नाष्टबाट ११ विधामा १७ व्यक्ति तथा संस्थाले पाउने भए विज्ञान प्रविधि राष्ट्रिय पुरस्कार

काठमाडौँ – विज्ञान तथा प्रविधि क्षेत्रमा विशेष योगदान गरेका विभिन्न १७ व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिने भएको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले २०७७ सालका लागि विज्ञान प्रविधिका ११ विधामा पुरस्कृत हुने व्यक्ति तथा संस्थाको छनौट गरेको हो ।

प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बसेको नाष्टको ४४ औँ प्राज्ञसभाले पुरस्कृत हुने संस्था तथा व्यक्ति छनौट गरेको हो ।

घोषणा अनुसार प्रकृति संरक्षण पुरस्कार विश्व वन्यजन्तु कोष, नेपाल (डब्लुडब्लुएफ नेपाल) तथा कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार कीर्तिपुरस्थित राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरिने भएको छ ।

यस्तै ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिजका डा. उत्तम बाबु श्रेष्ठलाई विज्ञान पुरस्कार, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकूका डा. शेरबहादुर पुनलाई प्रविधि पुरस्कार र विज्ञान तथा प्रविधि युवा पुरस्कार डा. भेषराज थापा (युनिभर्सल इन्जिनियरिङ कलेज), डा. सुनिता गौतम (शिखर बायोटेक), डा. आनन्द मिश्र (कृषि अनुसन्धान निर्देशनालय, प्रदेश २), डा. अनुपमा श्रेष्ठ (हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी) र डा. सागर रेग्मी (व्यवहारिक विज्ञान तथा प्रविधिध अनुसन्धान केन्द्र, रिकास्ट) लाई प्रदान गरिने भएको छ ।

यस्तै विज्ञान तथा प्रविधि महिला पुरस्कार सुक्ष्मजीव विज्ञान केन्द्रीय विभाग त्रिभुवन विश्वविद्यालयकी डा. रेशमा तुलाधर, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार नेपाल विज्ञान शिक्षक समाज काठमाडौँ र नेपाल एस्ट्रोनोमिकल सोसाइटीकी मनिषा द्वा, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका गोविन्दप्रसाद पोखरेल, दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार मिरा खड्का र प्रदीपकुमार चौधरी, फणिन्द्रप्रसाद न्यौपाने अनुसन्धान पुरस्कार दीपेश दुवे र विज्ञान शिक्षक पुरस्कार बाफलको ज्ञानोदय माविका नातीकाजी महर्जन प्रदान गरिने निर्णय भएको नाष्टले जनाएको छ ।

चैत २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्