जसले फेरि उभ्याए भूकम्पले धुलिसात पारेको दरबार स्क्वायर

पाटन दरबार स्क्वायरमा रोहित रञ्जितकार। तस्बिरहरु: बर्षा शाह

काठमाडाैँ – उनी पाटनका गल्लीहरुमा हिँडिरहेका भेटिन्छन्। संकोच मान्ने स्वभाव छ। त्यसैले हत्तपत्त बोल्दैनन्। तीखा नजरले भने वरपरका दृश्यको गहिरो अवलोकन गरिरहेकै हुन्छ।

रोहित रञ्जितकार बाहिर धेरै देखिने–सुनिनेभन्दा पनि भित्रभित्रै चुपचाप काम गरेर देखाउने मानिसको नाम हो।

गतसाता पाटन दरबार स्क्वायरकै कुनामा रहेको एउटा लोकल चियापसलमा मैले उनको साथ दुध हालेको चियासँगै सम्पदा संरक्षणका स्वादहरु अनुभव गर्ने मौका पाएँ।

यो त्यही परिसर थियो, जहाँ ७२ सालको महाभुकम्पले विश्व सम्पदा सूची भित्र परेका भब्य स्मारकहरुलाई एकछिनको एकछिनमै धुलिसात पारेर भुइँभरि रछ्यानको थुप्रोजस्तो बनाइदिएको थियो।

आज पाँच वर्षपछि त्यही दरबार स्क्वायरमा पुग्दा यो ठाउँमा भुइँचालोले त्यसरी ताण्डब मच्चाएको थियो भनेर पत्याउन पनि मुश्किल पर्छ।

भत्किएका सबै संरचनाहरु यथावत उभिइसकेका छन्। टुक्रा टुक्रा परेका हाम्रा सम्पदाका एक एक हिस्साहरु फेरि जोडिएर आ–आफ्ना स्थानमा जडान गरिसकिएका छन्।

‘भुइँचालो लगत्तै यहाँ आइपुग्दा रोएको थिएँ,’ छचल्किएर थोरै पोखिएको चियाको गिलास सम्हाल्दै उनी भनिरहेका थिए, ‘ती जसरी ढलेका थिए अब त्यस्तैगरी उभिइसकेको छ।’

वास्तुशिल्पमा विद्यावारिधि गरेका रोहित बितेको तीस वर्षदेखि एकोहोरो काममा खटिएका छन्। त्यो काम हो- पुर्खाले छाडेर गएका हाम्रा बहुमूल्य स्मारकहरुलाई बचाएर राख्ने। ढल्न लागेको छ भने बलियो बनाउने, ढलिसकेको छ भने सकेसम्म पहिलाजस्तै गरेर उभ्याइदिने।

उपत्यकाका सम्पदाहरुको संरक्षणमा खटिएको काठमाडौँ भ्याली प्रिजरभेसन ट्रस्टका निर्देशक उनी अविराम यो काममा खट्दै आइरहेका छन्। उनले सन् २००५ मा सम्पदा संरक्षणका लागि युनेस्कोको एशिया प्रशान्त हेरिटेज अवार्डसमेत जितेका थिए।

उनका निम्ति सबैभन्दा दुःखद दिन भने ०७२ सालको वैशाख १२ गते आइदियो।

‘संसारलाई पाटन भनेर चिनाउने स्मारकहरु जताततै ढलेका थिए,’ उनी भनिरहेका थिए, ‘त्यो देखेर म आफैँ पनि अहिले ढल्छु कि कहिले ढल्छु जस्तो हुनथाल्यो।’

दरबार स्क्वायर क्षेत्रका बाह्रौं शताब्दीमा निर्मित तीनतल्ले हरिशंकर मन्दिर, चारसय वर्ष पुरानो दुइतल्ले चारनारायण मन्दिर, १५ सय वर्ष पुराना मंगाहिटी माथिको दायाँबायाँ दुवैतिरका मणीमण्डप, छेवैको लिच्छवीकालीन मुछेँ आगँ र भिमसेन मन्दिरको उत्तरतिरको लाखे आगँ छेँ धुलो पिठो भएरै भुइमा छरिएको थियो। अरु मन्दिरहरु चाहिँ तत्काल टेको नलगाउने हो भने जुनसुकै बेला पछारिन सक्थ्यो। केही न केही नोक्सानी नभएका त कुनै संरचना बाँकी थिएनन्।

