ग्रिजम्यानको गोलमा विश्व विजेता फ्रान्सको जित

एन्टोनी ग्रिजम्यानको गोलमा विश्व विजेता फ्रान्सले विश्वकप २०२२ को छनौट अन्तर्गत बुधबार राति भएको खेलमा जित दर्ता गरेको छ ।

युरोपेली क्षेत्रको छनौट अन्तर्गत समूह डी मा रहेको फ्रान्सले अवे मैदानमा भएको खेलमा बोजनिया–हर्जगोविनालाई १–० ले पराजित गरेको हो ।

फ्रान्सको जितमा ६० औँ मिनेटमा ग्रिजम्यानले गरेको गोल नै निर्णायक बन्यो । जितपछि शीर्ष स्थानको फ्रान्सको तीन खेलबाट सात अंक भएको छ ।

सोही समूहको अर्को खेलमा युक्रेन र काजखस्तानले १–१ को बराबरी खेलेका छन् ।

यसैबिच समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा इटाली विजयी भएको छ । लगातार तेस्रो जित निकाल्ने क्रममा इटालीले लिथुवानियालाई २–० ले पराजित गरेको हो ।

सोही समूहको अर्को खेलमा बुल्गेरिया र उत्तरी आयरल्याण्डले गोलरहित बराबरी खेलेका छन् । इटाली ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

यसैगरि समूह आई अन्तर्गत शीर्ष स्थानको डेनमार्कले लगातार तेस्रो जित दर्ता गरेको छ । उसले बुधबार राति भएको खेलमा अस्ट्रियालाई ४–० ले पराजित गरेको हो ।

यस्तै सोही समूहको अर्को खेलमा इजरायलले माल्डोभालाई ४–१ तथा स्कटल्याण्डले फारोइ आइल्याण्डलाई ४–० ले पराजित गरेको छ ।

चैत १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्