उपहार गोलले पोर्चुगल विजयी, रोनाल्डोका लागि खासै रहेन विश्वकप छनौटको पहिलो खेल

पोर्चुगलले उपहार गोलबाट विश्वकप फुटबल छनौट चरणमा विजयी सुरुवात गरेको छ । युरोपेली क्षेत्रको छनौट चरण अन्तर्गत आफ्नो पहिलो खेलमा समूह ए मा रहेको पोर्चुगलले बुधबार राति अजरबैजानलाई १–० ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा पोर्चुगलको जितमा ३७ औँ मिनेटमा अजरबैजानका माक्सिम मेडभेडेभले गरेको आत्मघाती गोल नै निर्णायक बन्यो ।

क्रिष्टियानो रोनाल्डोका लागि बुधबार रातिको खेल यादगार बनेन । उनले गोल गर्न सकेनन् । उनले गरेको ओभरहेड किक गोल बारभन्दा माथिबाट गयो । यस्तै उनले गरेको फ्रि किक प्रहार पोस्ट भन्दा निकै बाहिर गयो भने अर्को शक्तिशाली प्रहार अजरबैजानका गोलरक्षकले रोके ।

रोनाल्डोले अन्तर्राष्ट्रिय खेलमा १०२ गोल गरेका छन् । उनी अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने अलि दाई भन्दा सात गोल पछि छन् ।

बुधबार राति नै भएको समूह ए को अर्को खेलमा सर्बियाले रिपब्लिक अफ आयरल्याण्डलाई ३–२ ले पराजित गरेको छ । सर्बिया र पोर्चुगल समान तीन अंकसहित समूहको शीर्ष दुई स्थानमा छन् ।

चैत १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्