आफ्नै खर्चमा प्रशिक्षण गराएर ‘च्याम्पियन’ उत्पादन गरिरहेका ७१ वर्षे भोलेन्टियर ‘गुरु’

काठमाडाैँ– केही वर्षअघि उनलाई फोन आएको थियो, ‘दाइ एक जना राम्रो खेलाडी छ। राम्रो दौडन सक्छ।  तपाईँले हेर्दिनु पर्‍यो।’ घरमै बसिरहेका रघु वन्तले जवाफ दिए- हुन्छ, पठाऊ न त ! एकपटक हेरौँ।

केही दिनपछि ती खेलाडी वन्तको सम्पर्कमा पुगे। उनलाई देखेपछि वन्तलाई लाग्यो- यो खेलाडी केही बन्न सक्छ। अनि सुरु भयो- प्रशिक्षण।

केही समयपछि नतिजा देखिहाल्यो- भूमिराज राई नेपालभित्र सबैभन्दा चाँडो दौडने म्याराथन धावकका रुपमा नयाँ कीर्तिमान बनाउन सफल भए। सन् २०१८ मा भएको काठमाडौँ म्याराथनमा उनले व्यक्तिगत समय करिब १० मिनेटले सुधार गरेका थिए।

त्यहीबीचमा उनले एपीएफका गोपीचन्द्र पार्कीलाई पनि प्रशिक्षण गर्न थालेका थिए। उनै पार्कीले नेपालगन्ज म्याराथनमार्फत नयाँ कीर्तिमान बनाए २ घण्टा १९ मिनेट ५९ सेकेण्डमा दौडिएर।

वन्त उपत्यकामा हुने विभिन्न एथलेटिक्स प्रतियोगिताहरु अवलोकन गर्न पुगिरहन्छन्। यहीक्रममा उनले सन्तोषी श्रेष्ठलाई भेटे। उनलाई लाग्यो- यसले केही गर्न सक्छे। उनी आफैले सन्तोषीसँग ‘अप्रोच’ गरे। आफ्नै तरिकाले दौडिरहेकी सन्तोषी राजी भइन्। अनि सुरु भयो प्रशिक्षण।

काठमाडौँका सडकमा सन्तोषीलाई दौडाउँदै उनी पछि लाग्न थाले। उनै सन्तोषीले गत वर्ष नेपालमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितिन् र यो प्रतियोगितामा यस्तो सफलता प्राप्त गर्ने पहिलो नेपाली धाविका बनिन्।

‘अहिले मसँग १०/१२ जना केटाकेटी छन्। भर्खरै मात्र २५ किलोमिटर दौडाएर आएको’, मंगलबार बिहान अन्तर्वार्ताका लागि बुढानिलकण्ठबाट हस्याङफस्याङ गर्दै दशरथ रंगशालामा आइपुगेका ७१ वर्षे वन्त भन्दै थिए।

वन्त आफ्नो समयका राष्ट्रिय च्याम्पियन स्प्रिन्टर हुन्। एक सय मिटरमा ६ पटक राष्ट्रिय च्याम्पियन भए। दुई सय मिटरमा पनि दुईपटक जिते।  त्यो समय जितबहादुर केसी, बैकुण्ठ मानन्धरको पनि थियो। उनीहरु म्याराथन दौडन्थे। प्रशिक्षक कोही थिएनन्। ठमेलको सम्पन्न परिवारमा हुर्किएका वन्तसँग ठूलो लाइब्रेरी थियो। स्पोर्टससँग सम्बन्धित पत्रिकाहरु नियमितरुपमा बाहिरबाट उनको घरमा आउँथ्यो।

अमेरिकाबाट प्रकाशित हुने ‘रनर्स वर्ल्ड’का नियमित पाठक थिए उनी।  त्यसैबाट उनी स्पोर्टसबारे पढ्थे। प्रशिक्षणबारे ज्ञान लिन्थे र रंगशालामा आएर सुनाउँथे।

उनी त्यतिबेला प्रशिक्षणको ज्ञान भएका खेलाडी मानिन्थे। खेलाडीहरुलाई जुत्ता, कपडा दिएर सहयोग गर्थे। उनी एथलेटिक्स मात्र होइन, बडी बिल्डिङका पनि राष्ट्रिय च्याम्पियन भए।

‘मैले सहयोग गर्नुपर्छ भनेर गरेको थिइन। त्यतिबेला त्यस्तै चेत आउँथ्यो।’ 