यो सब दृश्य देखेपछि पहिलो दिन त्यत्तिकै बित्यो।

दरबार स्क्वायर छेवैमा उनी बस्दैआएका पुर्ख्यौली घर पनि क्षतिग्रस्त भइदियो। रोहितका पिता बानेश्वर बस्थे। त्यसैले उतै गए।

‘यहाँ सबैतिर अस्तब्यस्त थियो,’ उनले याद गरे, ‘मानिसहरु पनि सबै तनावमा थिए।’

अर्कोतिर परकम्पका झट्काहरु पनि लगातार आइरहेकै थियो।

सबै डर र त्रासमा बाँचेको बेला के गर्ने र कसो गर्ने भन्ने भेउ पाउनै मुश्किल भइदियो।

‘मानिसहरु घर छाडेर बगैँचामा पाल लगाउँदै बसिरहेका थिए,’ अलिक पर आफैँले बनाउँदैगरेको मन्दिर तर्फ औंल्याए, ‘भर्खर बनिरहेको भएर होला त्यो भाइदेगः मन्दिर सुरक्षित ठानेर त्यहाँ भित्र पनि टन्नै मानिस बसेका थिए।’

तेश्रो दिन रोहितले स्थानीयसँग कुराकानी सुरु गरे। टोल सुधार समितिका अध्यक्षलाई बैठक बोलाउन अनुरोध गरे।

‘एउटा राम्रो कुरा चाहिँ के देखेँ भने,’ उनी सुनाउँछन्, ‘भुइँचालो अगाडि नजिकको देउता हेला भनेजस्तो गर्नेहरु पनि त्यसरी ढलेपछि चाहिँ त्यही मन्दिरलाई लिएर असाध्यै चिन्तित देखिए।’

उनीहरुले आफूसँग भएको सम्पत्ति अचानक गुमेको महसुस गरे। यसरी विपत्तिले स्थानीयलाई छेउछाउका संरचनाहरुको नजिक ल्याउने काम गरिदिएको थियो।

‘पुराना पुस्तामाझ जुन भावनाले यी संरचना बनाउने र बचाउने काम गरेका थिए,’ रोहित भन्छन्, ‘भुइँचालोले त्यहि हराएको भावनाको नयाँ पुस्तामा पुनर्जागरण गरिदियो।’

बोलाइएका बैठकमा टोलका मानिसहरु आउन सुरुभए।

‘त्यसभन्दा पहिले नै स्थानीय वासिन्दाले डोरीको घेरा लगाएर सिंगै दरबार स्क्वायरलाई चारैतिरबाट घेराबन्दी गरिदिए,’ उनी भन्छन्, ‘त्यो घेराभित्र कसैलाई पस्न दिइएन।’

त्यसले यति राम्रो काम गरिदियो कि भत्किएर रास लागेको ठाउँबाट एउटा पनि वस्तु चोरी हुन पाएन। चौथो दिन मात्र त्यस स्थानमा प्रहरीहरु आइपुगे। त्यसपछि बल्ल स्थानीयले सुम्पे।

उता त्यतिबेलै रोहितसहित स्थानीयको लगातार बसेका बैठकहरुले रासमा थुप्रिएका सामानहरु उठाउन कसरी सुरुगर्ने, कसरी ओसार्ने र कहाँ जम्मा गर्ने भन्ने विषयमा एकपछि अर्को निर्णय लिँदै गए।

‘त्यो मानिस देख्दै हुनुहुन्छ?’ रोहितले अगाडितिर औंल्याए, ‘उ रवि हो, उसको समूहले नै कुद्दै आएर योगनरेन्द्रको शालिक खसेको ठाउँबाट उठाउँदै हत्तपत्त म्यूजियम भित्र लगेर सुरक्षित राखिदिएको थियो।’

