उद्यम

खान जाने हो कि घैँटे चिया?

काठमाडौँ– ‘२०४८ सालमा पहिलो लहर चल्दै थियो कोरिया जाने। रिस्क नै थियो। म र मेरा अन्य दुई साथी ७५ हजार खर्च गरेर अवैधानिक रुपमा कोरिया प्रस्थान गर्‍यौँ। तर एकजना साथीलाई एयरपोर्टबाटै फिर्ता पठाइदियो डकुमेन्ट मिलेन भनेर,’ आफ्ना सुरुवाती दिन सम्झिँदै थिए ताप्लेजुङका ४९ वर्षीय प्रेम गुरुङ।

घरको आर्थिक स्थिति कमजोर भएका कारण प्रेमले एलएलसी पास गरेपछि अध्ययनलाई अगाडि बढाउन पाएनन्। दुई वर्ष गाउँकै प्राथमिक विद्यालयमा पढाए। ब्रिटिस लाहुरेमा पनि नभिडेका भने होइनन् तर फेल भएपछि विदेश जाने सोच बनाए।

आफूले पढाएर जम्मा गरेको आठ हजार रुपैयाँ बोकेर साउदी जान्छु भनेर उनी काठमाडौँ हानिए। काठमाडौँ आएपछि उनका एक साथीले दक्षिण कोरिया जान सल्लाह दिए।

प्रेम भन्छन्, ‘मसँग पैसा त थिएन। तर बुवाले घर जमिनदारलाई जिम्मा लगाइदिएर ७५ हजार लिएर काठमाडौँ आउनुभयो। अनि कोरिया जाने प्रोसेस सुरु गरेको थिएँ।’

आफ्नो श्रम र पसिना १९ वर्षसम्म कोरियामा बगाएका प्रेम कोरिया पुग्दा १९ वर्षका थिए।

देशसञ्चारसँगको कुराकानीमा उनले भने, ‘भाषा जानेको थिएन। अर्काको देशमा विभिन्न कठिनाइहरु आए। ६ महिना त मैले रोएर नै बिताएँ।’

त्यतिबेला उनले पुनः नेपाल फर्किने सोच नबनाएका पनि होइनन्, तर घरको आर्थिक अवस्थाले उनलाई बारम्बार रोक्थ्यो।

दैनिक रुपमा कोरियन भाषा उनको जीवनमा अभिन्न रुपले जोडिन थाल्यो। उनी थप्छन्, ‘काममा त छँदैछ, कोठामा गएर टीभी हेर्न खोज्दा पनि कोरियन मात्र आउँथ्यो।’

विस्तारै उनले कोरियन भाषा बोल्न सिके। काम गर्दै जाँदा जरुरत भएपछि उनले भाषाको क्लास लिए र जान्ने भए लेख्न पनि।

उनको कोरिया बसाई लामो हुँदै गयो। कोरिया बसेको १९ वर्षसम्म उनी एकचोटि पनि नेपाल आएनन्, जुन कुराले उनलाई सधैँ पछुतो गराउँछ।

उनी भन्छन्, ‘इलिगल बसेको कारणले गर्दा नेपाल आएर फेरि रिटर्न हुने अवस्था पनि थिएन।’

०००

शनिबारको दिन थियो, पञ्जा लगाएर काम सुरु गर्ने क्रममा थिए उनी। नेपालबाट उनका काइँला मामाको फोन आयो। घरमा आमा दमको रोगी भएका कारण नेपालबाट फोन आउने वित्तिकै उनी त्रसित हुन्थे।

‘भान्जा मन चाहिँ दह्रो पार्नुस् है,’ मामाले फोनमा भनेको कुरा। उनको मनमा चिसो पसिहाल्यो।

दोहोरो प्रश्न गर्न नपाउँदै आमाको मृत्यु भएको खबर मामाले सुनाए उनलाई। त्यतिबेलाको आफ्नो अवस्था सम्झिँदा अहिले पनि भावुक हुन्छन् प्रेम। किनकि आमालाई उनले नभेटेको पन्ध्र वर्ष भइसकेको थियो।

सन् २००७ को त्यो घटनाले उनको मन भारी भयो। आमाको आर्शिवाद लिएर ताप्लेजुङदेखि काठमाडौँ आएको दिन नै उनको आमासँगको अन्तिम भेट हुन पुग्यो।

अझ विडम्बना त आमा बित्दा पनि नेपाल आउन पाएनन् उनले, काममा विदा नपाएर। उनी सम्झिन्छन्, ‘साहुलाई गएर मेरो आमा बित्नुभयो भन्दा कम्पनीमा काम धेरै छ, अहिले छुट्टी पाउने अवस्था छैन भन्यो।’

