वन डढेलोः नियति कि अव्यवस्थाको परिणाम?

नेपालका वनमा वर्षेनी आगो लाग्छ । कुनै वर्ष त एउटै वनमा तीन पटकसम्म आगो लागेको पाइन्छ । पतझड प्रजातिको बाहुल्य भएको हुनाले हिउँदमा सुकेर झरेका पातले वनमा आगो लाग्न इन्धनको काम गर्छन् । कतिपय प्रजातिमा तेलजन्य वा खोटोजन्य पदार्थ हुनाले ठूलो आगलागीमा हरियै रुख विरुवा पनि जल्छन् । हाम्रो वनमा हुने आगलागीको मुख्य कारण हिउँदमा र चैत-जेठमा पर्ने सुख्खा हो । यो वर्षको हिउँदमा मध्य र पूर्वी तराईमा पानी परेन । पहाड र हिमालका अधिकतर ठाउँमा पानी परेन । वसन्त ऋतु पनि पर्याप्त वर्षा नभई जाला जस्तो छ । त्यसैले अहिले वनमा आगलागीको जोखिम झन् बढ्दो छ ।

डढेलोबाट वर्षेनी धेरै वनजङ्गलको नोक्सानी हुने भए पनि यसको न्यूनीकरण गर्न सरकार वा समुदायले खासै चासो दिएको पाइदैन । वनको नोक्सानीबाट प्रत्यक्ष व्यक्तिगतअसर नपर्ने भएर चासो नदिइएको हुनसक्छ । देशभर एकै पटक धेरै ठाउँमा डढेलो लागेर जताततै वाक्लो धुँवा र धुलो भई वायु प्रदुषणका कारण आँखा पोल्ने, सास फेर्न कठिन हुन थाले पछि केही दिन यता वन डढेलो आम चासोको विषय भएको छ ।

विभिन्न देशमा वनडढेलोबाट ठुलो आर्थिक नोक्सानी, साथै पैसामा तुलना गर्नै नसकिने गरी जीविका,जैविक विविधता र वातावरणको क्षति हुन्छ । नेपालमा वन डढेर वर्षेनी के कति आर्थिक, पर्यावरणीय नोक्सान हुन्छ भनेर मिहिन अनुसन्धान र लेखाजोखा भएको छैन तापनि औसतमा वनडढेलोले अरु प्रकोपले भन्दा बढी प्रत्यक्ष एवं अप्रत्यक्ष आर्थिक क्षति गर्छ भन्नेमा द्विविधा छैन ।

प्राकृतिकरूपमा पनि वनमा डढेलो लाग्न सक्छ तापनि नेपालमा अक्सर मानिसहरूले जानाजान आगो सल्काएर वा असावधानीपूर्वक वनमा फालेको आगो फैलिएर आगलागी हुने गर्छ ।  धेरै समुदायमा खर्‍यान, झाडी, बुट्यान, वनमा डढेलो लगाए पछि घाँस राम्रो पलाउँछ भन्ने छ ।वर्षा भएपछि आगो लागेका पाखा वा मैदानमा हरियो घाँस पलाएको देखिने हुनाले मानिसहरू आगो लगाउनुलाई एउटा व्यवस्थापन विधिकारूपमै लिन्छन् ।त्यसैले अक्सर मानिसहरूले नै वन, पाखामा आगो लगाउँछन् । घाँसे मैदानमा केही वर्षको अन्तरालमा, नियन्त्रितरूपमा गरिने आगलागी केही हदसम्म उपयुक्त हुन सक्छ । तर, बर्षेनी आगो लगाउनु उपयुक्त हुँदैन ।

केही नगरे पनि वनले उत्पादन दिइरहन्छ, जति आगो लागे पनि वन आफै हुर्कन्छ, पानीका मुहान स्वतः पलाउँछन्, हामीले केही गर्न पर्दैन, उपभोग मात्रै गरे पुग्छ भन्ने भ्रमले वन तथा जलाधार संरक्षणमा समुदाय र राज्यको यथेष्ठ ध्यान पुगेको छैन । वनमा केही हदसम्म मात्रै प्राकृतिकरूपमा पुनर्भरण हुने क्षमता हुन्छ । प्रकृतिको पुनःस्थापना क्षमता भन्दा अत्यधिक दोहनले हाम्रा वन र जलाधार पुनर्जीवित हुन नसक्ने गरी बिग्रने जोखिममा छन् ।

