एन्फा प्रेसिडेन्ट लिगको उपाधि सुदूरपश्चिमलाई

नेपालगञ्ज– नेपालगञ्जमा सञ्चालन भएको एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको उपाधि सुदूरपश्चिमको स्टार सिटी युवा क्लव, कैलालीले जितेको छ।

एक खेल अगाडि नै लिग च्याम्पियन भएको स्टार सिटीले आइतबार भएको अन्तिम खेलमा पनि जित निकालेको छ। स्टार सिटीले अन्तिम खेलमा गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लव, लमजुङलाई ३–२ गोलले पराजित गरेको हो।

सदूरपश्चिमले प्रतियोगितामा १६ अंक जोड्यो।

लुम्बिनी प्रदेशको लिग च्याम्पियन नेपालगञ्जको धम्बोझी क्लव उपविजेता बनेको छ। धम्बोझीले चार खेलमा जित निकाल्यो भने दुईमा पराजय व्यहोर्‍यो। चार खेल जितेको धम्बोझी १२ अंक जोड्दै लिगमा दोस्रो भयो।

लिगमा २ नम्बर प्रदेशको लिग च्याम्पियन मनकामना युवा क्लव रौतहट तेस्रो भएको छ। आइतबार भएको अन्तिम खेलमा १ नम्बर प्रदेशको लिग च्याम्पियन सैनिक फुटबल क्लव झापालाई २–१ गोलले पराजित गरेपछि रौतहट तेस्रो भएको छ। रौतहटले तीन जीत निकालेर नौ अंक जोडेको थियो।

गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लव, लमजुङको समान ९ अंक भएपनि हेड टु हेडका आधारमा रौतहट तेस्रो भयो भने लमजुङ चौथो भयो।

एन्फा प्रेसिडेन्ट लिगमा शीर्ष चारभित्र पर्ने टोलीले शहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने छन्। सात वटा प्रदेशका लिग च्याम्पियनले भाग लिएको खेलमा १ नम्बर प्रदेशले सात अंक, बागमतीले ६ अंक र कर्णाली प्रदेश एक अंक जोड्यो।

प्रतियोगिताको विजेता सुदूरपश्चिमको स्टार सिटीले दश लाख रुपैयाँ र उपविजेता लुम्बिनीको धम्बोझी क्लवले ५ लाख रुपैयाँ पाएका छन्। विजेतालाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार वितरण गरे।

चैत १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्