यसरी एकपछि अर्को परकम्पमा ढल्दै गरेका सामग्री उठाउने र सम्हाल्ने क्रम चलिरहेकै बेला पाँचौ दिन अर्को जटिल परिस्थिति आइदियो।

‘त्यसदिन सेना बुलडोजर लिएर आएको थियो,’ उनी भन्छन्, ‘हेर्दाहेर्दै त्यो बुलडोजर मन्दिर लडेका स्थानतिर बढ्न थाल्यो।’

संरचना ध्वस्त भएर भत्केको रासमाथि बुलडोजर लगेपछि त्यसले झनै चकनाचुर बनाउँथ्यो। उता सेनाको भनाइ चाहिँ भत्केका स्थानमा जसरी पनि बाटो खुला गराउने आदेश पालना गर्छौं भन्ने थियो। आपतकालीन अवस्थामा तत्काल उद्दार गर्नका लागि सवारी साधन ओहोर दोहोर गराउन बाटो खुला गरिनु जरुरी पनि थियो।

यस्तो बेलामा रोहित सेनाको अगाडि उभिए। भत्किएका मन्दिरले दरबार स्क्वायरको बाटो छेकिएता पनि भित्री टोलका वासिन्दाका निम्ति अन्य बैकल्पिक बाटाहरु रहेको तर्क गर्दै आश्वस्त पार्न खोजे। सेना मानेन।

‘तत्कालीन प्रधानसेनापतिलाई व्यक्तिगत रुपले चिनेको फाइदा त्यसैबेला लिने निधो गरेँ,’ रोहित भन्छन्, ‘भत्किएका मन्दिरका अवशेषहरु कति महत्वपूर्ण हुन्छन् भनेर प्रधानसेनापतिलाई सम्झाउन चाहिँ सफल भएँ।’

त्यसपछि बल्ल बुलडोजर लिएर आएको सेना थामियो।

‘बरु हामीले गर्न थालेको प्रयासमा जनशक्ति जुटाइदिनुस् भनेर सेनालाई अनुरोध गरेँ,’ उनी भन्छन्, ‘त्यो पनि स्वीकार गरे।’

त्यसपछि झण्डै तीन सयजना सेना र प्रहरी भत्किएको दरबार स्क्वायरमा खटिनका लागि आइपुगे।

सबैभन्दा पहिले मानव सांग्लोजस्तो गरेर लाइन तयार पारियो।

‘पहिले मूर्ति र बुट्टा भएका काठहरु मात्र टिप्ने निर्णय लियौँ,’ उनी भन्छन्, ‘ती सबै लगेर केशवनारायण चोकमा थुप्रो लगायौं।’

त्यसपछि क्रमशः बुट्टा नभएका काठ, इँटा, टायल र झिँगटीका पालो आए।

सेना प्रहरीको खानासमेत स्थानीयले व्यवस्था गरेपछि बिहान सात बजेदेखि बेलुकी छ बजेसम्मै नरोकिएर काम भएको थियो। जसको परिणाममा भत्केका मन्दिरका सारा अवशेषहरु पाँच दिनभित्रै व्यवस्थित तवरले थुप्रो लगाइयो।

‘यी मन्दिर जुन उभिएको देखिरहनुभएको छ नि,’ उनले भर्खर तयार भएका दरवार स्क्वायरका अग्ला मन्दिरहरु हरिशंकर र चारनारायणतर्फ औँल्याउँदै भने, ‘भत्केका मन्दिरकै ९० प्रतिशत सामग्रीलाई पुनः प्रयोग गरेर उभ्याइएको हो।’

यसको निम्ति मन्दिर ढल्नेबित्तिकै चारैतिरबाट सुरक्षा दिएर जोगाउने स्थानीय युवाहरु र त्यसपछि सेना अनि प्रहरीको प्रयासको जति प्रशंसा गरेता पनि कमै हुने रोहित बताउँछन्।

‘त्यतिबेला त्यसरी नजोगाइदिएको भए हामीले जति प्रयास गरे पनि यति चाँडै यी मन्दिर उठ्ने थिएनन्,’ उनी भन्छन्, ‘सानो सानो टुक्रामा विभाजित हिस्सालाई समेत हामीले अनेक उपाय लगाएर पुनः प्रयोग गरेका छौँ।’

