कपडा पसलमा काम गर्न लैजाने भन्दै यौन धन्दामा लगाउने समूह पक्राउ

भक्तपुर– कपडा पसलमा काम गर्न लैजाने भन्दै यौन धन्दामा लगाउने समूह पक्राउ परेको छ। काठमाडौँको माकलबारीमा फ्ल्याट भाडामा लिएर कोठामा राखी होटल पुर्‍याएर ग्राहकसँग पठाउने समूहलाई प्रहरीले पक्राउ गरेको हो।

१९ वर्षकी सुहाना तामाङले ज्याला मजदुरी गर्ने एक परिवारकी छोरीलाई कपडा पसलमा काम गर्न लैजाने भनेर यौन धन्दामा लगाएको प्रहरीले जनाएको छ। सुहाना तामाङले श्याम कुमार भट्टराईसँग मिलेर लिएको फ्ल्याटमा ललाई फकाई गरेर लगेका युवतीहरुलाई राख्ने र होटलमा लगेर जबरजस्ती करणी गर्न लगाएको प्रहरीले जनाएको छ।

१६ वर्षे नाबालिकाका बाबुआमाले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएको मानव बेचबिखन तथा ओसार पसार र जवरजस्ती करणीको किटानी जाहेरीका आधारमा भक्तपुरकी प्रहरी निरिक्षक भगवति तिमल्सेनाको कमाण्डमा खटिएको टोलिले समूहलाई नै पक्राउ गरेको हो।

आरोपी मसेली भनिने सुहाना तामाङले कपडा पसलमा काम लगाइदिन्छु भन्दै अभिभावकलाई मनाएर बालिकालाई माकलबारीमा लगेकी थिइन्। प्रहरी अनुसन्धानको क्रममा सुहानाले आर्थिक अवस्था कमजोर भएर ज्याला मजदुरी गर्ने बालिका तथा युवतिहरुलाई काठमाडौँमा कपडा पसल लगायतमा काम गर्न लैजाने भन्दै प्रलोभनमा पार्ने गरेको खुलेको छ।

उनले प्रलोभनमा पारिएको बालिका युवतीहरुलाई सरगम भनिने २४ वर्षका श्याम कुमार भट्टराईको सम्पर्कमा पुर्‍याउने र श्याम कुमार भट्टराईले बालबालिका तथा युवतिहरुलाई नयाँ कपडा किनिदिएर उनीहरुको तस्बिर होटल तथा लजका सञ्चालक र प्रबन्धकलाई देखाएर होटलमा आउने ग्राहकहरुलाई रोजाउने गरेको प्रहरी अनुसन्धानका क्रममा खुलेको छ।

ग्राहकले बालिका तथा युवती रोजेपछि श्याम कुमार भट्टराईले भाडाका ट्याक्सी वा पठाओ चालक मार्फत होटलमा पुर्‍याउने गरेको र यौनजन्य क्रियाकलापमा जबरजस्ती लगाउने गरेको प्रहरीले जनएको छ।

बालिकाका पिताको किटानी जाहेरीको आधारमा अनुसन्धान गर्ने क्रममा होटल सञ्चालक, प्रबन्धकलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा बालिकालाई फेमिली कटेज एण्ड खाजा घर सुन्दरीजल भन्ने होटलमा जबरजस्ती भएको खुल्न आएको छ।

प्रहरीले चैत १८ गते होटल सञ्चालक ५२ वर्षका प्रकाश ढुंगेल र ३१ वर्षकी मुना थापामगरलाई नियन्त्रणमा लिएको छ। बालिकालाई जबरजस्ती करणी गर्ने ४७ वर्षका राज कुमार सुनारलाई काठमाडौँको गागलफेदीबाट प्रहरीले नियन्त्रणमा लिएको छ।

चैत १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्