आगलागीले वनका बोटबिरुवा, बिउ बिजन, कीट, जीवजन्तु, पशुपन्छी जलाउँछ ।प्राकृतिक स्रोत र धेरै प्राणीहरूको बासस्थान र खाद्य-शृङ्खला नष्ट गर्छ ।वर्षेनी जथाभावी लाग्ने आगोले तत्कालै मौजुदा वन र जीवजन्तुलाई नोक्सान गर्छ र अन्ततः वनको पुनरुत्पादन क्षमता नै नष्ट गरिदिन्छ । अत्यधिक डढेलो र चरिचरणले हाम्रा वनजङ्गल क्षेत्र मरुभूमिकरण हुन थालेका छन् ।

वर्षेनी लाग्ने डढेलोले समग्र जलाधारको प्राकृतिक अवस्था खल्वल्याउँछ ।आगलागी भैरहने पाखोमा पहिरो जाने संभावना बढी हुन्छ । युरोप,अमेरिका र एशियाका विभिन्न देशमागरिएका अध्ययन,,,अनुसन्धानकापुनरावलोकनमा, आगलागीबाट उजाडिएका पाखाहरूबाट अन्यत्रबाट भन्दा बढी रेलो (debris) बग्ने र त्यहाँ पहिरोको जोखिम बढ्ने प्रमाणित भएको छ । नेपाल यसमा अछुतो रहन सक्दैन । हाम्रो भू-बनोट कमजोर छ । तसर्थवनमा आगो लगाउनु कुनै पनि अर्थमा लाभदायी हुदैन ।

आगलागीले वनका बोटबिरुवा, बिउ बिजन, कीट, जीवजन्तु, पशुपन्छी जलाउँछ ।प्राकृतिक स्रोत र धेरै प्राणीहरूको बासस्थान र खाद्य-शृङ्खला नष्ट गर्छ ।वर्षेनी जथाभावी लाग्ने आगोले तत्कालै मौजुदा वन र जीवजन्तुलाई नोक्सान गर्छ र अन्ततः वनको पुनरुत्पादन क्षमता नै नष्ट गरिदिन्छ । अत्यधिक डढेलो र चरिचरणले हाम्रा वनजङ्गल क्षेत्र मरुभूमिकरण हुन थालेका छन् ।

वनमा आगो लाग्ने घटना नयाँ होइनन् । तर अहिले डढेलोको संख्या र त्यसले गर्ने नोक्सानी बढिरहेको छ । अर्कोतर्फ, वनमा आगो लाग्नबाट जोगाउने, लागेको आगो निभाउने सामाजिक परिपाटी विकास भएको छैन । सार्वजनिक सम्पत्ति भएकोले मानिसहरूले वनमा लागेको आगोनिभाउने अग्रसरता लिँदैनन् । सामान्य साधन र जनशक्तिले निभाउन संभव पनि हुँदैन ।

पहाडतिर ‘डाँडामा पोखरी, खोल्सामा कुवा’ भन्ने पुराना चलन हराउँदै गए । डाँडाका पोखरीले खोल्साका कुवा, मुल जगाइ राख्थे । तराईका पोखरीहरूले इनार, नलकूप जगाउँथे । पोखरीहरूले जमिनमा पानीको सन्तुलन र हावामा चिस्यान बनाउन ठुलो भूमिका निर्वाह गर्दथे । आगो लागे निभाउन पानी उपलब्ध हुन्थ्यो । पहाड-मधेश सबैतिरकाधेरै पोखरीहरू संरक्षण सम्बर्द्धनका अभावमा भाटिए वा अतिक्रमणमा परेर मासिएका छन् । सार्वजनिक पोखरी खन्ने र संरक्षण गर्ने कुरा विस्मृतिमा गइसके ।

एकातिर प्रकृति-मैत्री परम्परागत तौरतरिका हराए, अर्कोतर्फनयाँ प्रविधि, सिपको विकास र पहुँचमा ध्यान पुगेको छैन ।सरकारसँग डढेलो नियन्त्रण गर्न ठोस योजना, साधन र जनशक्ति छैन । देशमा ४२ प्रतिशत जमिनमा वन छ तर वन आगोबाट जोगाउने कुनै उपाय छैन ।वनपाखामा जम्मा भएको कार्वन नापेर धन कमाउने योजना र जलेका वनको बिचमा तादाम्यता देखिदैन ।

