एन्फा प्रेसिडेन्ट लिगः लुम्बिनीको जितमा नायक बने नशान लिम्बु

नेपालगञ्ज– पछिल्लो दुई खेलमा लगातार पराजित भएको लुम्बिनी प्रदेशको धम्बोझी क्लबले बागमतीको धादिङ समाजलाई पराजित गरेको छ।

लुम्बिनीको जितमा निशान लिम्बु नायक बनेका छन्। बागमतीलाई २–१ गोलले पराजित गर्ने क्रममा लुम्बिनीका लिम्बुले २ मिनेट र ६१ मिनेटमा गोल गरेका थिए।

पाँचौँ खेल खेल्दै गरेको लुम्बिनी लिगको शीर्ष चारभित्र पर्नका लागि आजको खेल जित्नै पर्ने दबाबमा थियो। ९ अंक बनाएको लुम्बिनीको शीर्ष चारभित्र पर्ने सम्भावना बलियो भएको छ। अब उसले अन्तिम खेल कर्णालीसँग खेल्ने छ।

अहिले नेपालगञ्जमा चलिरहेको एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चार टोलीले शहीद स्मारक ए डिभिजन लिग खेल्ने पाउने छन्।

बागमतीको तर्फबाट विजय भुजेलले १६ मिनेटमा गोल गरेका थिए। बागमतीसँगको खेलमा लुम्बिनीले सुरुवातदेखि नै आक्रमक खेलेको थियो। लुम्बिनीले केही राम्रा अवसर खेर फाल्दा फराकिलो जित निकाल्न सकेको थिएन। पाँच खेल खेलेको बागमतीले दुई जीत, एक बराबरी र दुई पराजय व्यहोरेको छ।

खेलमा लुम्बिनीका निशान लिम्बु म्यान अफ द म्याच भए।

अर्को खेलमा गण्डकी प्रदेशको त्रिवेणी एफसीले १ नम्बर प्रदेशको सैनिक युथ क्लब झापालाई २–० गोलले पराजित गरेको छ। गण्डकीबाट लक्ष्मण रुचालले ६१ मिनेट र विमल रानाले ७८ मिनेटमा गोल गरेका थिए। चौथो खेल खेलेको गण्डकीले तेस्रो जित निकालेको हो।

१ नम्बर प्रदेशको झापाले चार खेल्दा दुईमा पराजय, एकमा जित र एकमा बराबरी खेलेको छ। चार खेलेको खेलेको सुदूरपश्चिम तीन जीत र एक बराबरीका साथ अंक तालिकको शीर्ष स्थानमा रहेको छ।

चैत ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्