यसरी लडेको मन्दिरका भग्नावशेषहरु सुरक्षित पारिसकेपछि सबैभन्दा पहिलो कामको थालनी चाहिँ भत्किसकेका नभई भत्कन थालेका मन्दिरहरुमा गरियो। त्यसमा पनि विशेषगरी भिमसेन मन्दिर र विशेश्वरा मन्दिरले प्राथमिकता पाए। ती बाङ्गो पर्न थालिसकेका थिए। त्यसैले सबैभन्दा पहिले त चारैतिरबाट टेको लगाइयो।

‘एकपछि अर्को परकम्प आइरहँदा जतिखेर पनि जे पनि हुनसक्थ्यो,’ उनी भन्छन्, ‘त्यसैले नलडिसकेका स्मारकहरुलाई बलियो बनाउने तर्फ पहिलो ध्यान केन्द्रित गरेका थियौं।’

त्यसपछि बल्ल भत्किसकेका मन्दिरहरु उभ्याउने प्रयास थालनी गरियो।

यसरी भत्केका मन्दिर फेरि उभ्याउँदा पहिले पुरानोमा कतिपय ठाउँमा सल्लाका काठहरु प्रयोग गरिएका पनि पाइएका थिए। अहिले भने त्यस्ता ठाउँमा अग्राखकै काठ राखिदिएको पनि उनले जानकारी दिए। त्यसैगरि पुरानो मन्दिरहरुमा भित्री गारो र बाहिरबाट राखिएका चिल्ला इँटा (डाँचीअप्पा)का बीच बन्धन नरहने गरेकामा अहिले चाहिँ एकअर्कासँग जोडेरै उभ्याइएको छ। त्यसबाहेक पहिलोपटक उपत्यकाका मन्दिरहरुमा कामगर्दा जग खनेर मजबुत बनाउने अनुमति पनि यसैपालादेखि पाइएको छ।

‘यसरी मन्दिर पहिलेको जस्तै देखिने मात्र होइन,’ उनले भने, ‘संरचनागत हिसाबले चाहिँ पहिलेभन्दा धेरै बलियोसँग तयार भएका छन्।’

भत्किएका मध्ये हरिशंकर मन्दिर ९० सालको भुकम्पमा पनि लडेको थिएन। त्यसपछि पनि आजसम्म त्यो मन्दिरको जिर्णोद्धार गरिएको कतै कुनै रेकर्ड नभेटिएको आधारमा त्यसलाई पूर्णतया बेवास्ता गरिएकै कारण नै ७२ सालको भुकम्पलाई थेग्न नसकेको रोहितको निश्कर्ष छ।

हाम्रा पुरातात्विक महत्वका संरचनाहरुको समय समयमा मर्मत सम्भार गर्ने परम्परा अहिले हराएर जानु पनि ठूलो समस्या बनेको रोहित औंल्याउँछन्। त्यसले गर्दा पनि पछिल्लो समय निर्माण गर्दा केही कुरामा परिमार्जन अपनाइएको छ।

‘पहिले समुदायबाटै वर्षेनी छानामा चढेर झिँगटीका घाँस उखेल्ने र टुटफुट भएको ठाउँमा मर्मत गर्ने गरिन्थ्यो,’ उनी भन्छन्, ‘त्यो परम्परा हराउँदै गएपछि झिँगटीभन्दा मुनीको माटो रसाउने समस्या बढ्दै गयो।’

उपत्यकाको परम्पराअनुसार पहिले पहिले मानिसहरु छ महिना खेतिपाती गर्थे र बचेको छ महिना समुदायका कामहरु गर्थे। त्यस्तो अवस्थामा घर छेउछाउको पुरानो मठ मन्दिर नबनाएको कति समय भएछ भनेर खोजी गर्दै समूहमै मर्मत गर्न अघि सर्थे।

