व्यावसायिक सामाजिक सञ्जाल ‘रोलिङ नेक्सस’ सुरु

विराटनगर – रोजगारी र उद्यमशीलता प्रवर्द्धन गर्न प्रदेश १ मा व्यावसायिक सामाजिक सञ्जाल रोलिङ नेक्सस सुरु गरिएको छ।

विराटनगरमा बुधबार आयोजित कार्यक्रममा सञ्जालको शुभारम्भ गर्दै प्रदेशका मुख्यमन्त्री शेरधन राईले रोलिङ नेक्सस सर्वसाधारणको दैनिक जीवनमा उपयोगी बन्ने विश्वास लिएको बताए।

कार्यक्रममा सर्वसाधारणको दक्षता अभिवृद्धि, रोजगारी सिर्जना तथा प्रवर्द्धन, उद्यमशीलता प्रवर्द्धन तथा व्यावसायिक वृद्धिका लागि प्रभावकारी हुने आशा व्यक्त गरे।

विराटनगर महानगर प्रमुख भीम पराजुलीले अनलाइनमा आधारित यस सञ्जालले उत्पादनशील जनसंख्यालाई थप ऊर्जाशील बनाउने बताए।

त्यस्तै, रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले उद्यमशीलतासँगै पियर टु पियर सेयर्ड इकोनोमीको अवधारणामा रहेर अवसर तथा सम्भावनाको खोजी र गिग इकोनोमीको अवधारणामा रहेर उद्यमशीलता प्रवर्द्धन तथा व्यावसायिक वृद्धि गरिने जानकारी दिए।

अध्यक्ष जंगमले रोजगारी, उद्यमशीलता, सशक्तिकरण र संलग्नताको सिद्धान्तअनुरूप नेक्सस सञ्चालन हुने बताए।

यससँगै अन्य दुई वटा एप्लिकेसन रोलिङ कर्मशील स्वदेश र रोलिङ कर्मशील विदेशबाट स्वदेशी तथा वैदेशिक रोजगारीबारे जानकारी लिँदै नयाँ अवसर खोज्न सकिने उनको भनाइ छ।

रोलिङ नेक्ससले व्यावसायिक सेवा दिन विभिन्न ७ वटा समूह छुट्याएको छ। जागिर, टेन्डर, फ्रिलान्स, कम्प्युटर एडप्टिभ टेस्ट, इभेन्ट, बजार र छलफलजस्ता प्लेटफर्मको प्रयोग गरी विभिन्न सेवा लिन सकिने जंगमले बताए।

त्यसैगरी, रोलिङ उजुरीमार्फत उपभोक्ताले आफ्ना अप्ठ्यारो अथवा ठगीको गुनासो औपचारिक रूपमा राख्न मिल्ने र सोको समाधानका लागि सम्बन्धित कम्पनीबाट जवाफ मागी समाधान गर्ने व्यवस्थासमेत गरिएको छ।

खेलप्रेमी युवा पुस्तालाई आकर्षित गर्न रोलिङ कन्टेस्टमार्फत खेलकुदको गफगाफमा सहभागिता, फोटो वा भिडियो प्रतिस्पर्धा, दैनिक हाजिरीजवाफजस्ता मनोरञ्जनका सामग्री पनि यसमा समावेश छ।

चैत १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्