नेपालमा पहिलाेपटक पर्वतीय पथ प्रदर्शक इजाजत पत्र दिन सुरु

पर्वतीय पथ प्रदर्शक परिचय पत्र लिँदै कीर्तिमानी आरोही कामी रिता शेर्पा (बिचमा) । तस्बिरः मिरा आचार्यको ट्वीटरबाट

काठमाडौँ – सरकारले पर्वतीय पथ प्रदर्शक इजाजत पत्र प्रदान गर्न थालेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालय अन्तर्गत पर्यटन विभागको पर्वतारोहण शाखा मार्फत पहिलो पटक इजाजत पत्र प्रदान गर्न थालिएको हो।

नेपालको पर्वतीय पर्यटनलाई थप व्यवसायिक, मर्यादित तथा व्यवस्थित बनाउने उद्देश्यसहित मंगलबारदेखि औपचारिक रुपमा पर्वतीय पथ प्रदर्शक इजाजत पत्र प्रदान गर्न थालिएको पर्यटन विभागकी निर्देशक मिरा आचार्यले जानकारी दिइन्।

पहिलो दिन मंगलबार झण्डै डेढ दर्जन इजाजत पत्र छापिएको उनले बताइन्। सबैभन्दा पहिलो इजाजत पत्र कीर्तिमानी आरोही कामी रिता शेर्पालाई प्रदान गरिएको हो।

निर्देशक आचार्यले भनिन्, ‘हामीले प्रक्रिया पूरा गरेर आउनेलाई इजाजत पत्र दिन थालेका छौँ। विभागमा अहिलेसम्म २०० जनाको हाराहारीमा इजाजत पत्रका लागि निवेदन परेको छ। योग्यता पुग्नेलाई क्रमशः वितरण गर्दै जाने छौँ।’

पर्वतीय पथ प्रदर्शक इजाजत पत्र प्रदान गर्ने सम्बन्धी व्यवस्थाले केही महिना पहिले कानूनी रुप प्राप्त गरेपछि सो अनुसार काम थालिएको विभागले जनाएको छ।

पर्यटन ऐन २०३५ मा हिमाल जाने व्यक्तिहरु को को हुन् र कस्ता व्यक्ति हुने हुन् भन्ने सम्बन्धी जानकारी पर्यटन विभाग वा मन्त्रालयलाई दिने वा हिमाल पठाउँदा सिफारिस गरि पठाउने जिम्मेवारी रहेको नेपाल पर्वतारोहण संघ (एनएमए) लाई छ।

हिमालमा जानका लागि पर्वातारोहण नियमावली २०५९ अनुसार आरोहण अनुमति प्राप्त गर्ने दलमा न्यूनतम एकजना पर्वतीय पथ प्रदर्शक चाहिन्छ। त्यही बमोजिम हालसम्म एनएमएले जसलाई भन्छ वा सिफारिस गर्छ विभागले त्यसलाई नै पर्वतीय पथ प्रदर्शक भन्ने गरेको थियो। त्यसमा ती व्यक्तिको क्षमता र योग्ताको कुनै व्यवस्था भने थिएन।

त्यसलाई चिरेर इजाजत पत्रलाई व्यवस्थित गर्नका लागि सरोकारवाला पक्षसँग छलफल गरि योग्यता निर्धारण गरेर सो अनुसार आवेदन माग गरि वितरण थालिएको निर्देशक आचार्यले बताइन्। हाल पर्यटन उद्योग सेवा प्रवाह निर्देशिकाको दफा ५७ मा पर्वतीय पथ प्रदर्शक इजाजत पत्र जारी गर्ने सम्बन्धी व्यस्वस्था छ।

त्यस अनुसार एनएमएले एड्भान्स पर्वतीय तालिम र अनुभवको आधारमा जारी गरेको रातो किताब धारी व्यक्तिले इजाजत पत्र प्राप्त गर्ने छन्। यस्तै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटी) बाट तह ४ को पर्वतारोहण गाइडको प्रमाण प्रत्र प्राप्त व्यक्तिले पनि इजाजत पत्र प्राप्त गर्ने व्यवस्था सो निर्देशिकामा छ।

यसैगरि पर्वतारोहण सम्बन्धी काम गरिरहेकाे व्यक्ति जसले कुनै पनि विदेशी निकाय वा संघ संस्था, तालिम केन्द्र, विद्यालय वा विश्वविद्यालयबाट पर्वतीय पथ प्रदर्शकसम्बन्धी शिक्षा पूरा गरेको भए त्यसको समकक्षता (इक्युभ्यालेन्ट) को प्रमाणपत्र सिटिइभिटीबाट लिएर विभागले जारी गर्ने इजाजत पत्र लिन सक्ने छन्।

हाल जारी भएको इजाजत पत्रको समयावधी पाँच वर्षको हुने र हरेक पाँच वर्षमा नविकरण गर्नु पर्ने व्यवस्था रहेको विभागकी निर्देशक आचार्यले बताइन्। नियममा व्यवस्था भए भन्दा बाहिरको कुनै पनि गतिविधि गरेमा जारी इजाजत पत्र खारेज हुन सक्ने व्यवस्था पनि छ।

अहिले नेपालमा वसन्त ऋतुको पर्वतारोहण सिजन सुरु भएको छ। हालसम्म अन्नपूर्णमा दुई तथा मनास्लु र नुप्सेका लागि एक–एक गरि चार आरोहण दललाई विभागले आरोहण अनुमति प्रदान गरेको छ।

चैत ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्