‘अहिले त जीवनशैली नै अर्कै अवस्थामा पुगिसकेको छ,’ रोहित भन्छन्, ‘त्यहाँ टायल वा झिंगटी झरेको छ भने पनि देख्या नदेख्यैजस्तो गरेर हिँड्छौँ।’

यसरी पहिलेका कति राम्रा कुराहरुलाइ हामीले बेवास्ता गर्दै र बिर्सँदै जाँदा पनि समस्या बढ्दै गएको हो।

मन्दिर बनाउँदैखेरि मानिसले वर्षको एकपटक आएर हेरुन्, बिग्रे भत्केको मिलाउन् र भोज खाएर जाउन् भनेरै गुठीको नाममा जग्गा राखिएका थिए। कालक्रममा त्यो जग्गा नै सबै लुटपाट भइसकेको अवस्था छ। मन्दिरको नामका सम्पत्ति नै नासिएपछि मानिसहरु आउन पनि छाडे र तिनको चिन्ता पनि गर्न छाडे।

‘भक्तपुरमा भने अहिलेसम्म पनि न्यातपोलमा वर्षेनी मनसुनपछि घाँस उखेल्न मानिसहरु आउँछन् भन्ने सुनेको छु,’ रोहित भन्छन्, ‘सायद त्यहाँको चाहिँ जग्गा जमिन बाँकी भएर होला।’

यसरी पहिले कायम गरिएका प्रणालीहरु नभएपछि हिजोआज समस्याहरु पनि बढ्दै गएका हुन्।

फेरि पश्चिमा मुलुकहरुका यस्ता भवन तथा स्मारकहरु र हाम्रा सम्पदाहरुको निर्माण ‘मेटेरियल’ देखि यिनीहरुको उपयोगिता हुँदै झेल्ने मौसम पनि फरक भएकाले बेग्ला बेग्लै स्थितीमा रहेको रोहित बताउँछन्। उनीहरुकहाँ यस्ता पुराना स्मारकहरु अब संरक्षित अवस्थामा पुगिसकेका छन् भने हामीकहाँ अझै यिनमा पुजा–पाठ, भजन र जात्राजस्ता जीवित परम्परा चलिरहेका छन्।

‘उनीहरुकहाँ यताजस्तो मनसुनभरि लगातार वर्षा हुँदैन,’ उनी भन्छन्, ‘त्यसैगरि झिँगटी तलमाथि पर्नेबित्तिकै पानी चुहिएर भित्र पस्ने किसिमका छानो पनि हुँदैनन्।’

त्यसैले हामीकहाँ चिसोले सिंगो छानोलाई जोखिममा पार्दै लैजान्छ।

‘हिजोआज यस्ता संरचनाहरुमा एकपटक छानो लगाएपछि नभत्किएसम्मै कसैले वास्तै गर्दैनन्,’ उनले थपे, ‘त्यसैले आजभोली झिँगटी र माटोको बीचमा ‘वाटरप्रुफ मेम्बरेन’हरु प्रयोग गर्न थालेका छौँ।’

त्यसले थोरै भए पनि पानी रसाउनबाट रोक्ने र छानो कमजोर हुन नपाउने उनी बताउँछन्।

यसरी भुइँचालोपछि सुरुभएको पाटन दरबार स्क्वायरको पुनः निर्माण कोरोना कहरका बेला पनि रोकिएको थिएन।

‘हाम्रा बढीजसो कामदारहरु भक्तपुरबाट आउँथे,’ रोहित भन्छन्, ‘हामीले बेग्लै बस रिजर्भ गरेरै पनि सुरक्षित रुपमा ओहोर दोहोर गरायौं।’

त्यसरी कोरोनाको पहिलो लहर चलेका बेला पनि विशेषगरि भिमसेन मन्दिर र मुछेँको कामले निरन्तरता पाइरह्यो। अबका केहि महिनामै भिमसेन मन्दिर पहिलेकै स्वरुपमा अझ बलियोसँग प्रकट हुने उनको दाबी छ।

लिच्छवीकालीन यो मन्दिर सुरुमा चटा अर्थात् दुइतल्ले थियो। पछि थपेर चारतल्ले बनाइएको हो।

