बर्दियामा हात्ती चढेर गैँडा गणना गर्न गएको टोलीमाथि बाघको आक्रमण, माउतेको मृत्यु

फाइल तस्बिर: बर्षा शाह/देश सञ्चार

काठमाडौँ – बर्दिया राष्ट्रिय निनुञ्जमा गैँडा गणना गर्न गएको टोलीमाथि बाघले आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ।

आइतबार साँझ पौने ६ बजेतिर ठाकुरबाबा नगरपालिका–९ गैडामचानस्थित राष्ट्रिय निकुञ्ज भित्र गैँडा गणना गर्न गएका बेला निकुञ्जमै कार्यरत हात्तीका माउते ३१ वर्षीय पुलिसराम चाैधरीको बाघको आक्रमणमा परी मृत्यु भएको हो।

थारु हात्ती चढेर गैँडा गणनाको कार्यमा संलग्न रहेका थिए। तर हात्तीबाट भुईँमा झरेका बेला चौधरीलाई बाघले आक्रमण गरी लगेको हो।

उनको शव घटनास्थल भन्दा केही पर फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले जानकारी दिए।

उनका अनुसार आक्रमणकारी बाघ नियन्त्रणमा लिइएको छ। उनले भने, ‘आक्रमण गर्ने बाघलाई आइतबार नै नियन्त्रणमा लिएका छौँ।’

उनका अनुसार करिब १० वर्षको भाले बाघ अहिले ठाकुरद्वारामा राखिएको छ र काठमाडौँस्थित चिडियाखाना पठाउने तयारी भइरहेको छ।

बाघकाे आक्रमणका कारण गैँडा गणना साेमबारका लागि स्थगित गरिएकाे प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए।

 

चैत २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्