नेपाली जन–सम्पर्क समिति अस्ट्रेलियाद्वारा म्यानमारमा भइरहेको सैनिक दमनको विरोध

सिड्नी– नेपाली काङ्ग्रेस समर्थित नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाले म्यानमारको भइरहेको प्रजातान्त्रिक आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै सैनिक बर्बरताको विरोध गरेको छ।

नेपाली जन–सम्पर्क समिति अस्ट्रेलियाद्वारा अप्रिल ५ तारिखमा प्रकाशित विज्ञप्तिमा म्यानमारमा पछिल्ला केही दिनयता सैनिक सरकारले नागरिक प्रदर्शनमाथि गरिरहेको अमानवीय कार्यप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै जनताको स्वतन्त्र आन्दोलनलाई दबाउन सैनिक सरकारले गरिरहेको नरसंहार अत्यन्तै निन्दनीय र अमानवीय भएको उल्लेख गरेको छ।

नेपाली जन–सम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष विनितराज शर्मा, न्यूसाउथवेल्सका अध्यक्ष थानु शाक्य, क्वीन्सल्याण्डका अध्यक्ष विनोद भक्त आचार्य, दक्षिण अस्ट्रेलियाका अध्यक्ष प्रेम पाठक, पश्चिम अस्ट्रेलियाका अध्यक्ष दीपक पराजुली, नर्दन टेरिटोरीका अध्यक्ष सविन बराल, क्यानबेराका अध्यक्ष अशोक सुवेदी तथा तास्मानियाका अध्यक्ष रमेश श्रेष्ठले संयुक्त विज्ञप्ति जारी गरेका हुन्।

सो विज्ञप्तिमा लोकतान्त्रिक तथा संवैधानिक प्रक्रियाद्वारा निर्वाचित सरकारलाई तत्काल पुनर्वहाली गर्न, प्रजातन्त्रवादी नेतृ एवं नोवेल शान्ति पुरस्कार विजेता आङ साङ सूकीसहित बन्दी बनाइएका राजनीतिक दलका नेता तथा नागरिकलाई अविलम्ब विना शर्त रिहाई गर्न तथा लोकतान्त्रिक प्रणाली पुनःस्थापित गर्न समेत माग गरेको छ।

‘विश्वका कुनै पनि भूगोलमा भएका स्वतन्त्रता, नागरिक अधिकार, लोकतन्त्र, विधिको शासन, मानव अधिकारको आन्दोलनप्रति हाम्रो सदैव समर्थन र ऐक्यवद्धता व्यक्त गर्दछौँ। म्यानमारको पछिल्लो कुलगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालिरहेका छौँ। सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका जनताको पक्षमा विश्वभरबाट आवाज उठ्न आवश्यक भएको छ। दमनका विरुद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका जनताको पक्षमा प्रष्ट रूपमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा ऐक्यबद्ध हुन नेपाली जनसम्पर्क समिति अस्ट्रेलिया सम्पूर्ण लोकतन्त्रप्रेमी संघ, संस्था र सरकार समेतलाई अपिल गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

चैत २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्