मजदुरलाई समयमा तलब भत्ता बुझाउने सहमतिपछि खुल्यो दाङको सार्वजनिक यातायात

दाङ – यातायात मजदुरलाई सहज रुपमा तलब भत्ता समयमा उपलब्ध गराउन यातायात व्यवसायीले प्रतिवद्धता व्यक्त गरेका छन्।

यातायात मजदुर तथा वुकिङ्ग कर्मचारीहरुले सहज रुपमा तलब भत्ता पाउनुपर्ने लगायतका माग राख्दै मंगलबार बिहानदेखि सार्वजनिक सवारी साधन बन्द गरेर संघर्षमा उत्रिएका थिए।

मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा यातायात मजदुरले राखेका माग पूरा गर्ने सहमतिपछि बन्द यातायात सेवा दिउँसो १ बजेबाट सुचारु गर्ने सहमति भएको हो ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा भएको छलफलले सबै यातायात व्यवसायीहरुले सामाजिक सुरक्षा कोष ऐन २०७४ कार्यान्वयन गर्न मञ्जुरी गरेका छन्।

नेपाल सरकार, नेपाल यातायात महासंघ र तीनवटै मजदुर ट्रेड यूनियनबीच भएको संयुक्त बैठकले गरेको निर्णय कार्यान्वयनमा सहयोग गर्ने, कोभिड–१९ को भ्याक्सिन यातायात मजदुरलाई लगाउन प्राथमिकतामा राख्ने सहमति कायम गरिएको छ।

यस्तै यातायातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न समिति गठन गरिएको छ। यो समितिले १५ दिन भित्र सुझावसहित प्रतिवेदन पेश गर्ने छ।

यातायात व्यवस्था कार्यालय तुलसीपुरका प्रमुखको संयोजकत्वमा यातायात मजदुर, यातायात व्यवसायी र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रहेको समिति गठन गरिएको छ। बिहानदेखि गरिएको अनिश्चितकालीन यातायात बन्दका कारण यहाँको जनजीवन प्रभावित भएको थियो।

चैत १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्