गत वर्षभन्दा १५ गुणा बढी डढेलो, यस वर्ष २८ सय ४३ स्थानमा

काठमाडौँ– ७५ जिल्लाका वन क्षेत्रमा यो वर्ष डढेलोको समस्या रहेको र विगतको वर्ष भन्दा झण्डै १५ गुणा बढी डढेलो लागेको वन विभागले जनाएको छ।

गएको वर्ष (सन् २०१९ को नोभेम्बर १५ देखि २०२० को मार्च ३१) भन्दा यो वर्षको सोही अवधिमा डढेलोको समस्या १४.६५ गुणा बढी भएको तथ्यांकले देखाएको छ ।

गएको वर्ष यो अवधिमा देशभर १९४ स्थानमा डढेलो लागेको थियो र त्यसबाट कम्तीमा ४१ जिल्ला प्रभावित थिए । यो वर्ष सोही अवधिमा डढेलोको संख्या २८ सय ४३ पुगेको छ र कम्तीमा ७५ जिल्ला प्रभावित भएका छन् ।

नेपालमा नोभेम्बर मध्य अर्थात मंसिरको सुरुदेखि डढेलोको सिजन सुरु हुन्छ र बर्खा नलागेसम्म जोखिम रहिरहन्छ । त्यसमध्ये फागुनको मध्यदेखि वैशाख मध्यसम्मलाई डढेलोको अत्याधिक जोखिम युक्त समय मानिन्छ ।

यो वर्ष मनाङको वन क्षेत्रमा गएको मंसिर दोस्रो हप्ता तथा ताप्लेजुङ्गको पाथिभराको जंगल क्षेत्रमा पुस मध्यतिर नै भीषण डढेलो लागेको थियो । त्यसपछि डढेलोका घटना अधिकांश जिल्लाका वन क्षेत्रमा फैलिएको हो ।

यो वर्ष हिउँद र प्रि–मनसुनको सुरुवाती चरणमा पानी निकै कम परेका कारण सुख्खा हुँदा जोखिमयुक्त बनेका वन क्षेत्रमा मानवीय त्रूटि र नियतका कारण डढेलोका घटना बढेको वन मन्त्रालयले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ उत्पयकामा गएको अक्टोबर ४ यता ७.९ मिलिमिटर पानी परेको छ । देशका अरु क्षेत्रको अवस्था पनि उस्तै रहेको महाशाखाले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ११७.५ मिलिमिटर पानी परेको थियो ।

यो वर्ष कहाँ कति डढेलो?

डढेलो सिजन (हालसम्म) मा यो वर्ष सबैभन्दा बढी प्रभावित हुनेमा पर्सा, चितवन, सुर्खेत, कञ्चनपुर, गोरखा, मकवानपुर जिल्ला रहेका छन् ।

हालसम्म पर्सा जिल्लाको वन क्षेत्रमा १९५, चितवनमा १५७, सुर्खेतमा १२८, कञ्चनपुरमा ११९, गोरखामा ११६ र मकवानपुरमा ११५ स्थानमा डढेलो लागेको तथ्यांक छ ।

यस्तै दाङमा ९९, बर्दियामा ९४, जाजरकोटमा ८०, अछाम र बझाङमा समान ७७,  लमजुङमा ७५, नवलपुरमा ७४ तथा सिन्धुलीमा ६७ स्थानमा डढेलो लागेको छ पछिल्लो साढे चार महिनाको अवधिमा ।

वन विभागका अनुसार अहिले पनि ३० जिल्लाका वन क्षेत्रमा डढेलो सक्रिय अवस्थामा छ ।

बढी प्रभावित हुने मध्येको चितवनका डिभिजन वन अधिकृत पदमराज नेपालका अनुसार जिल्लाको वन पछिल्लो १० वर्ष यताकै भीषण डढेलो लागेको हो । उनका अनुसार गएको चैत १५ देखि फागुन २५ गतेसम्म जिल्लाको ३७ सय ९० हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।

डढेलोका प्रभाव

वन क्षेत्रमा लागेको डढेलोका प्रभाव मानव स्वास्थ्य तथा प्राणी र वातावरणको सन्तुलनमा गम्भीर रुपमा पर्ने वातावरणविद बटुकृष्ण उप्रेतीले बताए । उनले भने, ‘डढेलोको प्रभाव वन फडानीको भन्दा पनि गम्भीर हुन्छ । डढेलोका कारण वन क्षेत्र सखाप हुने, त्यसबाट वायुमण्डलमा कार्बनडाइअक्साइडसहितका ग्यास उत्सर्जन हुने तथा भविष्यमा कार्बनडाइअक्साइड संस्लेषण गरेर अक्सिजन उत्सर्जन गर्ने क्षमता पनि कम हुन्छ ।’

गएको शुक्रबारदेखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वायु प्रदूषण तह उच्च पुग्यो । हिउँद र प्रि–मनसुनको अवधिमा पर्याप्त पानी नपरेका कारण वायुमण्डलमा जमेको धुलोका कणले प्रदूषित अवस्थामा रहेको वायू डढेलोका कारण निस्किएको धुँवाले थप खराब बन्यो ।

काठमाडौँ लगातार विश्वका प्रदूषित शहरको सूचीमा अग्रस्थानमा रहँदै आएको छ । यसको प्रभाव मानव स्वास्थ्यमा सीधा रुपमा पर्नुका साथै वातावरणीय सन्तुलनमा तत्कालीन र दीर्घकालीन असर गर्ने विज्ञले बताएका छन् ।

चैत १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्