यो मन्दिर लडिसकेको थिएन। त्यसैले मर्मत गर्न खोज्दा मन्दिरलाई थेग्ने भित्री संरचना असाध्यै कमजोर भेटिएपछि अर्को बनाउन बाध्य हुनुपरेको हो।

ललितपुरका स्थानीय वासिन्दाले आपसमा पैसा संकलन गरेरै उभ्याउन खोजेको यो मन्दिर पनि दशैंसम्म तयार पारिसक्ने केभिपिटीको लक्ष्य छ।

यसरी भूकम्पपछि अविराम खटिनुको परिणाममा अहिलेसम्म पाटन दरवार स्क्वायरमा झण्डै ८५ प्रतिशत काम सम्पन्न भएको उनी दाबी गर्छन्।

‘स्वामित्व सम्बन्धी विवादले ढिलाभएको लाखे आगँछेँ सहित अबको दशैँमा लगभग सबैथोक बनिसक्नेछन्,’ उनले दरवार स्क्वायरकै सबैभन्दा ठूलो छानोतर्फ औंल्याउँदै भने, ‘भर्खरै स्काफोल्डिङ गरिएको यो देगु तलेजु सकिन चाहिँ डेढ वर्ष लाग्नेछ।’

उनका अनुसार त्यसपछि चाहिँ पाटन दरबार स्क्वायरमा जिम्मा पाएका सबै काम सम्पन्न हुनेछन्। काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टले दरबार क्षेत्रका झण्डै २० संरचनामा हात हालेको थियो।

भुइँचालोले भत्किएका हरिशंकर र चारनारायणजस्ता ठूला मन्दिर फेरी उसैगरि उभ्याउन सक्नु केभिपिटीको सबैभन्दा ठूलो उपलब्धि हो।

दुईवटा मनीमण्डप पनि तयार भइसकेका छन्। सुन्दरी चोकको पूर्वी मोहडा पूरै ढलेको थियो। त्यो पनि बनिसकेको छ। क्षतिग्रस्त भएका कृष्ण मन्दिर र विशेश्वरा मन्दिरको निर्माण कार्य पनि सकिएको छ। त्यसैगरि दुईवटै तलेजु मन्दिरको माथिको छानो खसेको थियो। त्यो पनि बनिसकेको छ। भिमसेन मन्दिर र मुछेँको काम भइरहेको छ। दशैंसम्ममा त्यो पनि सकिने छन्।

यी सम्पन्न भइसकेका कामहरु हेर्दा रोहित रन्जीतकारको शील्पका साझा विशेषता लगभग सबैजसो संरचनामा देखिन्छन्। त्यो हो, बुट्टा कुँदिएका काठहरु कतै बिग्रेका छन् भने पनि केवल बिग्रेको भाग मात्र छुट्टै तयार पारेर जोडिदिने। त्यसरी जोडिएका हिस्साहरु स्पष्ट देखिन्छन्।

जसले गर्दा पुरानो संरचनामा पछिल्लो समय यसरी सानो अंश जोडेर पूर्णता दिइएको अवलोकनकर्ताहरुले सजिलै छुट्याउन सक्छन्।

‘मेरो मूल उद्देश्य ओरिजनल संरचनालाई सकेसम्म प्रयोग गर्नु हो,’ रोहित भन्छन्, ‘पहिलेको जस्तो संरचना अहिले पनि बनाउन सकिएला। तर, त्यो ओरिजनल हुँदैन।’

अन्तिममा थालिएको देगु तलेजुको छानोलाई अब तयार पार्दा ७२ सालको भुइँचालोभन्दा अगाडिको अवस्थामा मात्र सीमित राखिने छैन। त्यसलाइ ९० सालको भुइँचालोभन्दा अगाडिको स्वरुप दिने प्रयास गर्नलागिएको छ।

‘अलिक बढी झुकाव भएका छानो मुनीका झ्याल र टुँडालहरु ९० सालपछि बनाउँदा थोरै ठाडो पारिएको देखियो,’ रन्जीतकार भन्छन्, ‘पुनः निर्माणका क्रममा उतिबेला छोट्याइसकिएका ती टुँडालहरुलाई प्रयोग गर्दागर्दै पनि सकभर पुरानै स्वरुपमा लैजाने प्रयास गरिनेछ।’

