नेपाल र रावललाई ओलीको पत्र : सच्चिएर आए निलम्बित अवधि घटाइ दिन सक्छु

काठमाडौँ – एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेता भीम रावल पार्टीबाट निष्कासित भएका छन्।

पार्टी हित विपरीत लगातार काम गरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट समेत नरहने गरी निलम्बन गरेका हुन्।

चैत ४ र ५ गते नेपाल पक्षले सानेपामा राष्ट्रिय भेला गरेपछि पार्टी हित विपरीत काम गरेको भन्दै नेपाल र रावलसहित नेताहरु सुरेन्द्र पाण्डे र घनश्याम भुसालसँग प्रष्टीकरण सोधिएको थियो।

उनीहरुले बुझाएको प्रष्टिकरण चित्त बुझ्दो नभएको भन्दै ओलीले दुई नेतालाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको पत्र ओलीले नेपाल र रावललाई पठाएका छन्।

पार्टीले सोधेको प्रष्टिकरण दिनुको साटो उल्टै प्रश्न सोधेको, आत्म समीक्षा नगरेको, गुटलाई निरन्तरता दिने स्वीकारोक्ति दिएकाले पार्टीबाट निकाल्नु परेको पत्रमा ओलीले लेखेका छन्।

ओलीले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘आपराधिक कृयाकलापहरु स्विकार्ने, भुल सुधार गर्ने, पार्टी एकता तथा पार्टीको निरन्तर विकास र उन्नतिको लागि पार्टीमा समाहित हुने साथै विगतमा भए गरिएका गलत तथा आपराधिक कियाकलापहरु प्रति प्रायश्चित गर्ने अवसरलाई त्यसै गम्भीरताका साथ लिनुको साटो तपाईंले उल्टै स्पष्टिकरण सोध्ने जस्तो अनाधिकृत र हास्यास्पद कार्य गरेको देखियो।’

एमालेकै नाउमा अझै पनि गुटगत गतिविधि गरेको र अझै गर्ने सम्भावना भएकाले पार्टीबाट निकाल्नु नै उपयुक्त भएको निर्णय ओलीले सुनाएका छन्। ‘आगामी दिनहरुमा समेत निरन्तरता दिई रहने तर्फ अग्रसरता देखिएको, पार्टीकन लागि एकताकै लागि भन्दै भ्रम फिजाएर कार्यकर्ता फसाउने र आफ्ना गलत उद्देश्य तथा मनासायका निम्ती दुरुपयोग गर्ने सम्भावना देखिएको, ओलीले भनेका छन्।

पार्टीबाटै निकाल्दा पनि ओलीले अझै योभन्दा कडा कारबाही गर्नु नपरोस् भन्ने चेतावनी दिएका छन्। उनले यसबीचमा सुध्रिएर आए ६ महिनाअघि नै कारबाही समेत फुकुवा गरिदिन सक्ने बताएका छन्।

‘यस्तै गतिविधिहरु कामय रहेमा तपाईलाई जुनसुकै बेला पनि थप कडा कारवाही गर्नु पर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराउँदै, यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन एकै पटक कडा कारवाही गर्नु भन्दा हाललाई पार्टीको दशौ महाधिवेशन आयोजक कमिटी सदस्य र पार्टीका अन्य सबै जिम्मेवारीहरु तथा पार्टी सदस्यताबाट पार्टीको विधान २०४९ (शंसोधान २०७१ समेत) को धारा ४९ (ख) बमोजिम हाललाई ६ (छ) महिनाको लागि निलम्बन गरिएको छ, ओलीले निलम्बन पत्रमा अगाडि उल्लेख गरेका छन्, ‘तपाईलाई सच्चिनको लागि यो अन्तिम मौका हो। आफ्ना विचार र क्रियाकलापहरु सच्याई पार्टीका पक्षमा आरमा पार्टीले निलम्बन अवधिको बिचैमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने र यस सच्चिन दिइएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरु कार्यमै राखे निलम्बनको अवधि बीचमै थप कारवाही गर्न सकिने व्यहोरा समेत जानकारी गराइन्छ।’

चैत १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्