खेलिरहेकै समयमा उनी अध्ययनका लागि जापान जानु पर्ने भयो। १९७७/७८ ताका रघु वन्त जापानमा अर्थशास्त्र पढ्दै थिए। विदेशी भूमिमा पनि उनी खेलकुदमा संलग्न भइरहे। विश्वविधालयका विभिन्न खेलकुद गतिविधिमा सहभागी हुन्थे। त्यहाँका खेलकर्मीहरुसँग उनको चिनजान बढ्दो थियो।

उनलाई लाग्थ्यो- हामी नेपाली खेलाडीमा के कुराको कमी छ र गर्न सक्दैनौँ ? के गर्दा माथि जान सकिन्छ भन्ने बुझ्ने प्रयास गर्दै थिए।  उनले त्यहाँ स्पोर्टस फिजियोलोजी पढे। स्पोर्टस रिह्याब पढे।

‘त्यहीँबाट मैले थाहा पाएँ स्प्रिन्टको लागि प्रशिक्षण गर्दा म कसरी बडी बिल्डिङको खेलाडी भएछु भनेर!’

स्पोर्टस फिजियोलोजीबाट उनले जाने- खेलकुदमा हाम्रा शरीरका अङ्ग र मसलहरुले कसरी काम गरिरहेका हुन्छन् ? कसरी प्रशिक्षण गर्ने र चोटबाट बच्न र निको हुन कसरी काम गर्ने ? उनको निष्कर्ष थियो- हामी पनि माथि जान सक्छौँ। वन्तले नेपाली एथलेटिक्समा लामो दूरीको दौडमा भविष्य देखे र एक दिन बैकुण्ठ मानन्धरलाई  सोधे- तँ साँच्चि नै दौडने हो ?

‘त्यतिबेला नेपाली खेलाडीमा डिसिप्लिन, डेडिकेसन र डिटरमिनेसन तीनवटै कुरा थियो। यही कुराले मात्र हामी अगाडि बढिरहेका थियौँ। बैकुण्ठ प्राविधिक हिसाबले अन्य खेलाडीभन्दा तल नै थियो। तर ऊसँग गट्स थियो। उसले आँटथ्यो। मेरो प्रश्नको जवाफमा हुन्छ भन्यो।’

बैकुण्ठलाई उनले जापान बोलाए। उनलाई लिएर त्यहाँ विभिन्न कोचहरुसँग पुगे। ट्रेनिङको व्यवस्था गरे। बैकुण्ठले कति बेला के खाने, कति खाने, कसरी प्रशिक्षण गर्ने भन्ने बुझे। केही समयपछि दुवै जना नेपाल फर्किए।

वन्तले जानेका प्रशिक्षणका ज्ञानहरु प्रशिक्षकहरुलाई दिन थाले, खेलाडीहरुसँग बाँड्न थाले। घाइते भएपछि कसरी निको हुने भन्ने तरिकाहरु सिकाउन थाले। त्यतिबेलाका खेलाडीहरुलाई उनी गाली गर्थे – तिमीहरु आँट गर न ! सँधै बैकुण्ठको पछिपछि दौडिएर मात्र हुन्छ ?

‘त्यतिबेला पटियालाबाट सिकेर नेपाली प्रशिक्षकहरु आउन थालेका थिए। तर साइन्स बिहाइन्ड कोच कमैलाई थाहा थियो। जबसम्म खेलाडीलाई कुनै पनि कुरा किन सिक्दैछु र यसले के फाइदा हुन्छ भन्ने थाहा हुँदैन तबसम्म उनीहरुलाई सेल्फ मोटिभेट गर्न गाह्रो हुन्छ। प्रशिक्षकहरुसँग उनीहरुले सिकाउने हरेक स्टेपको साइन्स थाहा हुनुपर्छ र खेलाडीलाई त्यो बुझाउनुपर्छ।’ 

जापानसँग वन्तले यति राम्रो सम्बन्ध बनाएका थिए कि त्यहाँबाट हरेक वर्ष हजारौँ मूल्य पर्ने दर्जनौँ जोर जुत्ताहरु नेपाल आउँथ्यो। यसले नेपाली धावकहरुलाई ठूलो राहत प्राप्त भएको थियो। बैकुण्ठले सन् १९७८ को बैंकक एसियन गेम्समा २ घण्टा २१ मिनेटमा दौडिएका थिए। त्यसअघि बैकुण्ठ २ घण्टा ३० मिनेटभन्दा बढी समय लगाउँथे।  त्यतिबेला केन्याका खेलाडीको बेस्ट टाइम २ घण्टा २२ मिनेट हाराहारीमा थियो। दक्षिण एसियामा अहिले बलियो मानिएको श्रीलंका त्यतिबेला नेपालभन्दा तल थियो।

