गरुड सपना

अन्तरिक्षमा उड्ने नेपाली सपना

तस्बिरहरु: सुलभ श्रेष्ठ

रात पनि दिन जस्तै भए मोहन तामाङका लागि । कति रात घोत्लिएरै बिते । कति दिन पेचकस र तार जोड्दैमा बिते । कति दिन नसुतेर बिताए उनलाई याद छैन तर कसरी राम्रो बनाउन सकिन्छ भन्ने हरेक क्षण मनमा हुन्थ्यो ।

रकेट उडाउने सपना देख्न उनलाई रात चाहिएन र सपना साकार पार्न दिनमात्र पर्याप्त भएन । त्यसैले त नेपाली आकाशमा उड्यो ‘गरुड’, नेपालको पहिलो रकेट ।

तामाङसँगै ओआरएएसएस नेपालका ३० जनाकै दिन रातको मेहनत थियो ‘गरुड’’ ।

चैत सात गते धनुषाको भिमानमा रकेटले जमिन छोड्नु अघिसम्म पनि के होला ? भन्ने थियो आश्विनी खरेललाई । उनले भनिन्, ‘किनभने यो पहिलोपटक थियो ।’

रकेट करिव १५० मिटर माथि पुगेर खस्यो । आश्विनी भन्छिन्, ‘हावाको गतिका कारण रकेटको दिशा मोडियो । रकेट उडाउनु अघि हामीले त्यो परीक्षण गर्न पाएनौँ । परीक्षण गर्ने ठाउँ पुल्चोक इन्जिनियरिङ कलेजमा छ तर हाम्रो रकेट त्यसमा अटेन ।

‘नोजल’ (रकेटको फ्युल बल्ने पाइप, जसको फोर्सका कारण रकेट माथि उड्छ) पग्लिएर रकेटको दिशा मोडियो तामाङले भने, ‘हाम्रो इन्जिनको क्षमता पनि कम भयो ।’

रकेट १० हजार फिट (तीन किलोमिटर) पुर्‍याउने लक्ष्य छ । रकेटमा जोडिएको स्याटेलाइट प्यारासुटबाट झार्ने योजना टिमको छ ।

काठमाडौँको थापाथली क्याम्पसको ल्याबमा भग्नावशेष छ, ‘गरुड’ । आश्विनी भन्छिन्, ‘हामीले हरेस खाएका छैनौँ । यतिसम्म गर्न सक्यौँ भने यो भन्दा राम्रो पनि बनाउन सक्छौँ भन्ने विश्वास छ ।’

‘गरुड’ फेरि तयार हुँदैछ अर्को उडानका लागि । आश्विनीले भनिन्, ‘दुर्घटनाग्रस्त भएको ‘गरुड’ लाई फेरि सुरुबाट नै बनाउनु पर्ने छ । अब पहिलाको जति समय लाग्दैन ।’

‘तर हामीसँग परीक्षण गर्न ल्याब छैन, जसका कारण सोचेको जस्तो बनाउन सकिएको छैन’, उनले भनिन् ।

गरुड बनाउने टीम ।

गरुड’ जुन २२ का लागि तयार हुँदैछ । स्पेस पोर्ट अमेरिका कप २०२१ का लागि । यो रकेट साइन्सका लागि विश्वको सबैभन्दा ठूलो प्रतियोगिता हो । ‘अमेरिकाको न्यू मेक्सिकोमा हुने कार्यक्रममा विश्वका ५२ वटा देशले भाग लिँदैछन्’, खरेलले भनिन्, ‘जसमा नेपालबाट हामी अर्थात ओरस (ORASS) सहभागी हुँदैछ ।’

यसमा सहभागी हुने प्रयास पहिलो भने होइन । यसअघि २०१९ मा पनि उनीहरु प्रयास गरिसकेका थिए।

२०१४ मा रकेट सम्बन्धी नै एक प्रतियोगितमा जापान गएका मोहन त्यहाँको टेक्नोलाजी देखेर लोभिए । उनलाई त्यतिबेला नै लागेको थियो, हामीले पनि गर्नुपर्छ । नेपाल फर्किए र सानातिना रकेट बनाउने उडाउने गरे । सुरुवात उनको वाटर रकेटबाट भयो ।

उनी भन्छन्, ‘रकेट साइन्स बुझ्नका लागि त्यो पहिलो स्टेप हो । हामीले त्यसैमा काम गर्‍यौँ, त्यसैलाई परिस्कृत रुपमा बनाउँदै गयौँ’, उनले भने । त्यसपछि सोडा क्यानमा अट्ने स्याटलाइट बनाएर विभिन्न ठाउँमा उनले प्रदर्शन गरे ।

