‘भिजिट भिसा’मा वैदेशिक रोजगारी, घर फर्किएर सजिलै अफगानिस्तानसमेत पुग्छन् हरेक महिना सयौँ नेपाली

काठमाडौँ- वैदेशिक रोजगार विभागले सोमबार विज्ञप्ति निकाल्दै कतार प्रहरीमा भर्ना हुन विभिन्न व्यक्ति तथा संस्थाले नेपाली नागरिकलाई प्रलोभनमा पारेर राहदानीलगायत कागजात संकलन गर्ने, अन्तर्वार्ता लिने तथा रकम माग गर्ने जस्ता कार्य भइरहेको सुन्नमा आएको भन्दै ध्यानाकर्षण गराएकाे छ।

कतार प्रहरीमा नेपाली युवा पठाउन अहिले कतारस्थित नेपाली दूतावासबाट कुनै मागपत्र प्रमाणीकरण नभएको वैदेशिक रोजगार विभागको भनाइ छ।

लकडाउन सुरु भएको चैत १ १ देखि गत फागुन १६ गतेमम्म ४३ हजार ४ सय ३३ जना नेपाली भिजिट भिसामा बाहिर गएको अध्यागमन विभागको तथ्यांक छ। विभागका अधिकारीहरुका अनुसार यीमध्ये अधिकांश नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक यूएई, कतारलगायत देश छन्। भिजिट भिसामा त्यसरी पुगेकाहरु ती देश पुगेपछि काम गर्ने गरेको विभिन्न अध्ययनले देखाएका छन्।

यसरी काम गर्नेहरु नेपाल फर्किएपछि ‘वर्किङ भिसा’, रोजगारदातासँगको श्रम सम्झौतालगायत डकुमेन्ट पेस गरी वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति प्राप्त गरी ती रोजगारदाता कम्पनीकहाँ पुग्ने गरेका छन्।

तथ्यांकअनुसार हरेक वर्ष भिजिट भिसामा गएर काम गर्ने नेपाली कामदारको जमात ठूलो देखिन्छ। यसमा नेपालमा रहेका म्यानपावर कम्पनी र सम्बन्धित देशका रोजगारदाता कम्पनीको सेटिङ रहने वैदेशिक रोजगार विभागका अधिकारीहरु बताउँछन्।

भिजिटलगायत अन्य भिसामा विभिन्न देश पुगेकाहरुमध्ये गत आर्थिक वर्ष ८ हजार ५ सय १४ जना स्वदेश फर्किएर श्रम स्वीकृति लिई पुनः ती रोजगारदाता कम्पनीमा पुगेका थिए। तीमध्ये सबैभन्दा बढी यूएई पुग्नेछन्।

त्यसरी  यूएई पुगेकामध्ये  गत आर्थिक वर्ष मात्र चार हजार ५ सय १४ जनाले नेपालमा आएर श्रम स्वीकृति लिएका थिए।  त्यसमा ३ हजार ९ सय २२ जना पुरुष र ५ सय ९२ महिला कामदार थिए। यसैगरि ओमानमा रहेका एक हजार ७ सय पुरुष र ३ जना महिलासहित एक हजार ७ सय ३ जना नेपाली कामदार स्वदेश फर्किएर श्रम स्वीकृति प्राप्त गरेका थिए।

कतारमा पुगेका एक हजार १ सय ७८ पुरुष र ३३ महिलासहित एक हजार २ सय ११ जना, मलेसियामा पुगेका एक सय ६७ पुरुष र १५ महिलासहित एक सय ८२ जना, कुवेतमा पुगेका एक सय ४ पुरुष र ८ महिलासहित एक सय १२ जनाले स्वदेश फर्किएर श्रम स्विकृती प्राप्त गरि पुन ती कम्पनीमा फर्किएका थिए।

विना श्रम स्वीकृति यूएईमा काम गरिरहेकामध्ये एक हजार ४ जना पछिल्लो तीन महिनामा स्वदेश फर्किएर श्रम स्वीकृति प्राप्त गरि फेरि ती कम्पनीमा पुगेका छन्। यो अवधिमा वैदेशिक रोजगार कार्यालयबाट श्रम स्विकृती लिने त्यस्ता कामदारको संख्या एक हजार ७ सय ७८ रहेको छ। वैदेशिक रोजगार विभागका सूचना अधिकारी महेन्द्रनाथ भट्टराईले अन्य तरिकाले विभिन्न देश पुगेका नेपालि कामदारलाई आवश्यक डकुमेन्ट पेश गरेपछि श्रम स्विकृती ‘लिगलाइज्ड इन्ट्री’ दिएर ती कम्पनीमा जान अनुमति दिइने गरिएको बताए।

जोखिमपूर्ण अफगानिस्तानमा पनि उस्तै 

अफगानिस्तानको आन्तरिक द्वन्द्वका कारण त्यहाँ नेपाली कामदार पठाउन बन्दजस्तै छ। तर गिरोहको सेटिङमा त्यहाँ नेपालीहरु गइरहेका छन्। त्यसरी पुगेका नेपालीहरु स्वदेश फर्किएर श्रम स्विकृती लिई फेरी ती देशमा पुग्ने गरेको देखिन्छ।

वैदेशिक रोजगार कार्यालयका अनुसार त्यसरी अफगानिस्तान पुगेकामध्ये तीन सय ७१ जना पछिल्लो तीन महिनामा स्वदेश फर्किएर श्रम स्विकृती लिई फेरी ती देशमा पुगेका छन्। गत आर्थिक वर्ष यो संख्या ७ सय ७४ रहेको थियो।

वैदेशिक रोजगार कार्यालयका सुचना अधिकारी छत्र शाह अफगानिस्तानमा पुगेका नेपालीहरुमध्ये ग्रिन जोनमा काम गर्नेहरुले मात्र स्वदेश फर्किएर श्रम स्विकृती पाइरहेको बताए।

‘नेपालीहरु त्यहाँ कसरी पुग्छन् थाहा भएन तर ग्रिन जोनमा काम गर्ने नेपाली कामदारले आवश्यक डकुमेन्ट पेस गरेपछि श्रम स्विकृती दिइने गरिएको छ’, शाहले भने। यसरी अफगानिस्तान पुग्नेहरु भिजिट भिसामा अन्य देश गएर त्यहाँ जाने गरेको अधिकारीहरु बताउँछन्।

चैत २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्