
काठमाडौँ – राइड सेयरिङ एप पठाओ बन्द गर्न लागिएको हल्लाकाबीच ट्विटरमा ‘आइ एम विथ पठाओ’ अभियान छेडिएको छ।
सस्तो र भरपर्दो सेवा दिइएरहेको पठाओ बन्द गर्न नहुने भन्दै ‘आइ एम विथ पठाओ’ अभियान छेडिएका हो।
ट्याक्सी व्यवसायीहरुले आफूहरुको पेशा नै संकटमा पर्न थालेकाले पठाओको विरोध गरिरहेका छन्।
विवाद बढेपछि बुधबारदेखि पठाओकाे पाेशाक लगाएर सडकमा ननिस्कन राइडरहरुलाई प्रहरीले चेतावनी दिएकाे छ। धेरैले प्रहरीकाे याे कदमलाई पठाओ बन्द गर्न लागिएकाे रुपमा बुझेका छन्।
तर ट्याक्सी भन्दा निकै सस्तोमा सेवा पाइरहेकोले पठाओलाई कुनै हालतमा बन्द गर्न नहुने भन्दै ट्विटरमा सुरु भएको ‘आइ एम विथ पठाओ’ अभियान ट्रेन्डिङमा परेको छ।
ट्विटरमा श्रृजना भुषालले लेखेकी छिन्, ‘सुन ट्याक्सी चालक हो… म जस्तो गरिब धेरै छन्, हामी तिमिहरुको ट्याक्सी चढ्न सक्ने हैसियतको छैनौँ, त्यसैले ‘आइ एम विथ पठाओ।’
अनिल बरालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै लेखेका छन्, ‘अस्ति बिहान अस्पताल जाने क्रममा बाटोमा अस्पतालको गाडि बिग्रियो। वरीपरी ट्याक्सी पनि थिएनन्। पठाओ बोलाएँ, सजिलै धुम्बाराहीबाट पुल्चोक १६५ रुपैयाँमा पुगियो। यो सेवा बन्द कुनै हालतमा हुनु हुँदैन।’
पर्पल हेज नाम गरेका ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘पठाओ र टुटल कुनै पनि राजनीतिक पार्टी सँग आबद्ध छैन, त्यसैले म यिनको समर्थन गर्छु। काम गरेर खानेलाई सम्मान गर्नु पर्छ।’
समन चित्रकारले लेखेका छन्, ‘आज बिहान मात्र एअरपोर्टबाट ६ देखि ८०० को माग गर्दै ब्याग खोस्न खोज्ने ट्याक्सीको सट्टा पठाओ गरेर ३०० मा बिना झन्झट माली गाउँ पुगियो। अलिअलि सुविधा भएको थियो, त्यसमा सरकारले थाहा पाइहाल्यो। कसले भन्छ सरकारको अनुगमन कम छ भनेर?’