एमाले उपाध्यक्ष युवराज ज्ञवालीसँग अन्तर्वार्ता

‘केपी ‌ओली एमालेलाई टुक्राटुक्रा पार्न चाहनुहुन्छ’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा नेपाल–खनाल समूहका नेता युवराज ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल र भीम रावललाई गरेको कारबाही एमालेको विधानले नचिन्ने बताएका छन्।

ओलीले गरेको कारबाहीबाट आफूहरुलाई कुनै प्रभाव नपरेको उनको भनाइ छ।

पार्टी विभाजनको विन्दुसम्म पुगिनसकेको तर अब एमाले विभाजित हुन्छ कि एक रहन्छ भन्ने कुरा ‌ओलीको हातमा रहेको उनले बताए। प्रस्तुत छ, युवराज ज्ञवालीसँग गरिएको कुराकानीः

१. आजको बैठकले पार्टी फुटको अनौपचारिक घोषणा गरेको हो?

केपी ओलीजी नेपालको कम्युनिष्ट आन्दोलनलाई विभाजित गर्न चाहनुहुन्छ। विगतमा माओवादी र एमालेको एकता भयो त्यो उहाँले प्रधानमन्त्री हुनको लागि एकता गरेको भन्ने कुरा घटनाक्रमबाट पुष्टि भइसकेको छ। संसदको विघटनबाट धेरै कुराहरु क्लियर भइसकेको छ, केपी ओलीजी के गर्न चाहनुहुन्छ भन्ने कुरा।

त्यसो हुनाले उहाँले जुन कारबाही गर्दै हुनुहुन्छ अरु धेरैलाई पनि कारबाही गर्दै जानुहुन्छ उहाँले। जिल्लाहरुमा पनि कारबाही सुरु भइसकेको छ। त्यसो हुनाले हामी यो कुराबाट सचेत छौँ। र हामीले यतिबेला नेकपा एमालेलाई पुनर्गठिन गर्ने, सुदृढ गर्ने, रुपान्त्रण गर्ने र यो कामलाई देशव्यापी रुपमा अगाडि बढाउने अभियानमा हामी लागिरहेका छौँ।

हाम्रो राष्ट्रिय कार्यकर्ता भेलाले निर्णय गरिसकेको छ। सोही अनुसार अखिल नेपाल महिला संघ, युवा संघ र अनेरास्ववियुको राष्ट्रिय कार्यकर्ता भेला भएर छिट्टै केन्द्रिय कमिटी गठन भइसकेको छ। अब जिल्ला कमिटीहरु गठन हुँदैछन्। हामीले अब राष्ट्रिय कार्यकर्ता भेलादेखि देशव्यापी रुपमा एमालेलाई नै पुनर्गठित, रुपान्तरित र सुदृढ गर्ने कामको अभियानमा हामी लागि रहेका छौँ।

२. त्यसको अर्थ एमाले फुटिसकेको हो?

विधिवत् रुपमा एमाले अहिले फुटेको छैन। त्यो यथार्थ कुरा हो। एमालेको संसदीय दल पनि एकै ठाउँमा छ। तर पार्टीको आन्तरिक सांगठनिक जीवनमा अलग–अलग ढंगले क्रियाकलाप तथा गतिविधिहरु अगाडि बढिरहेका छन्। अहिले त्यो फुटको तहसम्म पुगेको छैन। अहिले नै यो फुटिसक्यो भनेर निष्कर्ष निकाल्ने अवस्था छैन। तर भविष्यमा के हुन्छ त्यो केपी ओलीजीका क्रियाकलापमा भरपर्छ।

आगामी दिनमा उहाँ कसरी अगाडि बढ्नुहुन्छ, केपी ओलीका गतिविधि र क्रियाकलापका आधारमा एमाले एकताबद्ध भएर जान्छ या विभाजित हुन्छ भन्ने कुरा भरपर्छ।

३. माधवकुमार नेपाललाई ६ महिनाभित्र नै सच्चिने मौका उहाँले दिनुभएको छ, सच्चिनुभएन वा उहाँले आफ्नो त्रुटि आत्मसात गर्नु भएन भने ओलीले त कारबाही गर्नुहुन्छ हैन?

पहिलो कुरा त ओलीजी आफै विधानभन्दा विपरित ढंगले काम गर्दै हुनुहुन्छ। हाम्रो नेकपा एमालेको नवौँ महाधिवेशनबाट पारित जुन विधान छ, त्यो विधानभन्दा पृथक ढंगले उहाँ अगाडि बढीरहनुभएको छ र उहाँले चलाइरहेको अहिलेको नेकपा एमाले पार्टी छ, त्यो आफैमा अवैधानिक पार्टी छ।

पार्टी विधानसँग त्यसको कुनै साइनो सम्बन्ध मिल्दैन। त्यसो हुनाले पार्टी विधान नै तोडफाड गरेर अगाडि बढेको ओलीजीले जे निर्णय गर्नुहुन्छ त्यो कुरा हामी मान्दैनौँ। त्यसो हुनाले उहाँले गरेको कारबाही नेकपा एमालेको विधानले चिन्दैन। त्यो कारबाही हामीलाई पूर्णरुपमा अस्विकार्य छ। अहिलेसम्मका उहाँका घटनाक्रम हेर्ने हो भने उहाँले एमालेलाई पनि टुक्रा–टुक्रा पार्न चाहनुहुन्छ।

४. केपी ओली अझै पनि सच्चिन सक्छन् भनेर देशव्यापी अभियान सुरु गर्नुभएको हो त?

केपी ओलीजी भित्र असल इमानदार, सकरात्मक भएर सोच्ने नेता र कार्यकर्ताको पनि एउटा पङ्क्ति छ। त्यो हामीले राम्रोसँग बुझेका छौँ र त्यो पार्टीले ओली गुटमा भएका तमाम कार्यकर्ताले एमालेलाई फुटबाट जोगाउनका लागि ओलीलाई अझैपनि सम्झाइबुझाइ गरेर केही गर्न सक्नुहुन्छ भने त्यो उहाँहरुमा भर पर्छ।

हाम्रो दबाबबाट ओलीले मान्ने सम्भावना देखिँदैन। त्यहाँभित्रबाट कुनै किसिमको प्रयास रहन्छ भने त्यो झिनो आशाा अझसम्म पनि बाँकी नै छ।

पूर्ववत अवस्थासम्म नगई अन्तरसंघर्ष गर्न पनि पाइएन। अहिले अन्तरसंघर्ष भनेको एमाले पूर्ववत् अवस्थामा फर्किने कुरा हो। हामी फरक ढङगले संगठन र कमिटीहरु निर्माण गर्दै आफ्ना विचारहरुलाई अगाडि बढाउने योजनामा छौँ।

५. तत्काल अर्को पार्टी घोषणा गरेर त अगाडि बढ्नु हुँदैन?

तत्काल हामी अर्को पार्टी घोषणा गर्ने अवस्थामा छैनौँ। हामी राजनीतिक व्यक्ति हौँ। नेपालका तमाम वामपन्थीहरु, देशभक्तहरु, प्रजातन्त्रवादीहरु सबैसँग हाम्रो कुराकनी चलिरहन्छ। यो कसैले पनि रोक्न सक्दैन।

प्रचण्डजीसँग मात्र हैन हाम्रो तमाम राजनीतिक पार्टीहरुसँग भेटघाट चलिरहेको छ। कसैले रोक्न सक्दैन।

पहिलो कुरा हामी लोकतन्त्र बचाउन चाहन्छौँ। नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध भएर नयाँ उचाईंमा अगाडि बढाउन चाहन्छौँ।

चैत १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्