कोरोना संक्रमण नियन्त्रणका लागि तयारी गर्न मुख्यमन्त्री राउतको निर्देशन

जनकपुरधाम– कोरोना संक्रमण पुनः बढ्न थालेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आवश्यक तयारी अगाडि बढाउन निर्देशन दिएका छन्। कोरोना संक्रमण पुनः बढ्न थालेपछि त्यसको उपचार, रोकथाम तथा नियन्त्रण गर्न मुख्यमन्त्री राउतले निर्देशन दिएका हुन्।

सोमबार जनकपुरधाममा बसेको प्रदेश स्तरीय बैठकमा उनले तत्कालै आत्तिनुपर्ने अवस्था नरहे पनि उच्च सतर्कतमा बस्न निर्देशन दिएका छन्।

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण तीब्र गतिमा बढ्न थालेपछि सीमानाकामा आवश्यक सतर्कता अपनाउन उनले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए।

जिल्ला प्रशासन कार्यालयमार्फत सर्वसाधारणलाई मास्क र स्यानिटाइजर उपलब्ध गराउने मुख्यमन्त्री राउतले बताए।

समाजिक विकास मन्त्री नवल किशोर साहले कोरोना महामारीविरुद्धको अभियानमा स्वास्थ्यकर्मीहरुले निर्वाह गरेको भूमिकाको कारण महामारीविरुद्धको अभियानमा सफलता भेटेको बताए।

बैठकमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दुवाडी लगायत सचिव, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्य क्षेत्रका प्रमुखहरुको उपस्थिति रहेको थियो।

चैत २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्