कार्टुनिस्ट अविनकी छोरी अभिभावकलाई पछ्याउँदै, पहिलो चित्रकला प्रदर्शनी

नेपाल आर्ट काउन्सिलको प्रदर्शनी हल।

दिउँसो साढे १ बजे चर्चित कार्टुनिस्ट अबिन श्रेष्ठ पत्रकारलाई भित्तामा टाँगिएका चित्रहरुको बखान गर्दै थिए। चित्रमा भरिएका रंगका अर्थ अर्थ्याइरहँदा हलभित्र हल बाहिर खुर खुर गर्दै दौडिरहेकी थिइन् अबिनकी छोरी आश्रिती श्रेष्ठ।

यी दुई बाबु छोरी फरक–फरक व्यवहारमा प्रस्तुत भएपनि आँखामा एकै भाव लिएर बसेका थिए, ‘खुसी’ !

हरेक एउटा चित्रलाई व्याख्या गर्दा एकैछिन पनि नरोकिई अबिन फरर बोलिरहेका थिए। छोरीको चित्रकलाप्रतिको मोहलाई उनले बाल्यकालदेखि जसरी नियालेका थिए, भ्याएसम्म पोखे।

‘छोरी स्कूल जान थालेपछि स्वीमिङ गर्न जाने भनेर रहर गरिन्। शनिबारमात्र बिदा हुने भएपछि भनेको समयमा जान पाइएन। एक शनिबार हामी तयारी गरेर स्विमिङ जान तयार भयौँ। नानी उत्साहले स्विमिङ कस्ट्यूम नै लगाएर सुत्छु भन्न थालिन्, ट्युब सिरानमा राखेर सुतिन्। तर भोलिपल्ट बादल लागेर पानी आउला जस्तो भो। हामीले छोरीलाई जान मिल्दैन भन्यौँ, कालो अनुहार लगाइन् तर जिद्दी गरेन। एकछिनमा उसको ह्वाइटबोर्डमा सानो नानी आँखाबाट आँसु बगाइरहेको मुख दुःखी भएको जस्तो चित्र बनेको रहेछ। मैले सोधेँ के हो ? उनले स्विमिङ जान नपाएपछि दुखी भएको व्यक्त गरेको बताइन्।’

अबिनले छोरीले चित्रबाट भाव पोखेको प्रसंगलाई जोडे, ‘दुई बजेपछि घाम लाग्यो र हामी स्विमिङ जान तयार भयौँ तब उनले खुसी हुँदै त्यो चित्रको आँसु मेटिन् र हाँसेको मुख बनाइन्।’

छोरी मन्टेश्वरीमा पढ्न जान थालेपछि घरमा पढाउन थालेकी थिइन्। अंग्रेजी अल्फाबेट र अंकका साथै उनी घरमा मिसले सिकाएको चित्रकला पनि सिकाउँथिन्। अबिनकी श्रीमती संगी श्रेष्ठ पनि चित्रकार हुन्। छोरीमा चित्रकलाको मोह रगतबाट सर्‍यो कि उनमा प्राकृतिक रुपमा आयो, अबिनलाई थाहा छैन। उनलाई मात्र छोरीले चित्र बनाउन मन पराउँछिन् भन्ने थाहा छ, बस्।

‘मेरो छोरी मलाई अरु बालिका जस्तो व्यवहार गरोस् जस्तो पनि लाग्छ, त्यसैले स्कुलमा संगीत, नृत्य र चित्रकला मध्ये एक छान्नुपर्ने समयमा मैले नृत्य छान्न सुझाएको थिएँ। तर छोरीलाई त्यसमा केही चाख छैन,’ अबिन भन्न थाले, ‘लकडाउनमा अनलाइन कक्षा हुँदा साथै बसेको थिएँ, उसका केटी साथीहरु कति राम्रो नाच्थे, ऊ नाच्दिनथी, बरु चित्र बनाएर बस्थी।’

छोरीको रहर राम्ररी बुझेका अबिनले उसको रुचिलाई पूरा गर्न सक्ने मेहनत गरेका छन्। ‘सिकाउने गरेको छु, कति बुझ्छ थाहा छैन, तर भन्ने गरेको छु। कतिपय कुरा गर्भबाटै जानेर आएको हुँदैन, भोग्दै सिक्दै जाँदा सिक्ने हो।’

अबिन आफूमा चित्र बनाउने रहर हुँदाको समयलाई सम्झन्छन्, जतिबेला उनलाई चित्र कोरेको विषयलाई लिएर बाले गाली गर्थे। सायद चित्रकारको भविष्य चम्किलो देखिँदैन थियो। तर अहिले आत्मनिर्भर भएर जीवन चलाइरहेका अबिन छोरीलाई भने चित्र कोर्न उत्प्रेरणा दिइरहेका छन्।

‘यो पेसालाई सामाजिक तथा आर्थिक सम्मान दिइए पनि यसमा अडिन धेरै गाह्रो हुन्छ। प्यासन मात्र भएर खुबी, रुचीको काम गर्न सकिँदैन। यो पेसामा जति नाम छ, दाम छैन। त्यसैले छोरीले आउँदो दिनमा के कस्तो समस्या भोग्नु पर्छ भनेर भन्दा पनि म आज के गर्न सकिन्छ भनेर लागिपरेको छु।’

उनले छोरीलाई चित्रको सैद्धान्तिक ज्ञान पनि दिइराखेका छन्। सानैबाट चित्र बनाइरहेकी छोरीका धेरै आकृति घरमा थिए। चित्रकला प्रदर्शनीमा बाबा आमासँँगै गइराख्ने उनले कहिले मेरो चित्रको प्रदर्शनी गर्ने भनेर पनि सोध्न थालिन्।

लकडाउनको समयमा समिर कोजू एउटा प्रस्तावसहित आए, जो चित्रसहितको बाल कथा प्रकाशन गर्दै थिए। त्यसपछि आश्रितीको चित्रकला अफिसियल भयो, ९ वर्षको उमेरमा नै पुस्तक प्रकाशन गर्ने बाल कलाकार भइन् उनी । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीले पुस्तक ‘करण र कार्टुन’ लोकार्पण गरे।

आश्रिती पुस्तक बिमोचनपछि प्रदर्शनीमा आएकाहरुलाई चित्र देखाउन थालिन्। उनलाई आमाले क्यानभासमा रंग भरेको लोभ लाग्थ्यो। त्यसैले उनले पनि पेन्टिङ ब्रस समाउने आँट गरिन्। आज उनको चित्र छापिएको छ।

हुन त बाबु आमा कलाकार भएपछि त्यसको राम्रो नराम्रो पक्ष बाहिर भोग्नु पर्छ। केहीले बाबा आमाले चित्र बनाउन सहयोगल गरे पनि भने। तर आश्रिती आफूलाई चित्रकार बनाउन र चित्रलाई सबैमाझ साझा गर्न आफै मेहनत गर्न थालिन्। चित्र बुझाउन थालिन्। अगाडि दिनमा पनि उनलाई यस्तै चित्र सम्बन्धी पुस्तक सार्वजनिक गर्ने मन छ।

  

चैत २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्