डाइनोसर लोप गराउने एस्टरोइडले अमेजन रेनफरेस्टलाई फैलिन दियोः अनुसन्धान

पृथ्वीबाट डाइनोसरको लोप हुनुमा कारक रहेको एस्टरोइडले उपहार स्वरुप ट्रपिकल (उष्ण प्रदेशीय) रेन फरेस्ट (अमेजन) दिएको एक अध्ययनबाट देखिएको छ।

अनुसन्धानकर्ताले कोलम्बियामा प्राप्त भएको जीवाश्म बनेको परागकण तथा पातहरुको अध्ययन गरेर दक्षिण अमेरिकी क्षेत्रको उष्ण प्रदेशीय जंगलमा आएको परिवर्तन अध्ययन गरेका हुन्।

६ करोड ६० लाख वर्ष पहिले अन्तरिक्षबाट खसेको १२ किलोमिटर चौडाइको ढुंगा (एस्टरोइड) का कारण दक्षिण अमेरिकी क्षेत्रको वनलाई लगभग पूर्ण रुपमा परिवर्तन गरेको अनुसन्धानमा उल्लेख छ।

अनुसन्धान टोलीले परागकण र पातहरुको जीवाश्मको अध्ययनबाट निश्किएका प्रमुख नतिजाहरु प्रतिष्ठित साइन्स जर्नलमा प्रकाशित गरेको छ।

अनुसन्धान प्रतिवेदनकी सहलेखक डा. मोनिका कार्भाल्हो (पानामाको स्मीथसोनियन ट्रपिकल रिसर्च इन्स्टिच्युड) ले भनिन्, ‘हाम्रो अनुसन्धान टिमले ५० हजार भन्दा धेरै परागकणका जीवाश्म तथा ६ हजार भन्दा बढि पातका जीवाश्महरुको अध्ययन गरेको हो। अध्ययनको क्रममा एस्टरोड खस्नु अघि र पछिको प्रभाव हेरिएको थियो।’

हाल मेक्सिकोको युकातान प्रायद्विपमा पर्ने क्षेत्रमा एस्टरोइड खस्नु पूर्व कोनीफेर्स र फेर्न्सका नामले चिनिने ‘कोन–बियरिङ्ग प्लान्ट’ प्रशस्त मात्रामा पाइने गरेको अध्ययनबाट देखिएको छ। तर एस्टरोड खसेपछि वनस्पतीको विविधतामा झण्डै ४५ प्रतिशतले कमि आयो र धेरै वनस्पतिहरु लोप भए। त्यसमा अधिकांश कोन–बियरिङ्ग प्लान्ट रहेको अनुसन्धानकर्ताले बताएका छन्।

एस्टरोड खसेपछि प्रभावित भएको जंगल त्यसपछिका ६० लाख वर्षमा पुनर्स्थापित भएको थियो। त्यसक्रममा फूल फुल्ने र फूल फुलेपछि बन्द कोशा वा फलमा बिउ उत्पादन गर्ने प्रजातिका वनस्पतिको बाहुल्यता रहेको अनुसन्धानमा उल्लेख छ। यसले उष्णप्रदेशीय जंगलको संरचनामा पनि परिवर्तन आएको अनुसन्धान प्रतिवेदनमा जनाइएको छ।

डाइनोसर जीवितै रहेको क्रिटेसिअस कालमा जंगलमा रहेका रुखहरुको माथिल्लो भागका हाँगाहरु फैलिएका हुँदैनथे, जसका कारण घामको किरण जंगलको जमिनमा सजिलै पर्न जान्थ्यो।

तर एस्टरोइड खसेपछि जंगल थप घना बनेको र घामको किरण जमिनमा पर्न मुश्किल भएको देखिने अनुसन्धानमा उल्लेख छ। अनुशन्धानकर्ताहरुका अनुसार डाइनोसरले साना प्रजातिका रुख बिरुवालाई कुल्चिने तथा खाने गर्नाले सो समयमा वन घना नभएको हुन सक्छ।

यस्तै एस्टरोडका कारण बनेको खरानीले फूल फुल्ने प्रजातिका बिरुवालाई विकास हुन सहयोग गरेको तथा कोनिफेर प्रजातिका वनस्पति लोप हुँदा फुल फूल्ने प्रजातिका वनस्पति फैलिन पाएको हुन सक्ने अनुशन्धान प्रतिवेदनमा उल्लेख छ।

 

चैत २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्