त्यसैगरि ९० सालपछिको पुनःनिर्माणका बेला छुटाइएको देगु तलेजु छेवैको अर्को एउटा महत्वपूर्ण संरचना पनि यसपाला बनाइने भएको छ। त्यो हो मानमानेश्वरी मन्दिर। देगु तलेजुको छेवैमा छानामाथि नै उभिएको त्यो मन्दिर अहिले नदेखिए पनि लगभग उस्तै संरचनाको अर्को मन्दिर भने अलिक पर देख्न सकिन्छ।

‘यो मानमानेश्वरी अलिक अनौठो किसिमको पनि थियो,’ रोहित भन्छन्, ‘पहिलो छानो गोलो, बीचको अष्टकोण र तलको चाहिँ चारकुने।’

उनका अनुसार यस्तो तीनवटा छाना तीन किसिमले बनाइएको मन्दिर यस भेगमै अर्को छैन।

९० सालको भूकम्पले भत्काएपछि फेरि नठडिएको त्यस्तो दुर्लभ मन्दिर अब फेरि देख्नपाइने भएको छ।

पुरातात्विक सम्पदाहरुको पुनः निर्माण आफैँमा ठूलो चूनौति हो। हेर्दा दुरुस्त देखिएता पनि त्यो सक्कली बन्नै सक्दैन। कतै न कतै फरक परिरहेकै हुन्छ।

यस्तो अवस्थामा भत्किएर धुलोपिठो भएका मन्दिरलाई फेरि पुरानै स्वरुपमा ढाल्न रोहितले के उपाय अपनाएका थिए?

‘एउटा दुईवटा मात्र होइन भेटिएसम्मका दस्तावेजहरु संकलन गरेको थिएँ,’ उनी भन्छन्, ‘त्यसबाहेक भत्किएका मन्दिरकै अवशेषलाई मुख्य आधार बनाएर प्रत्येक हिस्सालाई डिजाइन गरेँ।’

जस्तै, उनले सुरुमा भेटिएका प्रत्येक हिस्साहरुको चित्र तयार पारे। ती हिस्साहरुलाई त्यसैअनुसार कागजमै जोड्दै पहिले सँग्लो मन्दिरको चित्र उतारे। त्यसपछि बल्ल त्यसै चित्रलाई पछ्याएर मन्दिर उभ्याउन सुरुगरे।

‘भेटिएका पुरानै सामानहरु प्रयोग गरेर उभ्याएको मन्दिर भएकै कारण सय प्रतिशतै त नभनौं होला, धेरै हदसम्म मिल्ने चाहिँ बनाएकै छौं,’ उनी भन्छन्, ‘तर, जतिसुकै दाबी गरेता पनि कतै न कतै थोरै फरक हुने ठाउँ रहन्छ नै।’

यसरी पुरानो मन्दिरका पुरानै सामान प्रयोग गरेर उस्तै हिसाबले मन्दिर उभ्याउँदा पनि मिहिन किसिमले हेर्नेबेलामा कतिपय मामलामा त्यहि रुप दिन नसकिँदो रहेछ।

‘यो सब अनुभवलाई लिएर म एउटा पुस्तक छिट्टै निकाल्दैछु,’ उनले नयाँ जानकारी दिए, ‘भुइँचालोले भत्काएपछि उपत्यका भित्र फेरि बनेका पुरातात्विक संरचनाहरु ०७२ सालभन्दा पहिले कस्ता थिए र पछि कस्ता भएका छन् भन्ने तुलनात्मक अध्ययन त्यस पुस्तकमा पाइनेछ।’

काठमाडौँ उपत्यकाको पुरातात्विक संरचनाहरुबारे एउटा क्याटलगको रुपमा समेत प्रस्तुत हुने त्यस पुस्तकले सम्पदा संरक्षणका क्षेत्रमा समय र प्रविधिले ल्याएका फेरवदलबारे पनि खुलासा गर्नेछ।

चैत १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्