लगत्तै हातमा लगाएको पञ्जा फालेर काम गर्न सक्दिन भनेर कोठामा गएर सोच्न थाले। अवैधानिक रुपमा बसेका उनी आफ्नो सुरमा यत्तिकै नेपाल आउन पनि सक्दैनथे। मामालाई फोन गरेर आफ्नो अवस्थाबारे जानकारी गराए।

घरपरिवारले उनलाई नेपाल नफर्कन सुझाव दिए। उनी भन्छन्, ‘बाँचुञ्जेल त आमालाई हेर्न पाएनौ, अब मरेको लास हेर्न किन आउँछौ, हामी सबै छौँ। समय मिलाएर आऊ भन्नुभयो।’

तीन दिदी–बहिनीका दाजु उनी परिवारका एक्लो छोरा थिए। उनको अनुपस्थितिमा बुवाले आमालाई दागबत्ती दिए। कोरियामा उनले १३ दिनसम्म नुन नखाई काम गरे।

०००

आमा बितेको चार वर्षपछि २०१० मा कोरिया छोडेर बाँकी जीवन स्वदेशमै बिताउँछु भनेर उनी अन्ततः नेपाल फर्किए। नेपाल आएर आमाको काजकिरिया गरे।

आमालाई आफ्नो सफलता देखाउन नपाएको सम्झिँदा उनको मन पोल्छ अहिले पनि। उनी थप्छन्, ‘अहिले सफल भएँ, तर यी कुरा मैले मेरो आमालाई देखाउन पाइनँ। आमालाई अन्तिम पटक हेर्न नपाएको सम्झिँदा पश्चातापले भरिन्छु।’

कोरियाबाट उनी नेपाल त आए तर आएको केही समय अन्यौलमा परे। झन्डै दुई दशक कोरिया बसेका उनले त्यहाँ अथाह परिश्रम गर्न सिके। उनी नेपालमा पनि उस्तै मेहनत गर्न चाहन्थे।

आफूले जानेको सीप कोरियन भाषा थियो। आफूले सिकेको कुरा अरुलाई पनि सिकाउँछु भन्ने उद्देश्यले उनले कोरियन भाषाको क्लास सुरु गरे ‘सिनवा कोरियन ल्याङ्वेज’ नाम दिएर।

उनी थप्छन्, ‘कोरियन भाषा पढाउनलाई मनबाट त छैन तैपनि आफू अलि दक्ष छु जस्तो लाग्छ, मैले नपढाए पनि अरुले त पढाइहाल्छ। त्यो भएर पनि पढाउन सुरु गरेँ।’

पढाउने क्रममा बेलाबेला उनी विद्यार्थीलाई आफूजस्तो लामो समय नबस्न आग्रह गर्छन्।

‘इलिगल बसेको अवस्थामा नेपालमा केही दुःख पर्दा छुट्टी लिएर आउन पाइँदैन, तर लिगल्ली बस्यो भने नेपालमा आउन पाइन्छ,’ उनी भन्छन्।

कोरिया जाँदा भाषा सिकेर जानुपर्ने बताउँछन् उनी। भन्छन्, ‘दुःख त आफ्नो ठाउँमा छँदैछ तर भाषा सिकेर गयो भने मैलेजस्तो दुख भोग्नु पर्दैन।’

यसैबीच संगीतमा रुचि भएका कारणले गर्दा उनले अनामनगरमा रेकर्डिङ स्टुडियो सुरु गरे। तर त्यहाँको माहोलमा उनी धेरै समय भिज्न सकेनन्।

०००

प्रेम केही फरक गर्न चाहन्थे। नेपालको मौलिक कुरालाई चिनाउन चाहन्थे। र झण्डै दुई वर्षको तयारीपछि दुई वर्षअघि उनले घैँटे चिया सुरु गरे। जावलाखेल, खरिबोट नजिकै रहेको घैँटे चिया फरक स्वादको चिया घर हो।

त्यसअघि उनले काठमाडौँको बागबजारमा मामा ससुरासँगको साझेदारीमा घैँटे चिया खोलेका थिए। जावलाखेलमा भने उनले एकलरुपमा सञ्चालन गरिरेहका छन्।

घैँटे चियाको नामाकरण कसरी भयो? यो मेरो जिज्ञासा!

