च्याएर चीनकै उत्पादन उल्लेख गर्दै अर्को पत्र पनि पठाइसकेको छ,’ प्रवक्ता केसीले भने, ‘तर, अष्ट्राजेनेकाकै निम्ति पनि अनुमति नलिएको अवस्थामा यो फेरिएको भ्याक्सिनका बारेमा पनि निर्णय उही अवस्थामा झुण्डिन पुगेको छ।’
यो प्रकरणले नेपाली अधिकारीहरुलाई पनि अप्ठेरो अवस्थामा उभ्याइदिएको छ।
‘नखाउँ भने दिनभरिको शिकार भनेजस्तै भइरहेको छ,’ एक स्वास्थ्य अधिकारीले भने, ‘नलिउँ भने यत्रो माया गरेर अहिलेको अवस्थामा ल्याइदिएको भ्याक्सिन छ। लिउँ भने धनीमानी मुलुकका शक्तिशाली मानिसले भोली मायागरेको भन्दै नियमको उल्लंघन गर्दै अरुथोक पनि ल्याइदिए भने के गर्ने?’
औषधि व्यवस्था विभागले यस्तो घटना नेपालमै पहिलोपटक भोग्नुपरेको प्रवक्ता केसीले बताए।
सगरमाथा आरोहणका निम्ति नेपालले भर्खरै अनुमति खुला गरेपछि बहराइनका राजकुमार अल खलिफा एक दर्जनभन्दा बढी आरोहण दलको सदस्य लिएर काठमाडौं आएका हुन्। केहि साताभित्रै सगरमाथा चढ्ने उद्देश्य बोकेको यो टोलीका अधिकांश सदस्यहरु बहराइनको शाही सुरक्षादलका सदस्यहरु छन्। त्यसमध्ये केहि बेलायती नागरिक पनि छन्।
बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलिफा नेतृत्वको आरोहण दल छ महिनाअघि पनि नेपाल आएको थियो। त्यतिबेला टोलीको उद्देश्य मनास्लु हिमालको आरोहण थियो। गाउँमा स्वागत गर्ने क्रममा हर्षित भएका चुम नुब्री गाउँपालिकाको सामागाउँवासीले स्थानीय एक शिखरको नाम नै बहराइनको राजपरिवारमा समर्पित गरिदिएका थिए।
उनीहरुले परम्परादेखि ‘हुसुर डाँडा’ भन्दैआएको पाँच हजार मिटर अग्लो शिखरलाई ‘रोयल बहराइन पिक’ नामाकरण गरिदिएका थिए। त्यसै खुशीमा सोहि गाउँका गाउँलेलाई उक्त भ्याक्सिन प्रदान गर्ने उद्देश्यले बहराइनका राजकुमारले दुई हजार डोज चिनियाँ भ्याक्सिन आफ्नो साथमा बोकेर ल्याएका थिए।
तर, नेपाल सरकारले भ्याक्सिनको निर्णय लिन नसक्दा सोमबार रित्तो हात उक्त टोली त्यस गाउँमा पुगेको छ। हेलिकोप्टरबाट पुगेको उक्त टोलीलाई गाउँलेहरुले खादा ओढाएर स्वागत गरेका थिए।
भ्याक्सिन वितरणको कार्यक्रम स्थगित भएता पनि उनीहरुले अबको पाँच दिन ‘रोयल बहराइन पिक’को आरोहण प्रयास गर्नेछन्।
‘उक्त शिखरको आरोहण गरेरै पाँच दिनपछि काठमाडौं फेरि फर्कने योजना हो,’ सेभेन समिट्स ट्रेकका प्रवन्धक थानेश्वर गुरागाइले देशसञ्चारलाई बताए, ‘तर, मौसम प्रतिकूल भइदियो भने त्यसै भेगमा घुमफिर गरेर एक्लमेटाइज गरेपछि उनीहरु फर्कनेछन्।’
काठमाडौं आएको केहि समयपछि भने उनीहरु सगरमाथा क्षेत्रमा प्रस्थान गर्ने योजना छ।
बहराइन यतिबेला आफ्ना नागरिकलाई कोरोनाविरुद्धको भ्याक्सिन लगाउने विश्वमै अग्रस्थानमा रहेका मुलुकहरुमा पर्दछ।
तर, यसरी उपहारका रुपमा भ्याक्सिन ल्याउने बेलामा अन्तर्राष्ट्रिय प्रकृया पूरा गर्नुका साथै भ्याक्सिनका संवेदनशीलताहरु पनि पालना गरिनु जरुरी रहेको स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन्।
सबैभन्दा पहिले त यसले निश्चित तापक्रममा राखिनुपर्ने मापदण्ड पुरा गरेकै हुनुपर्छ। यसरी एक मुलुकबाट अर्को मुलुकमा ओसारपसार गर्दा त्यो मापदण्ड पालना भएको छैन भने त्यसले भ्याक्सिनको प्रभावकारितामै असर पार्छ।
‘त्रिभुवन विमानस्थलमा स्टोर गरेर राखिएको भ्याक्सिनको हामीले निरिक्षण गरेर आइसकेका छौं,’ औषधि व्यवस्था विभागका प्रवक्ता केसी भन्छन्, ‘त्यहाँ राखिएको बहराइनका राजकुमारले ल्याएको भ्याक्सिन उचित तवरबाटै तापक्रम मिलाएर स्टोर गरिएको छ र सुरक्षित छ।’
उक्त भ्याक्सिन सरकारले कसैगरि पछि फिर्ता गरेको खण्डमा बहराइनको आरोहण टोलीले चाहे अनुसारै वितरण गरिदिने सेभेन समिट ट्रेकका गुरागाइले स्पष्ट पारे।