काठमाडौँको डिल्लीबजारमा काइचो ग्रुप थियो । थ्योरिटिकल पढाइभन्दा प्राक्टिकल पढाइहुनु पर्छ भन्ने कुरामा जोड दिन्थ्यो । आश्विनी भनिन्, ‘रिसर्च एण्ड डेभलपमेन्टको काम गर्थ्यो।’ मोहन तामाङ डिल्लीबजारको काइचो ग्रुप गइरहन्थे । आश्विनी खरेल, रमेश साउद, अनुसा मगर पनि त्यहाँ पुगेकै हुन्थे । डेढ वर्षअघि उनीहरुको भेट भयो । फरक–फरक विश्वविद्यालयका उनीहरु मजाले गफिन्थे ।

पहिलेदेखि नै गर्दै आएका मोहनको यो काममा काइचोमा भेट भएकाहरुले चासो दिन थाले । यसैमा काम गर्न साथ जुट्दै गयो । विद्यार्थीहरुका लागि स्पेस सम्बन्धी हुने क्रियाकलापबारे मोहन खोजी गरिरहन्थे । खोज्दै जाँदा उनले स्पेस पोर्ट अमेरिका कपको बारेमा भेट्टाए । उनीहरुको अमेरिकाको यही प्रतियोगितमा भाग लिन निवेदन दिए । उनीहरु छानिएनन् ।

मोहन भन्छन् ‘यसअघि छनौटमा नपरेको फ्रस्टेसन थियो । अब यसलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्छ भन्नेमा सबैको समर्थन भयो ।’ यसअघि उनीहरुले आ–आफ्नो विश्वविद्यालयको नामबाट भाग लिएका थिए जुन सफल भएको थिएन ।

त्यतिबेला बेलुकाको ७ बजिसकेको थियो । ‘होइन अब ग्रुप नै बनाएर प्रोफेसनल भएर अघि बढ्नुपर्छ भन्ने सबैको सहमत भयो । अनि बन्यो ओआरएएसएस । हामीले त्यतिबेला नै फर्म भरेर फेरि सुरु गरेको हो’ मोहनले भने ।

‘चारजना मात्र हैन टिम नै भयो भने बेष्ट हुन्छ भन्ने हामीलाई लाग्यो’, आश्विनीले भनिन्, हामीले ओरस (ORASS) टीम बनायौँ । फरक–फरक क्षेत्रका चिनेका र आवेदन मार्फत टीममा सामेल भए। ओरससँग अहिले ३० जनाको टीम छ, जसमा ७ वटा विश्वविद्यालयका विद्यार्थीहरु छन् ।

योजना करिब डेढ वर्षअघिको भए पनि लकडाउनका कारण गरुड’ बन्न अगस्ट २६ बाट सुरु भयो । लकडाउनभर योजना बन्यो। विचार आदानप्रदान भयो । मनकारीहरुले आर्थिक सहयोग गरे । सहयोगबाट उठेको करिब ६ लाख रुपैयाँले गरुड’ उड्न लायक बन्यो । उनीहरुले थापाथलीको इन्जिनियरिङ क्याम्पसमा गरुड’लाई तयार पारे । मोहन भन्छन् ‘अब त्यति समय र पैसा लाग्दैन । अर्को तयार हुन दुई लाखसम्म लाग्छ होला ।’

सुरुमा आनाकानी गरेको नाष्टले अहिले सहयोग गरेको छ । मोहनले भने, ‘यसमा नयाँ इनोभेसन केही छैन भनेर सुरुमा नाष्टले रिजेक्ट गरेको थियो तर अहिले हरेस नखानु भनेको छ । सहयोग गर्ने आश्वासन दिएको छ ।’

काममा तल्लीन माेहन र आश्विनी ।

जुन २२ मा ‘गरुड’ अमेरिकाको आकाशमा उड्ने छ । अहिले तीन किलोमिटर मात्र । तर टिमको सपना छ नेपाललाई स्पेससम्म पुर्‍याउने । मोहन भन्छन्, ‘नेपालको आफ्नै स्याटेलाइट लञ्चर हुनेछ, हाम्रो आफ्नै स्याटेलाइट अन्तरिक्षमा घुम्ने छ । हामी यही टिमलाई अगाडि बढाएर यो सपना पूरा प्रयास गर्नेछौँ ।’

आफ्नै रकेट उडाउन कसैले आँटेनन् जस्तो लाग्छ मोहनलाई, उनी भन्छन्, ‘सायद कसैलाई यो कुरा महत्वपूर्ण लागेन होला । किनकि हामीलाई चाहिएको छैन नि त ।’

खै किन हो थाहा छैन कसैले सुरुवात गरेन, हामीले सुरुवात गर्‍यौँ आश्विनीले भनिन्, ‘हामीले यति गर्न सक्यौँ भने अब गर्न खोज्नेहरुका लागि यो एउटा बाटो हुनेछ । जसले नेपाललाई अन्तरिक्षसम्म आफ्नै बलबुतामा पुर्‍याउने छ ।’

चैत १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्