प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले हटाए असंवेदनशील ट्वीट

काठमाडौँ – सर्वोच्च अदालतको आदेशलाई जोडेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालप्रति गरेको ‘असभ्य ट्वीट’ हटाएका छन्।

एमाले र माओवादी केन्द्रको एकतालाई शून्यमा झार्ने आदेश उपर दिएको पुनरावलोकन निवेदनमा निस्सा नदिएपछि थापाले दाहालको फोटो राखेर राजनीति गर्न सुझाएका थिए।

दाहालका छोरा प्रकाशको निधन भएका बेला भावविह्वल अवस्थामा खिचिएको फोटो थापाले ट्वीटरमा राखेपछि सामाजिक सञ्जाल प्रयोग कर्ताले ‘असंवेदनशील र मानवताहीन’ भन्दै आलोचना गरेपछि उनले हटाएका हुन्।

२०७४ मंसिरमा प्रकाशको शवलाई श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा आयोजित शोक सभा हुँदा सञ्चार माध्यमले खिचेको फोटो थापाले प्रयोग गरेका थिए। चौतर्फी आलोचनापछि उनले पुनरावलोकनका लागि निस्सा नदिने आदेशको प्रतिलाई ‘फैसला’ भन्दै राखेका छन्।

थापाले सामाजिक सञ्जालामा लेखेका थिए, ‘लड्डु खाएर उल्लास मनाउने परम्परा त छैन नै। तैपनि पुनरावलोकनको रोइलो अब सकिएको छ। निवेदक महोदयप्रति सहानुभूति चाहिँ छ, सम्हालिनुहोस र राजनीति गर्नुहोस्। राजनीतिज्ञ झगडिया हुन खोज्दा यस्तै हुँदो रहेछ। आफैले भाँड्न चाहेको एकता कति प्यारो?’

चैत १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्