वन व्यवस्थापन र डढेलो नियन्त्रणमा संघ, प्रदेश र स्थानीय तहका सरकारको भूमिका र उत्तरदायित्वको राम्ररीसिमाङ्कन भएको छैन ।संघीय गृह मन्त्रालयकाअधिकारीहरू समग्र विपद्‌ व्यवस्थापन आफ्नै नियन्त्रणमा राख्‍न चाहन्छन्, प्रदेश र स्थानीय तहलाई अधिकार दिन इच्छुक छैनन् । डढेलो नियन्त्रण गर्न सरकारको कुनै कामयावी योजना छैन । वर्षेनी सरकारी कर्मचारी र प्रायोजकहरू जम्मा भएर विभिन्न शहरमा डढेलो नियन्त्रणसम्बन्धी गोष्ठी गर्छन्, उता वन जलिरहन्छन् ।

वन-क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्षरूपमा देशको अर्थतन्त्रमा टेवा पुर्‍याइरहेको छ । उल्लेख्य संभावना रहेको पर्यटन क्षेत्रको ठुलो हिस्सा वनक्षेत्र र प्राकृतिक सम्पदामा निर्भर छ । त्यसैले डढेलो नियन्त्रण राष्ट्रिय प्राथमिकता हुनुपर्छ । आगलागी जस्ता प्रकोपबाट वन तथा यसमा अन्तर्निहित प्राकृतिक स्रोत जोगाउन र क्षति कम गर्न उच्च राजनीतिक प्रतिवद्धता अपरिहार्य छ । वनको प्राविधिक व्यवस्थापन गर्नुपर्छ भन्ने राजनीतिक सुझबुझको विकास हुन जरुरी छ ।

डढेलोको जोखिम पुरै उन्मुलन गर्न संभव छैन तापनि नियन्त्रण गर्ने र क्षति कम गर्ने प्रावधिक र व्यवस्थापकीय उपायहरू छन् । सुकेका रुखपातहरू समयमै निकालेर अरु काममा उपयोग गरे धेरै हदसम्म डढेलोको जोखिम कम हुन्छ । ठुलो वन क्षेत्र भए पनि खण्ड-खण्ड गरी व्यवस्थापन गर्न सकिन्छ । वन भित्र अग्नि नियन्त्रण रेखा बनाएर आगो फैलिन नदिने उपायहरू उपलब्ध छन् । आगलागीको जोखिम बढाउने रुखपात छानेर काटछाँट गर्न, हटाउन सकिन्छ । संभवतः यस्ता काममा थप खर्च नलाग्न सक्छ, उचित व्यवस्थापनबाट बढ्ने वनको उत्पादन रआगलागीबाट बच्ने वनबाट थप आर्थिक तथा पर्यावरणीय लाभ लिन सकिन्छ ।

गत वर्षदेखि मास्क लगाउने र हात धुने अभियानले कोभिड-१९को सङ्क्रमण फैलिन रोक्न ठुलो मद्दत पुग्यो । यी दुई वानीले अरु रोग पनि फैलिन रोक्छन् । विभिन्न उपायबाट वन्यजन्तुको चोरी-शिकारी नियन्त्रणमा उल्लेख्य सफलता मिलेको छ । डढेलो नलगाउन पनि यस्तै अभियान चलाउनु पर्छ ।धेरैजसो डढेलो मानिसले नै लगाउने हो । यो प्राकृतिक नियति होइन, हाम्रो अव्यवस्थाको परिणाम हो । हामीले नबुझेर वा हानी नोक्सानीको बेवास्ता गरेर यस्तो भैरहेको छ ।

हाम्रो जीवन र जीविकासँग प्रत्यक्ष सम्बन्ध राख्‍ने सवालमा गम्भिर हुनै पर्छ। डढेलोको सम्बन्ध हाम्रो खानेपानी, सासफेर्ने हावाको शुद्धता, बसोबास गर्ने पाखोकोसुरक्षा र खेतीपातीसँग छ भन्ने स्पष्ट बुझ्‍न र बुझाउन लाग्नु पर्छ ।आगलागीका मानवीय कारकहरू नियन्त्रण गर्न अबढिला गर्नु हुँदैन ।

चैत १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्