विराटनगरले जित्यो अन्तरनगरपालिका फुटबलको उपाधि

विराटनगर – गिरिजाप्रसाद कोइराला स्मृति अन्तरनगरपालिका फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले हात पारेको छ।

सुनसरीको इटहरीमा शनिबार सम्पन्न उपाधि भिडन्तमा विराटनगरले दमक नगरपालिकालाई १–० ले पराजित गर्दै उपाधि चुमेको हो।

विराटनगरको जितमा स्ट्राइकर भुवन बस्नेतको एक मात्र गोल अन्ततः निर्णायक बनेको थियो। खेल सुरु भएको तेस्रो मिनेटमा बस्नेतले गरेको गोलले जित हात पारेको विराटनगरले ट्रफी र दुई लाख रुपैयाँ नगद हात पार्‍यो। सो गोलसँगै निर्धारित समयसम्म दुवै टोली गोलका लागि संघर्षरत थिए।

जित हात पारेको विराटनगरका असीम राई प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका छन्।

त्यसगैगरी, विराटनगरका सनम राई उत्कृष्ट गोलकिपर, रमेश राजवंशी उत्कृष्ट डिफेण्डर, सुशान्त तामाङ उत्कृष्ट फरवार्ड, भुवन बस्नेत सर्वाधिक गोलकर्ता र पारस चौधरी उत्कृष्ट प्रशिक्षक घोषित भए।

अर्कोतर्फ, दमकका माल्दिना आंगपुचो उत्कृष्ट मिडफिल्डर घोषित भए।

दुई लाख रुपैयाँ हात पारेको विराटनगरलाई विशिष्ट अतिथि रहेका विराटनगर महानगर प्रमुख भीम पराजुलीले हौसला बढाउँदै थप २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए।

उपाधि विजेता तथा उपविजेता टोलीलाई कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल, प्रदेश १ का प्रमुख संसदीय दलका नेता राजीव कोइराला, प्रमुख सचेतक केदार कार्की, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ, मानार्थ उपाध्यक्ष किशोर राई, केन्द्रीय सदस्य दीपक राई, प्रतियोगिता संयोजक सूर्य राईलगायतले पुरस्कार वितरण गरेका थिए।

चैत १३ गतेबाट सुरु भएको प्रतियोगितामा प्रदेश १ का ८ वटा नगरपालिकाका टोली सहभागी थिए।

चैत २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्