बैकुण्ठले पछि एकपटक २ घण्टा १५ मिनेटमा पनि दौडिए जुन हालसम्म नेपालको कीर्तिमानी समय हो। त्यसको केही समयमै केन्याका खेलाडीहरु २ घण्टा १२ मिनेटमा दौडिन थालेका थिए। त्यति समयमा दौडिने दर्जनौँ खेलाडीहरु त्यहाँ जन्मिए। बैकुण्ठले त्यसपछि आफ्नै कीर्तिमान भेट्न सकेनन् तर उनले दक्षिण एसियाली खेलकुदमा लगातार तीनपटक स्वर्ण जिते।

काठमाडौँमा भएको पहिलो दक्षिण एसियाली खेलकुदमा बैकुण्ठले २ घण्टा २७ मिनेटमा दौड पूरा गरेका थिए। यो प्रतियोगिताको  चौथो संस्करणमा उनी कास्यमा सीमित भए। पाँचौँ र छैटौँ दक्षिण एसियाली खेलकुदमा नेपालले एथलेटिक्सतर्फ स्वर्ण जित्न सकेन। त्यतिबेला वन्त एथलेटिक्स संघको नेतृत्वमा आइसकेका थिए। उनलाई भित्रभित्रै लज्जाबोध हुँदै थियो। यो त हुँदै भएन भनेर उनले टिका बोगटी र गणेश राईलाई प्रशिक्षण गर्न बैकुण्ठ र नरबहादुर दाहाललाई जिम्मा दिए।

‘मैले टिका र गणेशलाई थुनेरै प्रशिक्षण गराएँ। तर एक वर्षपछि बैकुण्ठले उनीहरुलाई प्रशिक्षण गर्न छाड्यो। मैले हिम्मत हारिनँ। १९ महिनाको प्रशिक्षणपछि सातौँ दक्षिण एसियाली खेलकुदमा टिकाले स्वर्ण र गणेशले रजत जित्यो।’

टिकाले २ घण्टा १९ मिनेट र गणेशले २ घण्टा २० मिनेट हाराहारीमा दौड पूरा गरेका थिए। एथलेटिक्समा पदक जित्नु एउटा कुरा र समय सुधार्दै दौडिनु अर्को कुरा हुन्छ। यी दुवै कुराको तालमेल मिलाउने खेलाडी स्तरीय दरिन्छ। उनको दाबी छ- गणेश र टिकाले जितेको पदक फ्लुकमा थिएन। उनीहरुले राम्रो समय निकालेर राम्रा खेलाडीलाई पछाडि पारेर शीर्ष दुई स्थानमा रहेका थिए।

वन्तलाई लागेको थियो- केन्या जसरी माथि आयो, बैकुण्ठले नेपाललाई त्यसरी नै माथि ल्याउन सक्छन्। सन् १९९८ ताका वन्त एकाएक खेलकुदबाट हराएजस्तै भए। उनले संघसहित सबै खेलकुद निकायबाटै राजीनामा दिइसकेका थिए। पैसा खाएको, खेलाडी बाहिर भगाएको आरोप उनका लागि सहिसक्नु थिएन। उनकै शब्दमा त्यो हदसम्मको ‘डर्टी पोलिटिक्स’को शिकार भए उनी। आफूलाई संघबाट फाल्ने रणनीति उनले बुझे।

‘त्यतिबेला सरकारले पैसा दिने भनेको खेलाडी बाहिर जाँदा टिकट काट्दिन्थ्यो। मैले भारतमा एकैपटक ५० जना खेलाडीलाई खेल्न पठाएको थिएँ। मेरो करिब ३ लाख रुपैयाँ खर्च भएको थियो। मैले त्यो फिर्ता पाइनँ।  त्यतिबेलाको त्यो ठूलो रकम थियो नि हैन! तर हटाउनका लागि अनेक आरोप र षड्यन्त्र हुने रहेछ।’

उनले १५/१६ वर्ष दशरथ रंगशालामा पाइला टेकेनन्। परिवार र आफ्ना अरु कामहरुमा समय दिए। उनका दुवै छोराको रुचि खेलकुदमा थियो। जेठो छोरा  पौडीको अन्तर्राष्ट्रिय खेलाडी भए भने रानी पोखरी कर्नर टिम-आरसिटीबाट ए डिभिजन लिग खेल्थे। उनीपछि अध्ययनका लागि अमेरिका गए। कान्छो छोरा आफूजस्तै स्प्रिन्टर बनोस् भन्ने चाहना उनको थियो।