प्रेम भन्छन्, ‘माटोको गाग्री (घैँटो) बाकेर आमा पानी लिन जानु हुन्थ्यो, म पनि सँगै बोक्न जान्थेँ। घैँटोको पानी स्वस्थ हुन्छ भनेर आमाले त्यतिबेला भनेको सम्झेको थिएँ। घैँटोको पानी स्वस्थकर हुन्छ भने चिया पनि नयाँ ढङगले बनाउन सकिन्छ भनेर साचेँ। माटोका भाँडा लोप हुने क्रममा छन्। तयारी गर्दैगर्दा मलाई यही कुराको याद आयो। र दुई वर्षको अध्ययनपछि सुरु गरेँ व्यवसाय। घैँटोबाट खाने चिया घैँटे चिया भनेर नामाकरण गरियो।’

ग्राहकको प्रतिक्रियाले आफू उत्साहित भएको प्रेम बताउँछन्। भन्छन्, ‘धेरैजसो ग्राहकहरुले यहाँको चियाले गाउँको याद दिलायो भन्नुहुन्छ, यो सुन्दा खुसी लाग्छ। ललितपुर मात्र नभई बौद्ध र कीर्तिपुरदेखि पनि ग्राहकहरु धाएर आउनुहुन्छ।’

आफू पनि चिया पारखी भएकाले चिया मन पराउनेको लागि यो उत्तम ठाउँ भएको उनको भनाइ छ।

सामान्य मानिसहरु पनि आएर चिया खान सकून् भन्ने हेतुले चियाको मुल्य ५० रुपैँया राखिएको छ। चिया बाहेक यहाँ कोरियन खानादेखि लिएर मोमो, चाउमिन लगायत विभिन्न परिकार पाइन्छ।

बिहान ६ बजेदेखि राति १० बजेसम्म खुल्ने घैँटेमा समान्यतया एकदिनमा करिब २०० देखि २२० कपसम्म चिया बिक्री हुने उनी बताउँछन्।

चिया पकाउन करिब ३ घन्टादेखि साढे तीन घन्टासम्म समय लाग्ने भएकाले चिया बनाउने टिम भने बिहान ४ बजेदेखि नै काममा खटिन्छन्। चिया बनाउने तरिका पनि प्रेमले नै सिकाएका हुन् पहिला।

यहाँ नेपालकै माटोबाट उत्पादन गरिएको कप तथा गिलास प्रयोग गरिन्छ, जहाँ हरेकमा ‘घैँटे’ लेखिएको छ। डोको, स–सना मट्कादेखि ठेकीसम्म सजाइएको छ। ठेकीमा बिजेसालको पानी छ, जसले विभिन्न रोग निको पार्ने उनको दावी छ।

उनी थप्छन्, ‘विशेषगरी चिया बनाउँदा आयुर्वेदिक तरिकालाई बढी ध्यान दिन्छु। त्यसैले अरुतिरको चियाभन्दा अलि फरक छ भन्ने कुरामा विश्वस्त छु।’

आफ्नो कामले केही भएपनि रोजगारी दिएकोमा उनी प्रसन्न छन्। उनले उपत्यकामा अन्य तीन–चारवटा ब्रान्च खोल्ने पनि योजना बनाएका थिए तर कारोना महामारीले गर्दा उनको योजना केही समयका लागि रोकिएको छ।

०००

काम नगरी सफलता पाइँदैन भन्दै आत्तिएर काम नगर्नुभन्दा केही काम गरेर असफलता खेपे पनि आफूले अनुभव सिक्ने उनी बताउँछन्।

उनी थप्छन्, ‘हामी नेपालीहरु धेरै नेगेटिभ कुराहरु पहिले नै सोच्ने गर्छौँ। मैले सुरु गर्दा पनि मेरो परिवारबाट यस्तै कुराहरु आएको थियो। तर मैले पोजेटिभ सोचेर नै काम अगाडि बढाएँ।’

विदेशमा गएर सीप सिक्ने र नेपालमा आएर व्यवहारमा उतार्नुपर्ने बताउँछन् प्रेम। उनी अहिले विदेश जान तातिरहेका युवाहरुलाई आफूले जस्तो धेरै वर्षसम्म इलिगल नबस्न सुझाव दिन्छन्।

उनी भन्छन्, ‘सम्पूर्णलाई मैले के भन्छु भने विदेश जानुस् तर लामो समयसम्म नबस्नुस्, त्यहाँ सिकेको सीपले नेपाल आएर केही गर्नुस् ताकि अरु नेपालीले पनि रोजगारी पाउन्।’

कोरियन र नेपालीलाई तुलना गर्दा नेपालीहरु काममा अल्छी भएको उनको अनुभव छ।

उनी भन्छन्, ‘हामी नेपालीहरुलाई काम गर्नुपर्छ भनेर सबैलाई जनचेतना छ तर हामी कामलाई फलो गर्दैनौँ। तर कोरियनहरु मेहनती हुन्छन्।’

कोरियाले उनलाई दुःख र मेहेनत गर्न सिकायो। मान्छेलाई सत्कार गर्न सिकायो। काम भनेको कुनैपनि सानो ठूलो हुँदैन भनेर उनले कोरिया गएर महशुस गरे। यो कुरामा उनी सधैँ कोरियाप्रति आभारी छन्।

चैत १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्