साहित्यिक पत्रकार शर्मा अभिनन्दित

काठमाडौँ – अग्रज साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्रराज शर्मालाई काठमाडौँमा अभिनन्दन गरिएको छ।

साहित्यिक पत्रकारिताका साथै साहित्य क्षेत्रमा उनले पुर्‍याएको योगदानको स्मरण गर्दै ८४ वर्ष प्रवेशको अवसरमा आइतबार अभिनन्दन गरिएको हो।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले उनलाई दोसल्ला ओढाएर सम्मान गर्दै कालजयी र दीर्घजीवीको शुभकामना व्यक्त गरेका थिए।

नगेन्द्रराज शर्मा अभिनन्दन समारोह समितिको आयोजनामा भएको उक्त कार्यक्रममा उनलाई ५० भन्दा बढी संघसंस्थाले अभिनन्दनपत्रका साथ सम्मान गरिएको थियो।

२०२७ सालदेखि उनले अभिव्यक्ति साहित्यिक पत्रिका प्रकाशन गर्दै आएका छन्। साहित्यकार शर्माले भव्य समारोहबीच अभिनन्दन गरेकामा सबैलाई धन्यवाद दिँदै विभिन्न आरोह अवरोहबीच आफूले पत्रिकालाई निरन्तरता दिँदै आएको बताए।

समारोहमा स्रष्टा ओम श्रेष्ठले साहित्यिक पत्रकार संघ, नेपाल स्रष्टा समाज, गोरखापत्र संस्थान, नेपाल प्रज्ञा प्रतिष्ठानलगायत दर्जनौँ संस्थामा रहेर उनले नेपाली समाजलाई महत्वपूर्ण योगदान पुर्‍याएको जानकारी दिए।

सो अभिनन्दन समारोहमा गत वर्ष मनाउने तयारी गरिए पनि कोभिडका कारण एक वर्ष पछि सारिएको हो।

समारोहमा किशोर पहाडी, रमा शर्मा, देवीका तिमिल्सिना, पवन आलोक लगायतले साहित्यकार शर्माको साहित्यिक योगदानको चर्चा गरेका थिए।

‘नगेन्द्रराज शर्मा’ समय ग्रन्थ र ‘यायाबर पुस्तक’समेत विमोचन गरिएको थियो। शर्माका विभिन्न चार वटा साहित्यक कृति प्रकाशित छन्।

चैत २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्