उनी पनि अध्ययनका लागि अस्ट्रेलिया पुगे। १२ औँ दक्षिण एसियाली खेलकुद अघि उनी दशरथ रंगशालाको बाटो भएर गइरहेका रहेछन्। रंगशालाभित्र भिड देखेपछि उनको मन मानेन। रंगशालाको अवस्था दयनीय देखे। उनलाई लाग्यो- जेजस्तो भए पनि मैले यी खेलाडीहरुलाई मोटिभेट गर्नुपर्छ। उनले खेलाडी जम्मा गरेर मोटिभेसन दिए। खेलाडीहरु खुशी देखिए। त्यसपछि ती खेलाडी र उनीहरुको खेल हेर्नकै लागि भए पनि उनी गइरहन्थे। उनका झोलामा जीवनजल र  चक्लेट कहिल्यै छुट्थेन। ट्रेनिङपछि खेलाडीहरुलाई बाँडिदिन्थे। उनी खेलाडीलाई भन्थे-आफूलाई विश्वास गर है।

‍‍‍….

मंगलबार दशरथ रंगशालामा भेट हुँदा उनी बिहानी प्रशिक्षणको बेलिविस्तार लगाउँदै थिए। खेलाडीहरुलाई बुढानीलकण्ठसम्म दौडाएर खाजाको बन्दोबस्त गरेपछि फर्किएका रहेछन्। उनी खेलाडीको प्रदर्शन हेर्छन् र नियमित छ कि छैन भनेर बुझ्छन्।

सम्भावना देखे उसका परिवारहरुसँग कुरा गर्छन् र हरेक दिन प्रशिक्षणका लागि हुने खर्चको व्यवस्था आफै गर्छन्। खेलाडीलाई आवश्यक पर्ने जुत्ता, कपडालगायत आफै व्यवस्था गरिदिन्छन् र बेलाबखत खर्च पनि दिन्छन्।

‘हरेक प्रशिक्षकलाई आफ्नो खेलाडी राम्रो भइदियोस् र मेरो पनि नाम राख्दियोस् भन्ने लोभ हुन्छ। त्यसका लागि उनीहरुलाई ट्रेनिङमा घोटेर मात्र हुँदैन। उनीहरुका अन्य पक्षलाई पनि ख्याल गर्नुपर्छ, नजर पुर्‍याउनुपर्छ। उसलाई टेक्निकल्ली मात्र नभएर स्प्रिच्युअल्ली पनि प्रशिक्षण गराउनुपर्छ। म टोटलमा प्रशिक्षण गर्छु। उसका अरु समस्याहरु पनि बुझिदिन्छु र सक्नेजति सहयोग गर्छु। मेन्टल ट्रिटमेन्ट ठूलो कुरा हुन्छ प्रशिक्षणमा।’

खेलाडी राम्रोसँग दौडन र उसको प्रदर्शन सुधार गर्न ‘मेन्टली स्ट्रङ’ हुनुपर्छ भन्ने उनले बुझेका छन्। जापानबाट फर्किएपछि वन्तलाई नेपाल आर्मीको एक बटालियनले प्रशिक्षणका लागि आग्रह गरेको रहेछ। उनले शर्त राखे- तपाईँहरुले गाई पाल्नु भएको छ, हरेक दिन खेलाडीलाई दूध र अण्डा दिनुहुन्छ त ? खेलाडीलाई डाइट कति आवश्यक छ भन्ने उनले बुझेका थिए।

आफूलाई दिइने भनिएको ८/९ हजार रुपैयाँ पनि उनले खेलाडीलाई डाइट खुवाउन खर्च गर्न भने। आर्मीको संसद बटालियन तयार भयो। यो बटालियनले त्यसपछि आर्मीको खेलकुदमा एक दशकभन्दा लामो समय राज गर्‍यो। उनी केही समययता एपीएफ क्लबको टोली हेरिरहेका छन्। तर एक रुपैयाँ पारिश्रमिक लिएका छैनन्।

‘मैले मलाई दिने पैसा खेलाडीलाई डाइट खुवाउनुस् भनेको छु।’

केही वर्षअघि उनले अजितकुमार यादवलाई १० किलोमिटर दौडमा भाग लिन भारतमा लगे। एपीएफ स्कुलमा पढ्दा अजितले दौडिएको उनले देखेका थिए। अजित पछि एपीएफमा पनि आइरहन्थे। उनलाई प्रशिक्षण गरे। भारतमा हुन लागेको  खुला प्रतियोगितामा केन्याका खेलाडीसमेत सहभागी थिए। त्यहाँ वन्त आफैले सम्पूर्ण खर्च गरे। अजित चौथो भए करिब ३० मिनेटमा दौड पूरा गरेर। यो सामान्य प्रदर्शन लागेन वन्तलाई। अजितले पछि एसियाली युथ च्याम्पियनसिपको तीन हजार मिटरमा स्वर्ण पदक जिते।

‘खेलकुद भनेको आजको भोलि नतिजा देखिने होइन। यो स्टेपिङ स्टोन हो। एउटा स्टेप चढेपछि त्यहाँ अडिरहनु नराम्रो होइन तर झर्नु चाहिँ खराब हो। हरेक जेनेरेसनले गरेर देखाउने हो र नयाँ आउने जेनेरेसनले त्यसलाई बिट गर्न खोज्ने हो। जितबहादुर केसीले गरेपछि बैकुण्ठलाई पनि म गर्न सक्छु भन्ने आँट आयो होला। बैकुण्ठलाई देखेर टिकालाई पनि म गर्न सक्छु भन्ने आँट आयो होला। भूमि र गोपीले पनि उनीहरुलाई देखेरै यहाँसम्म आइपुगेका हुन्। मैले भन्न खोजेको आत्मविश्वास क्या !’

वन्त हरेक दिन झिसमिसे अध्याँरो छँदै उठिसकेका हुन्छन्। खेलाडीहरुलाई आफै फोन गरेर उठाउँछन्। कतिपटक आफूबारे उनले ‘ यो एथलेटिक्सको बहुला’ हो भन्ने खालका टिप्पणी पनि सुनेका छन्। संघले काम गर्न नसकेको, खेलाडीलाई बाहिर प्रशिक्षण र प्रतियोगितामा सहभागी नगराएको भन्ने खालका आक्रोश पनि उनको मुखबाट सुनिने गरिन्छ। संघका पदाधिकारीले उनलाई राजनीति गर्‍यो भन्ने खालका आक्षेप लगाउने रहेछन्। आफू संघमा नभएको बेला केही नगर्ने अहिले यो गरेन त्यो गरेन भनेर टिप्पणी गर्दोरहेछ भनेको सुनेका छन्।

‘मेरो ब्रम्हले देखेको भन्ने हो। त्यसबाट मैले लिनु नै के छ र। त्यो समय र यो समयको तुलना गरेर कहाँ हुन्छ र भाइ? विल ह्याम अल फ्यासिलिटी र अपर्च्युनिटी नाउ । विल पावर चाहियो । गट्स चाहिन्छ। त्यो म अहिले देख्दिन।’

तर उनी आफ्नो बाटोमा अडिग छन्। एक्लै हिँड्न पनि तयार छन्। आफू नजिककालाई मलाई मोटिभेट गरिराख है भनेर आग्रह गर्छन्। वन्तलाई के खुशी लाग्छ रे भने उनले जे गरे,  त्यो गर्ने नयाँ पुस्ता तयार भइसकेको छ। सन्तोषी श्रेष्ठ, सुनिल राजबंशीहरु आफूले सक्नेजति सहयोग गर्दै हिँडेको उनले देखेका छन्। उनले जति पनि गरिरहेका छन् त्यसले उनलाई असीम खुशी दिन्छ रे।

 ‘जब नातिनातिना समानका केटाकेटीलाई बाटो देखाइरहेको हुन्छु त्यसले आनन्दित बनाउँछ।’

उनले  ‘ह्युमन साइड अफ दी कोच’बारे किताब लेखिरहेका छन्। सायद यस पुस्तकले उनको प्रशिक्षण जीवनलाई अझ उघार्ने छ। उनको फिलोसोफी अझ स्पष्ट हुने छ। त्यसअघि उनी भन्छन्- एउटा कोच भनेको गाइड पनि हो, अभिभावक पनि हो र गुरु पनि।  उसले आफूलाई स्प्रिच्युअल्ली पनि स्टाब्लिस गर्नुपर्छ। तर नेपालमा धेरै जसो कोचहरुले आफ्नो पेट भर्ने मात्र काम गरेका छन्।  गुरु बन्न त गाह्रो छ नि भाइ !

भिडियो पनि हेर्नुहोस्:

चैत १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्